close

टिकटकलाई टक्कर दिन भारतमा ‘लास्सो’ ल्याउँदै फेसबुक

टेकपाना टेकपाना

पुस २७, २०७६ ११:२५

टिकटकलाई टक्कर दिन भारतमा ‘लास्सो’ ल्याउँदै फेसबुक

फेसबुकले भारतमा टिकटकको प्रतिस्पर्धी एप ‘लास्सो’ सार्वजनिक गर्ने भएको छ । इनट्र्याकरका अनुसार कम्पनीले आउँदो मे महिनामा उक्त सार्वजनिक गर्ने तयारी थालेको हो ।

फेसबुकले ‘लास्सो’ एप सन् २०१८ मा अमेरिकामा सार्वजनिक गरेको थियो । सन २०१९ मा मेक्सीकोमा सार्वजनिक गरिएको उक्त एपको सेवा अब भारतमा समेत सुरु हुने भएको हो ।

एपको विषयमा अध्ययन गर्ने कम्पनी ‘सेन्सर टावर’ का अनुसार उक्त एप अमेरिकामा पाँच लाख पटक डाउनलोड भएको छ भने मेक्सीकोमा २२ लाख पुगेको छ । यसैबिच फेसबुकले ६२ करोड ७० लाख इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा आफ्नो नयाँ एपको सेवा उपलब्ध गराउने भएको हो ।

पछिल्लो समय भारतमा टिकटक सबैभन्दा सफल भएको छ । छोटो भिडियो सेयरिङ माध्यमको रुपमा उदाएको टिकटक भारतमा मात्रै ५० करोड डाउनलोड भएको छ । जुन टिकटकको कुल डाउनलोडको एक तिहाई हो ।

हालसम्म टिकटक एक अर्ब ५० करोड भन्दा बढी पटक डाउनालोड भएको छ । भारतमा मात्रै यसका सक्रीय प्रयोगकर्ता २० करोड रहेको उल्लेख गरिएको छ ।

यस्तोमा फेसबुकले सार्वजनिक गर्न लागेको एप ‘लास्सो’ ले भारतमा कति प्रभाव पार्न सक्छ भन्ने प्रश्नको जवाफका लागि केही समय कुर्नु नै पर्ने हुन्छ । गत अप्रिलमा टिकटक भारतमा विवादित भएकाले त्यसको फाइदा फेसबुकले लिन सक्ने उल्लेख छ । गत अप्रिलमा टिकटकमा पोर्न कन्टेन्ट फैलिएको भन्दै भारत सरकाले गुगल एप स्टाेरमार्फत आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो ।

तर, पछि कम्पनीले सुरक्षाको हिसाबले अझ धेरै काम गरेको बताएसँगै भारतले फेरी खुला गरेको छ । खुला गरेसँगै भारतभर टिकटकका प्रयोगकर्ता ठुलोमात्रामा बढेका छन् । एपमा भारतीय कलाकार पनि जोडिने क्रम बढिरहेको छ । यसले पनि अझ टिकटकको क्रेज भारतमा बढ्ने अनुमान गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०