close

यूटीएलले ५० करोड घरभाडा तिर्न बाँकी, टावर हटाउन नपाउँदा थप समस्यामा घरबेटी

युजु खालिङ युजु खालिङ

पुस २७, २०७६ १५:५१

यूटीएलले ५० करोड घरभाडा तिर्न बाँकी, टावर हटाउन नपाउँदा थप समस्यामा घरबेटी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड(यूटीएल) ले टेलिफोन टावर (बीटीएस) राखे बापत करोडौं रुपैयाँ घरभाडा तिर्न बाँकी देखिएको छ । कम्पनीले वर्षौंदेखि टावरको घरभाडा र विद्युत महशुल नतिर्दा काठमाडौं उपत्यका भित्रका मात्रै दुई सय ५२ घरबेटी पीडित भएका छन् ।

यूटीएलले विगत पाँच वर्षयता मोबाइल सेवाका लागि विभिन्न घरका छतमा राखेका टावरको भाडा र विद्युत महशुल बुझाएको छैन । पीडित घरबेटीहरुले बक्यौता रकम उठाउन संघर्ष समिति नै बनाएर ६ महिनादेखि आन्दोलनमा छन् ।

विद्युत महशुल नबुझाएपछि घरबेटीहरुको घरको विजुलीको लाइन पनि काटिएको छ । संघर्ष समितिमार्फत पीडित घरबेटीहरुले ६ महिना अघि नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बक्यौता उठाइदिन माग गर्दै निवेदन समेत दिएका थिए ।

तर, टावर राख्ने विषय नितान्त घरधनी र कम्पनीको सरोकारको विषय भन्दै प्राधिकरण त्यसबाट पन्छिएको छ । टावर राख्ने सम्झौतामा प्राधिकरण नजोडिने भन्दै त्यसमा करार सम्बन्धि छुट्टै कानून आकर्षित हुने प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

आफूहरुले चार वर्षदेखि ६ वर्षसम्मको घरभाडा नपाएको पीडित घरबेटी मध्येकी अञ्जु शर्मा बताउँछिन् । ‘बत्तीको पैसा पनि बाँकी नै छ,’ उनी भन्छिन्, ‘कतिको घरमा लाइन पनि काटिएको छ । कसैले एक–डेढ लाख रुपैयाँ उठाउन बाँकी छ । मेरोमा विजुलीको मात्रै ८० हजार रुपैयाँ बिल उठेको छ ।’

पटक पटक आग्रह गर्दा समेत कम्पनीले वास्ता नगरेपछि केही घरबेटी आफैले विद्युत महशुल तिरेर विद्युत् सेवा सुचारु गरेका छन् । सेवा नै बन्द भइसकेको यूटिएलको अहिले कार्यालय र कर्मचारी समेत छैनन् । जसका कारण पीडित घरबेटीले सम्पर्क गर्न समेत पाइरहेका छैनन् ।

गयानाथ श्रेष्ठको संयजकत्वमा बनेको संघर्ष समितिको सम्पर्कमा अहिले दुई सय ५२ घरबेटी छन् । त्यस बाहेकका पीडित हुने अन्य घरबेटी समेत रहेको बताइएको छ । त्यसको यकिन तथ्यांक भने संघर्ष समितिसँग पनि छैन ।

बक्यौताको हिसाब गर्न आग्रह गर्दा समेत कम्पनीका सिईओले पटक पटक बहाना बनाएर टार्ने गरेको पीडित घरबेटीहरुको गुनासो छ । समितिका अनुसार दुई सय ५२ घरधुरीले यूटीएलबाट पाउनुपर्ने कूल घरभाडा रकम करीब ५० करोड रुपैयाँ रहेको छ ।

घरभाडासँगै अर्को पीडा पनि छ घरबेटीहरुको । उनीहरुले अहिलेसम्म आफ्नो घरको छतबाट टावर हटाउन समेत पाएका छैनन् । ‘टावर लगायतका सामग्री गरेर कम्पनीको पाँच करोड बराबरको जायजेथा हुने भएकाले त्यत्तिकै हटाउन नपाइने रहेछ,’ शर्मा भन्छिन्, ‘जिल्ला प्रशासन कार्यलयदेखि दूरसञ्चार प्राधिकरणसम्म धाउँदा पनि हाम्रो समस्याको समाधान भएको छैन ।’

नेपाल सरकारकै ७८ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको कम्पनीले आफूहरुलाई घरभाडा तिर्ने आशा पीडित घरबेटीले मारिसकेका छन् । ‘बरु हामीलाई घरभाडा चाहिएन, टावर हटाइदिए पनि हुन्छ,’ अर्का पीडित घरबेटीले दुखेसाे पोखे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०