close

टेलिकमको फाइबर परियोजना अनुगमन गर्न प्रतिस्पर्धामा ४ कम्पनी

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ १९:२८

टेलिकमको फाइबर परियोजना अनुगमन गर्न प्रतिस्पर्धामा ४ कम्पनी

नेपाल टेलिकमले अगाडि बढाएको अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाको अनुगमन गर्ने कार्यका लागि ४ कम्पनी प्रतिस्पर्धामा उत्रेका छन् । परियोजना अन्तरगत डेन्स वेभलेन्थ डिभिजन मल्टीप्लेक्सीङ(डीडब्लूडीएम) को अनुगमनको लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनीको ‘सर्टलिस्ट’ तयार पारेको हो ।

डीडब्लुडीएम अप्टिकल फाइबरको लागि आवश्यक प्रविधि हो । टेलिकमले प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउने परियोनजाका लागि तीन वटा छुट्टै टेण्डर आह्वान गरेको छ । त्यसमा राउटर, डीडब्लूडीएम स्विच र फाइबरको रहेका छन् ।

त्यसमध्ये डिडब्लुडीएम प्याकेजको अनुगमनको लागि नेपाल दुरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय रुपमा स्वतन्त्र परामर्शदाताबाट आशयपत्र माग गरेको थियो । जसमा ७ वटा कम्पनीले आवेदन दिएका थिए ।

त्यसमध्ये टेलिकम्युनिकेशन कन्सलटेन्ट इन्डिया लिमिटेड, सिभिल इन्फरमेटिक्स एण्ड सोलुसन्स प्राली र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च प्रालीको संयुक्त उपक्रम (जेभी), मोनेन्को इरान कम्पनी, महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स प्राली र ट्याञ्जेन्ट कन्सलटेन्ट ग्रुप प्राली, भियतनामको रिसर्च इन्स्टिच्युट अफ पोष्ट एण्ड टेलिकम्युनिकेशनको जेभी सर्टलिस्टमा परेका हुन् ।

‘छनोट भएका चारै कम्पनीबाट प्राधिकरणले आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्नेछ’, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यसको अवधि एक महिना हुनेछ । उनिहरुले बुझाएको आर्थिक र प्राविधिक प्रस्ताव गुणस्तर र लागत विधिका आधारमा उच्चतम अंक प्राप्त गर्ने कम्पनीलाई अनुगमनको जिम्मा दिइनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३