close

अमेरिकामा पढिरहेका २२ वर्षे युवाको प्रयोगमा यसरी जन्मिएको थियो वर्ल्डलिंक

टेकपाना टेकपाना

पुस २४, २०७६ १५:४७

अमेरिकामा पढिरहेका २२ वर्षे युवाको प्रयोगमा यसरी जन्मिएको थियो वर्ल्डलिंक

प्रविणता प्रमाणपत्र तह (प्लस टू) को पढाइ पुरा गरेपछि उच्च शिक्षाका लागि दीलिप अग्रवाल अमेरिका पुगे । कम्प्युटरमा सानैदेखि उनको एकदमै रुची थियो ।

बुबाले आफ्ना दुई छोरा (दीलिप र उनका दाइ) को लागि एउटा कम्प्युटरको व्यवस्था गरिदिएका थिए । दाइ–भाइ त्यही कम्प्युटरमा खेलिबस्थे । दीलिपलाई कम्प्युटर नयाँ र अनौठो विषय रहेन । ‘मलाई कम्प्युटरको कोर्ष गर्नै नपर्ने जस्तो, सबै कुरा सजिलै सिक्नसक्छु भन्ने आत्मविश्वास थियो,’ उनी भन्छन् ।

जब प्लस टू पछिको पढाईको कुरा आयो, दाइले कम्प्युटर इन्जिनियरिङ रोजे । आफ्नो रुचीको विषय दाइले रोजेपछि दीलिप बायो केमेस्ट्री पढ्न थाले । नेपालमा उनका बुबाले आफ्नै प्रयोगशाला चलाइरहेका थिए । भविष्यमा त्यही ल्याबमा काम गर्ने सोच उनले बनाएका थिए ।

कलेजको तेश्रो वर्षमा छँदा पढाई ग्य्राजुएसन पछि के गर्ने भन्नेमा उनले निर्णय लिनुपर्ने थियो । दीलिपका अगाडि थुप्रै विकल्पहरु थिए । ग्य्राजुएट स्कुल जाने कि मेडिकल स्कुल पढ्ने भन्ने पनि थियो । त्यतिखेर अमेरिकाको वालस्ट्रिट र न्युयोर्क कमाईका हिसावले विद्यार्थीहरुका लागि निकै आकर्षक गन्तव्यको रुपमा थिए । दीलिपले पनि त्यहीँ गएर काम गर्ने मानसिकता बनाइसकेका थिए ।

अमेरिकामै रहेका दाइले चाहिँ भर्खरै कम्प्युटर इन्जिनियरिङको पढाई पुरा गरेर खाली बसिरहेका थिए । त्यही खाली समयमा उनले आफ्नै कोठामा लिनक्स सर्भर सेटअप गरे । त्यसताका लिनक्स नयाँ विषय थियो । सर्भरमा ईमेल सेवाका लागि आवश्यक सबै सफ्टवेयर समेत राखे । नभन्दै ईमेल सेवा चल्न थाल्यो । सँगै रहेका दीलिपललाई त्यो विषयले गहीरो छाप छाड्यो ।

यस्तैमा दीलिपले दाइलाई नेपालमा गएर ईमेल सर्भर राखेर सेवा सुरु गर्न सुझाए । तर दाइले अमेरिकामै काम पाए । दीलिपको कुरालाई उनले खासै वास्ता गरेनन् । तर, दीलिपको मनले भने पछाडि हट्न मानेन । दिमागमा त्यही एउटा कुरा घुमिरहन थाल्यो । अनि अठोट लिए– एक पटक त प्रयास गर्नैपर्छ, प्रयोग गरेर हेर्नैपर्छ ।

काठमाडौंमा दीलिपका बुबासँग उनको फुपुको छोरा बस्थे । आफूले बुनेको योजना फोनमार्फत तिनै फुपूको छोरालाई सुनाए । वास्तवमा नेपालमै नभएको विषय थियो, त्यो । फुपूको छोराले पनि सहमति जनाए । त्यसपछि दीलिप झन् हौसिए । अनि कम्प्युटरहरुको व्यवस्था गर्न पट्टी लागे ।

३८६ प्रोसेसर भएको कम्प्युटर किनेर होस्टेलकै कोठामा आवश्यक सबै सफ्टवेयर राखे र दीलिप आफैले परीक्षण गरे । कसरी काम गर्छ भन्ने सबै कुरा त्यहिँ सिके । त्यसताका निकै महंगो पर्ने मोडेम पनि जुटाए । अनि ईमले सर्भरका लागि आवश्यक सबै सिस्टम सहितको एउटा झोला बोकेर स्वदेश हान्निए ।

बुबा नेपालमै बायो केमेस्ट्री सम्बन्धि रिसर्च ल्याब चलाउँथे । अरुका लागि जस्तै दीलिपका लागि पनि बुबा नै रोलमोडल थिए । अमेरिकामै पढेका बुबा स्वदेशमै केही गर्ने अभिलासाका साथ नेपाल फर्किएर आएका थिए । उनले स्थापना गरेको बायो केमेस्ट्री प्रयोगशाला नेपालकै पहिलो थियो । त्यसबाट दीलिप पनि प्रभावित थिए । सकेसम्म स्वदेशमै केही गर्ने बुबाको छाप छोरा दीलिपमा पनि परेको थियो ।

त्यतिखेर टेलिफोन लाइन पाउन निकै मुस्किल । पाइहाले पनि साह्रै महंगो । एउटा टेलिफोन लाइन जडान गर्न ३० हजार रुपैयाँ लाग्थ्यो । दीलिप सम्झिन्छन्, ‘त्यो अहिलेको ३ लाख रुपैयाँभन्दा महंगो जत्तिकै हो ।’
बुबाको ल्याब अफिसमा एउटा फ्याक्सको लाइन थियो ।

त्यही फ्याक्सको लाइन झिकेर कम्प्युटरमा जोडे । यसरी सन् १९९५ मा वर्ल्डलिंकको ईमेल सेवा सुरु भयो । त्यतिखेर दीलिप केवल २२ वर्षका थिए । नेपालमा लिनक्सको अपरेटिङ सिस्टमलाई प्रख्यात बनाउने श्रेय दीलिपलाई नै जान्छ । निःशूल्क रुपमा उपलब्ध अपरेटिङ सिस्टम राखेको भन्दै तत्कालीन समयमा प्रतिस्पर्धीले उनको खिल्ली नउडाएका होइनन् ।

लिनक्स सर्भरमा आधारित सेवा गुणस्तरी नहुने भन्दै नकारत्मक प्रचार भइरहेको विषयमा दीलिप जानकार नै थिए । त्यसो त दीपिलले ईमेल सेवा सुरु गर्नुभन्दा केही समय अगाडि मर्कन्टाइलले त्यस्तै सेवा सुरु गरिसकेको थियो । वर्ल्डलिंक सुरु हुनु अघि उसले प्रति केबी ईमेलका लागि १२० रुपैयाँ लिने गर्थ्यो ।


वास्तवमा त्यतिखेरका लागि उक्त सेवा छिटो अनि सस्तो सञ्चारको विकल्प बन्यो । सञ्चालन गरेकै समय अर्थात १९९५ को सेप्टेम्बरबाट वर्ल्डलिंकले समेत व्यवसायिक रुपमा सेवा विस्तार सुरु गर्‍यो । पहिलो चरणमा ट्राभल एजेन्सी, पीसीओ, आईएनजीओ लगायत वर्ल्डलिंकका ग्राहक बने ।

त्यतिखेर ईमेलको आकार अनुसार मूल्य तय गरिन्थ्यो । कारण के थियो भने, ईमेल सेवा टेलिफोनको लाइनमार्फत सञ्चालन गरिएको थियो । जति ठूलो आकारको ईमेल हुन्थ्यो, त्यति नै धेरै समय त्यसले टेलिफोनको लाइन कल गर्दा जस्तै व्यस्त बनाउँथ्यो ।

वर्ल्डलिंकले ८० रुपैयाँ किलोबाइट (केबी) का दरले मूल्य ईमेलको शूल्क राख्यो । त्यो प्रतिस्प्रर्धी मर्कन्टाइलको भन्दा सस्तो थियो । दीलिपको एक वर्षको पढाई बाँकी नै थियो । सेवा सुरु गरे लगत्तै बाँकी पढाई पुरा गर्न उनी फेरी अमेरिका हान्निए ।

सकेसम्म छिट्टै नेपाल फर्किने हुट्हुटीले मनमा घर जमाएको थियो । १९९६ को जुनमा उनले आफ्नो ग्य्राजुएसन सिध्याए । त्यसको भोलिपल्ट नै उनी सधैँका लागि स्वदेश फर्किए । यता सेवा सुचारु राख्न फुपुको छोरा र मामाको छोरालाई पार्टनरको रुपमा राखेका थिए ।

व्यवसायिक रुपमै सेवा सुरु भइसकेकोे भए पनि दीलिपका लागि भने त्यो एउटा परीक्षण थियो । सफल हुने वा नहुनेमा उनी आफैं विश्वस्त थिएनन् । असफल भएको अवस्थामा उनका लागि अन्य विकल्प खुल्ला नै थिए । त्यतिखेरको ईमेलमा टेक्स्ट अर्थात अक्षर मात्रै पठाउन सकिन्थ्यो । फोटो तथा भिडियो पठाउन सम्भव भइसकेको थिएन ।

म्यासेज पठाउने अर्को विकल्प टेलेक्स थियो । टेलेक्समा पनि अक्षरकै हिसावले शूल्क लाग्ने । त्यसैले छोटो छोटो म्यासेज पठाउन त्यसको उपयोग हुन्थ्यो । अनि अर्को विकल्प फ्याक्स । तर, फ्याक्समा खबर पुग्ने सुनिश्चितता पनि नहुने, ढिलो पुग्ने, पुगिहाले पनि अक्षर स्पष्ट नबुझिने जस्ता समस्याहरु थिए । तत्कालीन समयमा एउटा फ्याक्स पठाएकै १५० रुपैयाँ पर्ने गर्थ्यो ।

यसैबीच ८० रुपैयाँमै एक केबी अर्थात १०२४ अक्षर पठाउन मिल्ने गरी आएको ईमेल सेवा त्यतिखेर निकै गज्जबको उपायको रुपमा मान्छेहरुले लिन थाले । ईमेल सेवा सुरु गरेपछिका प्रतिक्रिया र हौसलाले नेपालमा नयाँ किसिमका प्रविधिको राम्रै संभावना देखिरहेका थिए दीलिपले । ईमेल सेवा सुरु गर्दाका दिनहरु सम्झिँदै उनी भन्छन्, ‘टेलिफोन लाइन जोडर सजिलैसँग त्यसको सुरुवात गरेका थियौँ । नयाँ सेवा प्रयोग गर्न पाउँदा ग्राहकहरु पनि निकै खुशी थिए ।’

त्यतिखेरसम्म वर्ल्डलिंक कम्पनीको रुपमा दर्ता भइसकेको थिएन । ‘नियम कानून के छ, दूसञ्चार क्षेत्रको नियमको व्यवस्था के छ, भन्ने कुनै पनि कुरा मलाई थाहै थिएन,’ उनी भन्छन्, ‘त्यसतर्फ मैले वास्ता नै गरेको रहेनछु ।’

ग्राहक बढ्दै गएपछि वर्ल्डलिंक कम्पनीको रुपमा दर्ता प्रक्रियामा गयो । तर, त्यतिखेर ईमेल सेवा नियमनका लागि कुनै छुट्टै कानूनी व्यवस्था भने थिएन । सेवा सुरु भइसकेपछि नियमनमा ल्याउन तत्कालीन सूचना तथा सञ्चार मन्त्रालयले दीलिपलाई पनि बोलायो । ‘नियामक नेपाल दूसञ्चार प्राधिकरण स्थापना हुनु अगाडि नै हामीले मन्त्रालयबाट लाइसेन्स पायौँँ,’ उनी भन्छन्, ‘प्राधिकरण स्थापना भइसकेपछि, फेरी उसले अर्को लाइसेन्स जारी गर्‍यो ।’

विस्तारै ग्राहकको चाहना र आकांक्षा बढ्दै गयो । ईमेलको ठाउँमा इन्टरनेटको माग बजारले नै गर्न थाल्यो । त्यतिखेरसम्म वेब ब्राउजिङका लागि नेपालमा कुनै विकल्प थिएन । ग्राहकको मागअनुसार थप नयाँ सेवा सुरु गर्ने विषय दीलिपको योजनामा थियो । तर, तत्कालीन समयसम्म वर्ल्डलिंकको एक मात्र प्रतिस्पर्धीको रुपमा रहेको मर्कन्टाइलले इन्टरनेट सेवामा समेत बाजी मार्‍यो ।

इन्टरनेट सेवा सुरु गर्न टेलिकमको लिजलाइन लिनुपर्ने हुन्थ्यो । कम्तिमा पनि त्यसका लागि सात/आठ लाख रुपैयाँ पर्थ्याे । यसरी टेलिकमबाट लिएको लिज लाइनले आधा सर्किटको रुपमामात्रै काम गर्थ्यो। पुरा सर्किटको रुपमा काम गर्ने बनाउन थप त्यतिकै सर्किट विदेशी कम्पनीबाट लिनुपर्ने हुन्थ्यो । मासिक आठ लाख रुपैयाँसम्म तिर्नसक्ने क्षमतामा वर्ल्डलिंक थिएन ।

इन्टरनेट सेवा सुरु गर्न ढिला भइसकेको थियो । अरु ढिलो गर्दा भएका ग्राहकहरुले समेत कम्पनीको साथ छोड्ने निश्चित थियो । एउटा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा जाँदा क्यानडाको टेलिकम कम्पनी टेलिग्लोबसँग उनका दाइको चिनजान भयो । त्यसक्रममा नेपालमा इन्टरनेट सेवा सुरु गर्न आफूहरु सहयोग गर्न तयार रहेको अफर टेलिग्लोबले गर्‍यो ।

अनि टेलिग्लोबसँग वर्ल्डलिंकको औपचारिक सम्झौता नै भयो । सम्झौतामा टेलिग्लोबले ६ महिनाको शूल्क छूट गरिदिने भयो । यता टेलिकम पनि लिजलाइनमा सहजीकरण गर्न तयार थियो । यसरी १९९७ मा वर्ल्डलिंकले इन्टरनेट सेवा समेत सुरु गर्‍यो । त्यतिखेरको सर्किटको कूल क्षमता ६४ केबीपीएस मात्रै थियो । जसबाट वल्र्डलिङ्कले करीब तीन सय ग्राहकलाई सेवा दिन्थ्यो ।

अहिलेको समयमा वर्ल्डलिंक १३४ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात तथा बिक्री गर्ने कम्पनी भएको छ । जुन टेलिकम र एनसेल दुबै दूरसञ्चार कम्पनीले बिक्री गर्ने ब्याण्डविथभन्दा पनि बढी हो । इन्टरनेट सेवा सुरु भएसँगै फेरी कम्पनीको सेवासँगै आकार पनि विस्तार हुँदै गयो ।

सुरुमा घरेलु प्रयोगकर्तालाई मात्रै इन्टरनेट दिइरहेको वर्ल्डलिंकमा कम्पनीबाट डेडिकेटेड कर्पोरेट लाइन इन्टरनेटको सुविधा समेत माग आउन थाल्यो । त्यसपछि १९९९ तिर वायरलेस मोडेममार्फत डेडिकेटेड इन्टरनेट सेमत दिन सुरु गर्‍यो । जसबाट वर्ल्डलिङ्कले बैंक तथा कम्पनीका विभिन्न शाखाहरुलाई समेत इन्टरनेट मार्फत जोडिदिन्थ्यो ।

त्यसपछि भने कम्पनीले पोखरा, बिराटनगर, नेपालगञ्ज, भैरहवा लगायतका काठमाडौं बाहिरका ठूला सहरहरु समेत जोड्दै गयो । त्यसका लागि भीस्याट प्रविधि प्रयोग गरेको थियो । भीस्याट प्रयोग गर्नु अघि टेलिकमको लिजलाइनमा मात्रै भर पर्नुपर्ने बाध्यतामा थियो वर्ल्डलिंक । जसमा ६४ केबीपीएस क्षमताको ब्याण्डविथकै लागि निकै महंगो शूल्क तिर्नुपर्ने हुन्थ्यो । ‘भिस्याटमा गइसकेपछि हामीले १० गुणा सस्तोमा ब्याण्डविथ पायौँ,’ दीलिप भन्छन्, ‘१९९८ मा हामीले आफ्नै भिस्याट राखेर टेलिकम र टेलिग्लोबाट मुक्ति पायौँ ।’

तत्कालीन समयमा नेपालको दूरसञ्चार नीति दक्षीण एशियामै उदार र प्रगतिशिल मानिन्थ्योे । दक्षीण एशियामा बंग्लादेश र नेपालमा मात्रै निजी कम्पनीले भिस्याट राख्न पाउने व्यवस्था थियो । नेपालमा ईमेल र इन्टरनेट दुबै सेवा सुरु गर्ने श्रेय पाएको कम्पनी मर्कन्टाइलको सपना झन् ठूलो थियो । तर इन्टरनेटका लागि उ ठूलो किसिमको दूरसञ्चार पूर्वाधार तथा संरचनामा लगानी गर्न त्यति उत्सुक थिएन ।

मर्कन्टाइलको ध्यान डायलप इन्टरनेटहुँदै मोबाइल सेवा सुरु गर्नेमा केन्द्रीत थियो । तर, मोबाइलको लाइसेन्स भने पाउन सकेन । देशमा टेलिकमको एडिएसएलको नेटवर्क मात्रै थियो । उक्त नेटवर्क प्रयोग गर्न निजी कम्पनीहरुले निकै प्रयास गरे । जसका लागि नियामक दूरसञ्चार प्राधिकरणले समेत टेलिकमलाई पत्र काट्यो । तर, टेलिकम त्यसका लागि तयार देखिएन । वर्ल्डलिंकका लागि आफ्नै नेटवर्क निर्माण गर्नुको विकल्प बाँकी थिएन ।

तर, त्यस्तो नेटवर्क बनाउने कुरा चानचुने विषय थिएन । निकै ठूलो लगानी जरुरी हुन्थ्यो । ‘त्यसैले हामीले त्यो बाटो अपनाएनौँ,’ दीलिप भन्छन्, ‘हामीले वायरलेसको फरक बाटो रोज्यौँ । तर, सरकारले वायरलेस इन्टरनेट विस्तार गर्न फ्रिक्वेन्सीको लाइसेन्स भने कहिल्यै दिएन ।’ लाइसेन्स लिनै नपर्ने निःशूल्क ब्याण्डकै प्रयोग गरेर भए पनि इन्टरनेट दिनुको विकल्प थिएन ।

तर, विस्तारै ग्राहक संख्या र बजारमा प्रतिस्प्रर्धी कम्पनी बढ्दै गएपछि सेवाको गुणस्तर नै बिग्रिन थाल्यो । थोरै ग्राहक हुने ग्रामीण क्षेत्रका लागि उपयोगी भए पनि सहरी क्षेत्रका लागि भने निःशूल्क रुपमा उपलब्ध ब्याण्डको फ्रिक्वेन्सीमा प्रभावकारी र विश्वसनीय रुपमा सेवा दिन सम्भव थिएन ।

जसले गर्दा वर्ल्डलिंक लगायतका इन्टरनेट सेवाप्रदायकहरुले निकै समस्या बेहोर्नुपर्‍यो । ‘यसरी हामी करीब एक वर्ष जति समस्याग्रस्त नै रह्यौँ,’ उनी भन्छन् । यसबिच सेवामा सुधार ल्याउन अनेक प्रयोग पनि गरे । काठमाडौं, पोखरा, बिरगञ्ज र बिराटनगरमा कपरको इथरनेट हाले । त्यसले काम गरे पनि त्यो केवल कामचलाउ प्रविधि मात्रै थियो । यसले बेलाबखत दुःख दिइरहन्थ्यो ।

जब वर्ल्डलिंकले विस्तारै अप्टिकल फाइबरको आफ्नै नेटवर्क विस्तार गर्न थाल्यो, त्यस पछि भने कम्पनीले सोचेअनुरुपको सेवा दिन सक्ने भयो । जुन अहिलेको समयमा पनि प्रचलित प्रविधिको रुपमा रहेको छ ।
नेपालमा इन्टरनेट सुरु हुँदा अहिले जस्तो सामाजिक सञ्जालहरु थिएनन् । युटुब, नेटफ्लिक्स, आईफ्लिक्स जस्ता भिडियो स्ट्रिमिङ सेवा पनि थिएनन् ।

जम्माजम्मी सम्पर्क नै महत्वपुर्ण विषय थियो । थाेरै ब्याण्डविथ भए पनि पुग्ने भएकाले स्याटेलाइट प्रविधि त्यति धेरै महंगो पर्दैनथ्यो । तर, पछिल्लो समय प्रविधिको विकास र ग्राहकको मागका कारण निकै उच्च ब्याण्डविथको खाँचो हुन थाल्यो । उच्च ब्याण्डविथकाे माग र खपत हुने भएकाले स्याटेलाइट प्रविधि निकै नै खर्चिलो पर्न थाल्यो । त्यसै कारण पछिल्लो समय अप्टिकल फाइबर प्रविधि उत्तम विकल्पको रुपमा स्थापित हुँदै गएको हो ।

पहिले जस्तो ६४ तथा १२८ केबीपीएस गतिको इन्टरनेटमा अहिले कुनै पनि सेवा दिन नसिकने भइसकेको छ । १० एमबीपीएसभन्दा कम गतिको इन्टरनेटको काम नै नहुने जस्तो मान्यता विकास भइसकेको छ । त्यसका लागि अप्टिकल फाइबर र मोबाइल नेटवर्क मात्रै विकल्पको रुपमा छन् । यस्तो अवस्थामा स्याटेलाइट प्रविधिको इन्टरनेट मुस्किलको काम भइसकेको छ ।

हुन त हजारौँको संख्यामा लो–अर्थबिट स्याटेलाइट राखेर इन्टरनेटको माग पुर्ति गर्ने विकल्पको चर्चा पछिल्लो समय हुन थालेको पनि छ । तर, त्यो भोलीकोे संभावना हुन सक्छ । अहिले वर्ल्डलिंक स्थापना भएको २४ वर्ष पुगेर २५ औँ वर्षमा छ । अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेटमा लामो समयदेखि रमाइरहेका दीलिप आफूले पुर्‍याएको योगदानले नेपालीहरुको जीवनशैलीमा परिवर्तन ल्याउन सकेकोमा सन्तुष्ट देखिन्छन् । ‘महत्वपुर्ण योगदान दिन सकेकै कारण हामी अहिले इन्टरनेट सेवा प्रदायकको नम्बर वान पोजिसनमा छौँ,’ उनी सगर्व भन्छन् ।

एकदमै थोरै लगानीबाट सुरु भएको वर्ल्डलिंकले अहिलेको अवस्थासम्म आइपुग्न निकै उतार चढाव बेहोरेको छ । लामो समयदेखिको निरन्तरता र लगावकै कारण कम्पनी यो स्थानसम्म पुग्न सफल भएको हो ।
पछिल्लो ५/६ वर्ष यता यो कम्पनीले इन्टरनेट पूर्वाधार क्षेत्रमा ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी गरिसकेको छ । नेपाल टेलिकम, एनसेल र केही ऊर्जा क्षेत्रमा लगानी गर्ने कम्पनी पछि धेरै लगानी गर्नेमा वर्ल्डलिंक पर्छ ।

दीलिप ठोकुवा साथ भन्छन्, ‘नेपालमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनीहरुमा हामी टप फाइभमै, त्यो नभए टप टेनभित्र छौँ नै ।’ अहिले हरेक वर्ष १ अर्ब ५० करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको लगानी वर्ल्डलिंकले पुर्वाधार क्षेत्रमा थपिरहेको छ । यति धेरै लगानी खन्याउनुलाई दीलिप कहिले काहिँ आफ्नो पागलपन जस्तो ठानिरहेका हुन्छन् ।

पछिल्लो समय निजी क्षेत्रमा समेत लगानी गर्ने गरी बेलायती सरकारको सेयर लगानी रहेको सीडीसीको १ अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानीको रुपमा वर्ल्डलिंकले भित्र्याएको छ । यसले आफूहरुको मनोबल बढाउने काम गरेको दीलिपको बताउँछन् ।

‘यसबाट हामीसँग थप नयाँ लगानीकाे लागि श्रोत पनि तयार भएको छ । पहिला हामी बैंकको मात्रै भर पर्नुपर्ने अवस्था थियो,’ उनी भन्छन्, ‘यो लगानीले हामीलाई थप तिब्रताका साथ ब्रोडब्याण्ड सेवा विस्तार गर्न सहयोग पुर्‍याउनेछ ।’ नेपालका हरेक घरपरिवारलाई इन्टरनेट ब्रोडब्याण्डले जोड्ने दीलिपको सपना छ । त्यसका लागि नेटवर्क स्तरोन्नती गर्ने तथा सेवा सुदृढ गर्ने काममा कम्पनी शक्रिय छ ।

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुमा वर्ल्डलिंकको ग्राहक सेवा पछिल्लो समय उदाहरणीय रुपमा समेत हेरिन थालेको छ । त्यसै त चौबिसै घण्टा निरन्तर रुपमा दिइरहनुपर्ने प्राविधिक सेवाको रुपमा रहेको इन्टरनेट । कुन बेला कहाँ के समस्या आउँछ ठेगान हुँदैन ।

त्यसैले नियमित रुपमा गुणस्तरीय सेवा प्रवाह गर्ने रणनीतिक उद्देश्यका साथ कम्पनीले अहिले दुई किलोमिटरको क्षेत्रलाई समेट्ने गरी शाखा कार्यालयहरु स्थापना गरिरहेको छ । यो नीति काठमाडौं उपत्यकामा मात्रै होइन, बाहिर पनि लागु छ । अहिले त्यस्ता कार्यालयहरुको संख्या ६० भन्दा बढी पुगिसकेको दीलिप बताउँछन् ।

यो रणनीतिले कम्पनीको खर्च त बढाएको छ, तर त्यसकै कारण ग्राहकले गुणस्तरीय सेवा पाउन सकेका छन् । अहिले वर्ल्डलिंकमा ३२ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् । त्यसमध्ये अधिकांश फिल्डमा खटिने प्रकृतिको काममा शक्रिय छन् ।

ग्राहक सेवामा नमूना काम गरिरहेको कम्पनीले बजारिकरणमा समेत नवीन र पृथक योजनाका साथ काम गरिरहेको छ । त्यसैअनुसार अहिले कम्पनीले देशभर १० हजार सार्वजनिक स्थानमा निःशूल्क वाईफाई सेवा दिने योजनालाई पुर्णता दिँदैछ ।

यसबाट ब्रोडब्याण्डमा पहुँच नभएका जनताले त्यसको अनुभव त पाउने नै छन् । त्यसका अतिरीक्त सेवाको अनुभव दिलाएर आफ्नो ब्राण्ड तथा सेवा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । आफूहरु पैसा कमाउनका लागि मात्रै नभएर देशको सेवामा समेत लागेको दीलिप दावाका साथ भन्छन् ‘हामी छोटो समयमा जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकताबाट निर्देशित छैनौँ, हामीले यो विषयलाई दीर्घकालिन रुपमा हेरेका छौँ । हामी सेवा गरेरै पैसा कमाउन चाहन्छौँ ।’

इन्टरनेटले ग्राहकको जीवनशैली मात्रै नभएर जीवनस्तरमा समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । त्यसैले वर्ल्डलिंकले कर्णाली प्रदेश जस्तो दूर्गम क्षेत्रमा ब्रोडब्याण्ड सेवा विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको परियोजना हातमा लियो । समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्ने विषयलाई कम्पनीले आफ्नो प्रतिष्ठाको विषय बनाएर काम गरेको दीलिप बताउँछन् ।

अहिले त्यस क्षेत्रमा वर्ल्डलिंक आफैले तलव खुवाउने गरी स्थानीय ४० जना युवाहरुलाई सेवा सुचारु राख्ने काममा खटाएको छ । त्यस क्षेत्रमा वायरलेस प्रविधिमार्फत इन्टरनेट पुर्‍याइएको भए पनि न्युनतम एक एमबीपीएस गतिको इन्टरनेटको सुनिश्चितता गरिएको कम्पनीले जनाएको छ । नयाँ नयाँ स्थानमा फाइबर इन्टरनेट पुर्‍याउने योजना वर्ल्डलिंकले बनाएको छ । साथसाथै फिक्सब्रोडब्याण्डमा मात्रै सिमित नभएर मोबाइल ब्रोडब्याण्ड सेवा समेत सञ्चालन गर्ने सपना दीलिपले देखेका छन् ।

‘हामीले फिक्स ब्रोडब्याण्डमा आफूलाई प्रमाणीत गरेर देखाइसकेका छौँ। नेपालको दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकमपछि हामीले जत्तिको सेवा गरेको अरु कोही पनि छैन,’ उनी भन्छन्, ‘यस हिसावले मोबाइल सेवा सञ्चालनका लागि अरु भन्दा हामी नै योग्य र हकदार हौँ ।’

यूटिएल, स्मार्ट, हेलो नेपाल आए पनि सेवा गर्ने भावनाका साथ नआएको दीलिपको बुझाई छ । वर्ल्डलिंक अहिले प्रालिबाट लिमिटेडमा गइसकेको छ । भविष्यमा जनतालाई सेयर दिने योजना समेत कम्पनीले बनाएको छ । तर, त्यसभन्दा अगाडि कम्पनीको हैसियतलाई थप बलियो पार्ने प्रयासमा दीलिप छन् । ‘त्यस्तो अवस्थामा हामीले राम्रो मूल्य पाउँछौ भन्ने पनि हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०