close

यसरी नेपालमै बनिरहेको छ टीभीको सेट टप बक्स (भिडियो सहित)

टेकपाना टेकपाना

पुस २९, २०७६ १०:३०

यसरी नेपालमै बनिरहेको छ टीभीको सेट टप बक्स (भिडियो सहित)

डिजिटल टेलिभिजन प्रशारणका लागि चाहिने सेट टप बक्स नेपालमै उत्पादन हुन थालेको छ । डिजिटल होम इन्टरनेशनलले ललितपुरको गोदावरी स्थित प्लान्टबाट परीक्षणको रुपमा सेट टप बक्स एसेम्बल थालेको हो ।

नेपालको एक मात्र स्याटेलाइट टेलिभिजन वितरक डिस होमका लगानीकर्ताको पहलमा स्थापना भएको डिजिटल होम इन्टरनेशनलले सेट टप बक्स उत्पादनका लागि ४० करोड रुपैयाँ लगानी गरिसकेको छ । प्रभु ग्रुप, आईएमई ग्रुप लगायतका लगानीकर्ता रहेको उद्योगमा आगामी वर्षसम्म एक अर्ब रुपैयाँ लगानी पुग्ने जनाइएको छ ।

सेट टप बक्सको परीक्षण उत्पादन सफल भइसकेको भन्दै डिजिटल होम इन्टरनेशनलका सीईओ केशव पौडेलले चाँडै व्यवसायिक रुपमा उत्पादन सुरु गर्ने तयारी रहेको बताए । ‘ यहाँबाट स्याटेलाइटदेखि केबल, आईपी लगायतका सबै किसिमका टेलिभिजन प्रशारणमा आवश्यक सेट टप बक्स तयार गर्न सकिने भएको छ,’ उनले भने, ‘हामीले यहाँबाट इन्टरनेट सेवामा प्रयोग हुने राउटर, इन्डक्सन चुल्हो, एलईडी लाईटको समेत उत्पादन गर्ने योजना बनाएका छौँ ।’

सेट टप बक्सका लागि आवश्यक ९० प्रतिशत पाटपूर्जाहरु विदेशबाट आयात भइरहेको छ भने १० प्रतिशत स्थानीय रुपमै उपलब्ध रहेको उद्योगले जनाएको छ । वार्षिक २२ लाख सेट टप बक्स उत्पादन गर्न सकिने गरी उद्योगले एसेम्बल प्लाण्ट तयार पारेको छ । आन्तरिक आवश्यकतालाई मध्यनजर गरेरै उद्योग खोलिएको पौडेलको भनाई छ ।

‘हामीले मूल्य र गुणस्तर दुबै रुपमा विदेशी सेट टप बक्ससँग प्रतिस्पर्धा गर्न सक्छौँ,’ उनले भने, ‘बजारमा दरिलो गरी उभिन हामीलाई सरकारको पनि साथ आवश्यक छ । पाटपूर्जा आयातमा लाग्ने भन्सारमा छूट तथा सहुलियत दिने र तयारी उत्पादनको आयातमा भन्सार बढाइदिए हामी झन् प्रतिस्पर्धी रुपमा बजारमा जान सक्ने अवस्था बन्छ ।’

हाल नेपालमा प्रति वर्ष दश देखि १२ लाखसम्म सेट टप बक्स आवश्यक हुने बजार विश्लेषण छ । सरकारी आँकडा अनुसार अहिले सम्म ७२ प्रतिशत घरधुरीमा टेलिभिजन पहुँच पुगेको छ । अहिले उद्योगमा ६० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने अर्को वर्ष २५० देखि ३ सय जनालाई रोजगारी दिन सकिने सीईओ पौडेलको अनुमान छ ।

उद्योगले सेट टप बक्समा आवश्यक सफ्टवेयरका लागि जर्मनीको आईडीएस तथा हार्डवेयरका लागि चीनको एसएमटी इलेक्ट्रोनिक टेक्नोलोजीसँग सहकार्य गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०