close

चीनबाट इन्टरनेट ल्याएको २ वर्ष पुग्यो, किन घटेन मूल्य ?

रन्जन कोइराला रन्जन कोइराला

पुस २७, २०७६ १४:३१

चीनबाट इन्टरनेट ल्याएको २ वर्ष पुग्यो, किन घटेन मूल्य ?

चीनतर्फबाट नेपालमा इन्टरनेट ब्याण्डविथ भित्रिएको ठीक दुई वर्ष पुरा भएको छ । चिनियाँ भूमी हुँदै व्यवसायिक रुपमा नेपालमा इन्टरनेट भित्रिन थालेको लामाे अवधिमा अपेक्षा अनुसारको ब्याण्डविथ भने थपिन सकेको छैन ।

नेपाल टेलिकमका अनुसार चीन तर्फबाट हाल कुल २.८ जीबी इन्टरनेट ब्याण्डविथ मात्रै आइरहेको छ । टेलिकमले दुई वर्षको परीक्षण पछि २०७४ पुसदेखि व्यवसायिक रुपमै चीनतर्फबाट ब्याण्डविथ ल्याउन सुरु गरेको थियो । ‘नेपाल-चीन क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’ को व्यवसायिक सुरुवातसँगै भारतीय एकाधिकार समेत तोडिएको थियो ।

चाइना टेलिकम कर्पोरेसनसँग सम्झौता गरी टेलिकमले रसुवाको केरुङ हुँदै चीनियाँ ब्याण्डविथ पहिलो पटक नेपाल भित्र्याएको थियो । त्यस अघि टेलिकम भैरहवा, विरगञ्ज र विराटनगर नाका हुँदै भारतीय कम्पनी बीएसएनएल, एयरटेल र टाटासँग निर्भर रहेको थियो ।

चीनबाट इन्टरनेट ब्याण्डविथ भित्रिएसँगै इन्टरनेटको मूल्य घट्ने अुनमान विश्लेषण गरिए पनि त्यो सही सावित हुन सकेको छैन । न त त्यसले भारततर्फको निर्भरतालाई नै कम गर्न सकेको छ । १.५ जीबीपीएस ब्याण्डविथबाट सुरु भएकाे चीन तर्फको आयात अहिलेसम्म जम्मा १.३ जीबीपीएस मात्रै थपिएको छ ।

टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार हाल टेलिकमले चीनतर्फबाट कुल २.८ जीबीपीएस ब्याण्डविथ आयात गरिरहेको छ । चीनबाट इन्टरनेट ब्याण्डविथको आयात सुरु हुँदा मूल्यमा भारतीय ब्याण्डविथसँग समान भए पनि गती भने तीब्र हुने उल्लेख गरिएको थियो ।

सिङ्गापुरदेखि समुद्रमुनि बिछ्याइएको फाइबरबाट भारतका विभिन्न सहरमा जोडिदैं त्यहाँका ‘क्यारियर’ मार्फत ब्याण्डविथ नेपालसम्म आइरहेको छ । तर चीनतर्फबाट आउने ब्याण्डविथ भने हङकङ स्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसनले स्थलमार्गबाटै सोझै केरुङम्म ल्याइपुर्‍याएको छ ।

सिङ्गापुरभन्दा हङ्कङस्थित ट्रान्समिसन केन्द्रसँगको दुरी नजिक पर्ने भएकाले पनि चीनतर्फको इन्टरनेटको गति तुलनात्मक रुपमा तीब्र हुने भनाई तार्किक नै हो । तर, ग्राहकले इन्टरनेटको स्पिडमा पनि कुनै फरक महसुस गर्न सकेका छैनन् ।

प्रवक्ता भण्डारीका अनुसार चीनबाट इन्टरनेट ल्याउन विभिन्न किसिमका समस्या आएकाले पनि यस्तो भएको हो । एकातिर उच्च हिमाली भूभाग भएर फाइबर ल्याइएकाले हिउँको समस्याले बिग्रिँदा मर्मत गर्न समेत कठीन छ भने पहिरोले पनि क्षती पुर्‍याउने गर्छ ।

त्यसैले पनि टेलिकमले सोचेअनुसार चीनबाट इन्टरनेट ब्याण्डविथ भित्र्याउन नसकेको हो । जबसम्म चीनबाट ठूलो मात्रामा ब्याण्डविथ आउँदैन तबसम्म इन्टरनेटको गती र मूल्यमा त्यसले खासै परिवर्तन ल्याउने संभावना देखिँदैन । ‘यति हो, हामीले चीनको ब्याण्डविथ कनेक्सन देखाएर भारतहुँदै आउने ब्याण्डविथको मूल्यमा बार्गेनिङ गर्न भने पाएका छौं,’ भण्डारी भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०