close

अनलाइनबाटै यसरी तिर्नुहोस् ५० लाखसम्मको राजस्व

टेकपाना टेकपाना

पुस २३, २०७६ १७:६

अनलाइनबाटै यसरी तिर्नुहोस् ५० लाखसम्मको राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले अनलाइबाटै राजश्व तिर्न सकिने सिस्टमको विकास गरेको एक वर्षभन्दा बढी भइसकेको छ । जसमार्फत विद्युतीय प्रणालीबाट करदाताले महिनामा ५० लाख रुपैयाँसम्मको राजश्व तिर्न मिल्छ ।

विभागको एकीकृत कर प्रणालीको ट्याक्स पेयर पोर्टलबाट प्रवेश गरी करदाताले एक पटकमा १० लाख र महिनामा अधिकतम ५० लाख रुपैयाँसम्म कर भुक्तानी गर्नसक्छन् । यो प्रक्रियामार्फत कर भुक्तानी गर्न करदाताले सुरुमा कर कार्यालयबाट विवरणहरु रुजु गराएर आफूलाई प्रमाणीकरण गराउने युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ ।

यसका लागि नेपाल सरकारले पेमेन्ट सर्भिस प्रोभाइडरको रुपमा तोकेको नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आईपीएसबाट अनलाइन रजिस्ट्रेसन गर्न सकिन्छ । त्यहाँबाट युजरनेम र पासवर्ड प्राप्त गरी बैंक खातालाई आपसमा लिंक गराएर राजस्व दाखिला गर्न सकिन्छ ।

यस्तो छ प्रक्रियाः

यसका लागि सबैभन्दा पहिले आन्तरिक राजस्व विभागको वेभसाइटमा जानुहोस् । त्यहाँ ट्याक्स पेयर पोर्टल रहेको छ । त्यसमार्फत इन्टिग्रेटेड ट्याक्स सिस्टम भित्रको जेनेरलमा गएर डबल क्लिक गर्नुपर्छ । अनि तपाईंले ट्याक्सपेयर लग इन मेनु देख्नहुनेछ । त्यसमा क्लिक गर्नुहोस् । युजर क्रेडेन्सियल प्रयोग गरी लग इन गरिसकेपछि त्यहाँबाट प्रोसिड टू पेमेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ भौचर विवरणहरु राखेर भौचर संकेत नम्बर सिर्जना गर्नका लागि आफूले दाखिला गर्न चाहेको राजस्व प्रकार (आयकर, मूल्य अभिवृद्धि कर, अन्तशूल्क मध्ये एक) चयन गर्नुपर्छ । साथै, त्योसँग सम्बन्धित राजस्व शिर्षक, आयवर्ष, के बापत राजस्व दाखिला गर्न लागेको भन्ने विषय समेत छनोट गरी दाखिला गर्न चाहेको नम्बर टाइप गर्नुपर्छ ।

यदि आयकर छनौट गरेको भए टीडीएस हो वा होइन भन्ने विकल्प आउँछ । यदि मूल्य अभिवृद्धि कर हो भने दाखिला गर्ने राजस्वको रकम टाइप गरी ईसी (एक्स्ट्रा कलेक्सन) हो वा होइन एउटा छान्नुहोस् । यदि उक्त रकम रकम ईसी हो भने हो र होइन भनेर छनौट गरेर अगाडि बढ्नुहोस् ।

त्यसपश्चात, दिइएको एड बटनमा क्लिक गरी एउटा राजस्व शिर्षकमा दाखिला गर्ने भौचर विवरण तयार गरिदिनुपर्छ । यस्तै एकैपटकमा विभिन्न शिर्षकमा राजस्व दाखिला गर्न चाहेमा अन्य शिर्षकको पनि यसै गरी भौचर विवरण तयार पार्न सकिन्छ ।

प्यान भएको कार्यालयको हकमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यलय, करदाता सेवा कार्यलय आदी राजस्व संकलन गर्ने ‘क’ सूचीबाट आफूलाई राजस्व दाखिला गर्न उपयुक्त हुने बैंकको छनौट गर्न सक्नुहुनेछ ।

त्यसपश्चात सिर्जित ‘ट्रान्जेक्सन कोड’ बटनमा क्लिक गरी भौचर संकेत नम्बर सहितको रिक्वेस्ट स्लिप तयार हुन्छ । रिक्वेस्ट स्लिपमा भएको राजस्व शिर्षक, रकम र आर्थिक वर्षको विवरणहरु हेरी सुनिश्चित गर्न ‘कन्फर्म बटन’ क्लिक गर्नुहोस् ।

यसरी तयार भएको भौचर संकेत नम्बर सहितको राजस्व दाखिला गर्ने रिक्वेस्ट स्लिप प्रिन्ट गरी राजस्व दाखिला हुने बैंकको जुनसुकै शाखामा गई राजस्व दाखिला गर्न सकिन्छ । यदि करदाताले विद्युतीय माध्यमबाट सोझै राजस्व भुक्तानी गर्न चाहेमा करदाताले मेक पेमेन्ट बटनमा क्लिक गरी पेमेन्ट प्रोसेसर छनौट गर्ने र कनेक्ट आईपीएसमा लग ईन गर्नुपर्ने हुन्छ ।

यदि कनेक्ट आईपीएसको युजरनेम र पासवर्ड छैन भने यसमा गएर अकाउण्ट बनाउन सकिन्छ । अकाउन्ट बनाएर बैंक अकाउन्टसँग लिंक गरेपछि बैंक खाताको विवरण भरी उक्त विवरण सहितको फाराम डाउनलोड गर्नुपर्ने हुन्छ ।

सेवाग्राहीले उक्त बैंकको कुनै शाखामा गएर बैंक खाता लिंकलाई भेरिफाई गराउनेुपर्ने हुन्छ । त्यसपछि राजस्व दाखिला गर्ने बैंक खाता डेबिट अकाउन्ट छनौट गरी सबमिट बटनमा क्लिक गर्नुहोस् । नेपाल क्लियरिङ हाउसले पेमेन्ट भेरिफिकेसनका लागि सम्बन्धित व्यक्ति दर्ता भएको मोबाइल नम्बर र इमेल अकाउन्टमा एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड पठाउँछ ।

उक्त पासवर्ड नम्बर टाइप गरी कन्फर्म बटनमा क्लिक गरी सकेपछि आफ्नो खाताबाट रकम डेबिट भएको खण्डमा डेबिट सक्सेस पेज देखा पर्छ र रिक्वेस्ट स्लिपमा डेबिट सक्सेस स्टाटस देखा पर्छ । यसरी करदाताले एकपटकमा दश लाख र महिनामा ५० लाखसम्मको कर दाखिला गर्नसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०