close

चन्द्रयान–२ को असफलताले रोकिएन भारत, चन्द्रयान–३ को तयारी

टेकपाना टेकपाना

पुस १७, २०७६ १२:४१

चन्द्रयान–२ को असफलताले रोकिएन भारत, चन्द्रयान–३ को तयारी

चन्द्रमाको दक्षीण ध्रुवको भ्रमण गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को ऐतिहासिक अभियान गत सेक्टेम्बरमा अचानक अन्त्य भयो । कारण थियो, सानो गल्तीका कारण भारतले पठाएको चन्द्रयान–२ अन्तरिक्षमा दुर्घटनाग्रस्त भयो ।

दुर्घटनामा भारतले आफ्नो ल्याण्डर र रोभर गुमायो । ल्याण्डर र रोभर गुम्ने कुराले भारतलाई अन्तरिक्षमा जान रोक्न सकेन । नयाँ वर्षको सुरुवातमै भारतले चन्द्रयान–३ को तयारीको विषय जानकारी गराएको छ । बुधबार पत्रकारसँगको भेटघाटकार्यक्रमा आईएसआरओका प्रमुख कैलाश अवादिभु सिभानले तेस्रो चन्द्र लक्ष, चन्द्रयान–३ लाई अघि बढाइएको र यसले छिट्टै उडान भर्ने बताए ।

इन्डिया टुडेको रिपोर्ट अनुसार चन्द्रयान–३ अभियान चन्द्रयान–२ को तुलानमा धेरै नै सस्तो हुनेछ । यसका लागि ९ अर्ब ८३ करोड रुपैयाँ लाग्ने जनाइएको छ । जब कि चन्द्रयान–२ का लागि भारतले १५ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको थियो । नयाँ अभियानले रोभर र ल्यान्डर पुनः स्थापित गरी चन्द्रयान–२ अवतरण गराइएको स्थानमै अवतरण गरिने उल्लेख छ ।

जुन चन्द्रमाको दक्षिण ध्रुवतर्फको भाग हो । जहाँ ठुलो मात्रामा पानीको भण्डार रहेको यसअघि भारतले नै पठाएको चन्द्रयान–१ सहित अन्य मुलुकका अन्तरिक्षयानले पत्ता लगाइसकेका छन् । भारतीय अन्तरिक्ष विभागका मन्त्री जितेन्द्र सिंहले यो अभियान सन् २०२० भित्र सम्पन्न हुने उल्लेख गरेका छन् ।

तर, आईएसआरओका प्रमुख सिभानले भने यसको उडान सन् २०२१ को सुरुवातसम्म हुने उल्लेख गरे । उनले चन्द्रयान–२ मा देखिएका समस्यालाई अध्ययन गरेर अघि बढ्नुपर्ने भएकाले पनि थप समय लाग्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०