close

बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस २४, २०७६ १८:५

बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न यसो गर्नुहोस्

काठमाडौं । इन्टरनेट हामी सबैको आवश्यकताको विषय बनिसकेको छ । अहिलेको समयमा इन्टरनेट हरेक विषयसँग जोडिने भएकाले समेत यसबाट टाढा रहन सक्ने अवस्था छैन ।

तर इन्टरनेटको व्यापकतासँगै यसमार्फत निम्तिनसक्ने जोखिम समेत क्रमिक रुपमा बढ्दै गएकाे छ । यस्तोमा आफ्ना बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित राख्ने भन्ने विषयमा सचेत हुन जरुरी छ ।

यसमा केही अवस्थामा सरकार आफैले पनि काम गरिरहेको हुन्छ भने कतिपय अवस्थामा अभिभावक आफैले पनि सोच्नु पर्ने आवश्यकता हुन्छ । नेपालको परिवेशमा हेर्ने हो भने, नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गत सोमबार मात्रै अनलाइन बालसुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।

उक्त निर्देशिकाले बालबालिकालाई इन्टरनेट प्रयोगको सम्बन्धमा नियम बनाई अभ्यस्त बनाउनु अभिभावकको दायीत्वको रुपमा परिभाषित गरेको छ । त्यस्ता नियम बनाउँदा अभिभावकले इन्टरनेटमा पहुँचको समय तथा अवधि, इन्टरनेटमा पहुँचमा हुन सक्ने सामग्रीको वर्गीकरण गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको छ ।

साथै डाउनलोड गर्न मिल्ने वा नमिल्ने सामग्रीको वर्गीकरण, जोखिमयुक्त सामग्रीमा आकस्मिक पहुँच (जम्काभेट) भएमा के गर्ने र उमेर समूह जनाउने सामग्रीको पहिचान गरि त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ ।

त्यस्तै आफ्ना बालबालिकाको इन्टरनेट प्रयोगको नियमित रेखदेख गर्नुपर्ने, उनीहरुलाई इन्टरनेटको सुरक्षित प्रयोग तथा सुरक्षा औजारको सदुपयोग सम्बन्धमा आवश्यक अभिमुखीकरण गर्नुपर्ने विषय समेत निर्देशिकाले उल्लेख गरेको छ । अभिभावकले आफ्ना बालबालिकासँग सम्भावित जोखिम बारेमा खुलेर कुरा गर्दा उनिहरुले आफूलाई परेको समस्या खुलेर भन्न सक्ने वातावरण सिर्जना हुन सक्छ ।

वेबसाईट तथा एपहरु प्रयोगको पहुँचलाई व्यवस्थित गर्न आवश्यक छ । आफ्ना बालबालिकाले नियमित रुपमा प्रयोग गर्ने वेबसाइट तथा एपहरुको सूचीकरण गरी उक्त वेबसाईट तथा एप्सको गोपनीयताको नीति तथा प्रयोगका शर्त तथा बन्देजहरुको जानकारी अभिभावकको कर्तव्यको विषय हो । यस्ता वेबसाईट तथा एपले बालबालिकाको इन्टरनेट प्रयोगको निगरानी गरिराखेको छ वा छैन, त्यसमा समेत ध्यान दिन जरुरी हुन्छ ।

बालबालिकालाई उनीहरुले प्रयोग गर्ने वेबसाईट तथा एपहरुले उनीहरुको व्यक्तिगत सूचना संकलन गरेको छ वा छैन भन्ने विषयमा स्पष्ट जानकार भएर त्यस्ता विवरण उपलब्ध नगराउन समेत सचेत गराउनु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०