close

कर नतिर्दै बोलकबोलमा सहभागी एनसेलले हात पार्‍यो फोरजी फ्रिक्वेन्सी

टेकपाना टेकपाना

पुस २, २०७६ १२:३९

कर नतिर्दै बोलकबोलमा सहभागी एनसेलले हात पार्‍यो फोरजी फ्रिक्वेन्सी

नेपालकै इतिहासमा पहिलो पटक भएको फ्रिक्वेन्सी बोलकबोलमा लाभकर नतिर्दै सहभागी गराइएको एनसेल विजेता बनेको छ । बोलकबोलकाे तेश्रो तथा अन्तिम राउण्डमा प्रति मेगाहर्ज फ्रिक्वेन्सीका लागि ५ करोड ८० लाख रुपैयाँ प्रस्ताव गरेको एनसेलले नेपाल टेलिकमलाई पछाडि पार्दै फ्रिक्वेन्सी हात पारेको हो ।

तेश्रो राउण्डमा टेलिकमले प्रति मेगाहर्ज फ्रिक्वेन्सीका लाग ५ करोड १ हजार रुपैयाँ मात्र बोलकबोल गरेको थियो । फोरजी सेवामा उपयोग हुने १८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी वितरणका लागि बुधबार काठमाडौं स्थित सोल्टी क्राउन प्लाजामा बोलकबोल गरिएको थियो ।

जसमा प्रति मेगाहर्जका लागि पहिलो राउण्डमा ३ करोड ९६ लाख रुपैयाँ र दोश्रो राउण्डमा ४ करोड ३२ लाख रुपैयाँ कबोल गरेको एनसेलले सुरुका दुबै राउण्डमा समेत टेलिकमलाई पछि पारेको थियो ।

नेपाल टेलिकमले पहिलो राउण्डमा ३ करोड ७८ लाख तथा दोश्रो राउण्डमा ४ करोड २० लाख रुपैयाँ मात्र बोलकबोल गरेको थियो । दोश्रो राउण्डको अक्सनका लागि न्यूनतम आधारभूत मूल्य ४ करोड १४ लाख रुपैयाँ तथा तेश्रो राउण्डका लागि ४ करोड ५० लाख रुपैयाँ तय गरिएको थियो ।

हरेक चरणमा कबोल गरिएको उच्च बोलकबोल मूल्यमा पाँच प्रतिशत थप गरी अर्को चरणको आधारभूत मूल्य तय गरिएको हो । मल्टि राउण्ड अक्सनको रुपमा भएको बोलकबोलमार्फत तेश्रो राउण्डबाट तय भएको मूल्य दरमा अब एनसेलले अधिकतम ९ मेगाहर्ज फ्रिक्वेन्सी पाउनेछ । 

यस अघि राज्यलाई तिर्न बाँकी लाभकर बुझाए मात्र एनसेललाई फ्रिक्वेन्सी बोलकबोलमा भाग लिन पाउने शर्त राखिएको थियो । तर अन्तिम चरणमा लाभकर नतिर्दा समेत एनसेललाई बोलकबोलमा सहभागि गराइएको हो । बोलकबोलमा सहभागी भए पनि लाभकर बुझाएपछि मात्रै एनसेलले प्राप्त फ्रिक्वेन्सीको प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

ठूला करदाता कार्यालयका अनुसार एनसेलले सरकारलाई २२ अर्ब ४४ करोड ५३ लाख लाभकर बुझाउनु पर्नेछ । यसअघि भदौमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्नुपर्ने फैसला सुनाएको थियो ।

त्यसैअनुसार ठुला करदाता कार्यालयले वैशाख यताको ब्याजसमेत जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको हो । कार्यालयले १५ दिनभित्र निर्धारित लाभकर बुझाउन भन्दै एनसेललाई पत्राचार गरिसकेको छ ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३