close

प्राधिकरणको कर्मचारी हुँ भन्दै पैसा उठाउँदै

टेकपाना टेकपाना

पुस १८, २०७६ १४:१६

प्राधिकरणको कर्मचारी हुँ भन्दै पैसा उठाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुगमनमा आएको भन्दै विद्यालय तथा स्थानिय तहसँग पैसा असुल्ने प्रबृत्ति देखिएको छ । विद्यालय र स्थानीय तहबाटै रकम उठाइरहेको गुनासो आएपछि प्राधिकरणले सचेत रहन आग्रह गरेको हो ।

प्राधिकरण अन्तरगत सामुदायिक तथा सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने, विभिन्न जिल्लाहरुका स्थानिय तह, अस्पताल एवं स्वास्थ्य चौकीहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने लगायतका परियोजना सञ्चालनमा छन् ।

तिनै परियोजनाको अनुगमनका लागि आएको भन्दै विभिन्न विद्यालय तथा स्थानीय तहबाट पैसा असुल्ने गरेको गुनासो प्राधिकरणमै आइपुगेको हो । त्यस विद्यालय तथा स्थानिय तहबाट गुनासो आएसँगै प्राधिकरणले शुक्रबार सूचना नै जारी गरेको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले विभिन्न व्यक्ति तथा संस्थाहरु प्राधिकरणबाट अनुगमनको लागि आएको भन्दै पैसा माग्ने गरेको गुनासो आएको जानकारी दिए । पहिले पनि यस किसिमको गुनासो आउने गरेको भएतापनि त्यसमा खासै चासो दिइएको थिएन।

तर, लगातार रुपमा गुनासो आउने क्रम नरोकिएपछि प्राधिरकरणले बाध्य भएर सूचना जारी गरेको हो । प्राधिकरणले आफुले सञ्चालन गरेका सम्पूर्ण परियोजनाहरु निःशूल्क रुपमा उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ ।

परियोजनाको अनुगमनका लागि प्राधिकरणबाट नियुक्त परामर्शदाता वा प्राधिकरणकै कर्मचारी स्वयम् खटिने गरेकाले परिचय पत्र वा प्राधिकरणको पत्र हेरेर मात्रै अनुगमन तथा निरीक्षण गराउन आग्रह गरिएको छ ।

कसैले शूल्क लिने वा माग्ने गरेको खण्डमा प्राधिकरण, सम्बन्धित सेवा प्रदायक वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउने समेत नियामकले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०