close

एनसेल खरिद–बिक्रीमा देखिएको जस्तै विवाद रोक्न छुट्टै कानून

टेकपाना टेकपाना

पुस २३, २०७६ १९:५३

एनसेल खरिद–बिक्रीमा देखिएको जस्तै विवाद रोक्न छुट्टै कानून

काठमाडौं । यस अघि एनसेल र हेलो नेपालको सेयर खरिद बिक्रीमा देखिए जस्तो विवाद अब अन्त्य हुने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार कम्पनीको शेयर खरिद बिक्रीमा देखिने गरेको विवाद हल गर्ने उद्देश्यका साथ छुट्टै विनियमावली नै तयार पारेको हो ।

प्राधिकरणको सञ्चालक समितिबाट सोमबार पारित उक्त विनियमावलीले अब दूरसञ्चार कम्पनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । यसअघि प्रष्ट कानूनी व्यवस्थाको अभावमा शेयर खरीद बिक्री पश्चात मात्रै प्राधिकरणलाई जानकारी हुने र अनेक किसिमको विवाद सिर्जना हुने गरेको थियो ।

त्यसमा एनसेलको लाभकर सम्बन्धि विवाद अझै कायमै छ । विनियमावलीले सेयर खरिद–बिक्रीको स्वीकृतिका लागि कम्पनीको सञ्चालक समितिको सिफारिस सहित प्राधिकरणमा आवेदन दिनुपर्नेछ ।

त्यस्तै पूँजी वृद्धि वा थप शेयर खरिद विक्री गर्ने भएमा साधारण सभा तथा विशेष साधारण सभाबाट भएको निर्णयको प्रतिलिपि समेत संलग्न गरी निवेदन दिनुपर्नेछ । निवेदनमा खरिदकर्ता र बिक्रीकर्ता दुबैको विवरण उपलब्ध गराउनु पर्नेछ ।

त्यसमा व्यक्तिको आयस्रोत सम्बन्धी विवरण, नागरिकताको प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाण पत्र, विदेशी नागरिकको हकमा सम्बन्धित देशबाट जारी भएको राहदानी, प्रवेशाज्ञा सम्बन्धी कागजात समेत पेश गर्नुपर्नेछ ।

शेयर खरिद गर्न वा विक्री गर्न चाहने कम्पनी, संस्था, निकाय तथा कृत्रिम व्यक्तिले आफ्नो दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, सञ्चालक र शेयरधनीको अद्यावधिक विवरण, तोकिएको ढाँचाको निवेदन, खरिद गर्ने व्यक्तिको व्यक्तिगत विवरण पनि पेश गर्नुपर्नेछ । यस्तै स्वघोषित कागजात पेश गर्नुपर्ने, शेयर खरिद विक्री गर्न तय भएको शेयरको मूल्य खुल्ने गरि शेयर खरिद विक्रीनामा समेत खुलाउनु पर्नेछ ।

सेयर बिक्री गर्न अनिवार्य रुपमा प्रचलित कानुन बमोजिम कालो सूचीमा नपरेको, कालोसूचीबाट फुकुवा भएको कम्तीमा तीन वर्ष पूरा भएको र शेयर खरिद विक्रीको लागि स्वीकृति माग गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिको अघिल्लो आर्थिक वर्षसम्मको वित्तीय विवरण लेखापरीक्षण भएको हुनुपर्नेछ ।

शेयर खरिद वा बिक्रीको लागि स्वीकृति माग गर्ने कम्पनी कुनै किसिमको ठेक्कापट्टामा संलग्न रहेको तथा अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता नभएको वा स्थायी लेखा नम्बर नियमित नगरेकाको हकमा सेयर बिक्री गर्न नपाईले व्यवस्था विनियमावलीले गरेको छ ।

त्यस्तै शेयरधनीको मृत्यु भएमा वा कानून अनुसार पारिवारिक अंशबण्डा भएमा हकदार तथा इच्छाइएको व्यक्तिको नाममा नामसारी गरी सोको लगत विवरण १५ दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्ने व्यवस्था समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०