close

फ्रिक्वेन्सी बोलकबोल अपडेटः दोश्रो राउण्डमा पनि एनसेलकै अग्रता

टेकपाना टेकपाना

पुस २, २०७६ ११:४१

फ्रिक्वेन्सी बोलकबोल अपडेटः दोश्रो राउण्डमा पनि एनसेलकै अग्रता

फोरजी सेवाका लागि आवश्यक १८ ब्याण्ड मेगाहर्जको फ्रिक्वेन्सी बोलकबोलमा पहिलो र दोश्रो दुबै राउण्डमा एनसेलकै अग्रता देखिएको छ । काठमाडौं स्थित सोल्टी क्राउन प्लाजामा भइरहेको अक्सनको पहिलो राउण्डमा प्रति मेगाहर्जका लागि ३ करोड ९६ लाख रुपैयाँ प्रस्ताव गरेको एनसेलले दोश्रो राउण्डमा सोही फ्रिक्वेन्सीका लागि ४ करोड ३२ लाख रुपैयाँ कबोल गरेको छ ।

नेपालकै इतिहासमा पहिलो पटक भइरहेको फ्रिक्वेन्सी बोलकबोलमा निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल र सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकम गरी दुई सेवा प्रदायकले मात्रै प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाल टेलिकमले प्रति मेगाहर्जका लागि पहिलो राउण्डमा ३ करोड ७८ लाख बोलकोबल गरेको थियो भने दोश्रो राउण्डमा ४ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेको छ । दोश्रो राउण्डका लागि न्यूनतम आधारभूत मूल्य ४ करोड १४ लाख रुपैयाँ तय गरिएको थियो ।

लगत्तै सुरु हुने तेश्रो तथा अन्तिम राउण्डको अक्सनका लागि न्यूनतम आधारभूत मूल्य ४ करोड ५० लाख रुपैयाँ तय भएको छ । दोश्रो राउण्डमा एनसेल विजेता बनेसँगै उसैले कबोल गरेको मूल्यमा पाँच प्रतिशत थप गरी तेश्रो राउण्डका लागि आधार मूल्य (बेस प्राइस) तय गरिएको हो ।

मल्टि राउण्ड अक्सनको रुपमा भइरहेको बोलकबोलको अबको राउण्डमा अधिकतम कबोल गर्ने सेवाप्रदायकले नेपालकै इतिहासमा पहिलो पटक बोलकबोलमार्फत फ्रिक्वेन्सी पाउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३