close

श‌ंकास्पद कारोबार विश्लेषण गर्न बैंकहरुमा राष्ट्र बैंकको नयाँ प्रविधि

टेकपाना टेकपाना

माघ २, २०७६ १९:३७

श‌ंकास्पद कारोबार विश्लेषण गर्न बैंकहरुमा राष्ट्र बैंकको नयाँ प्रविधि

वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरुको विवरण सोझै निगरानी गर्न सकिने प्रविधि प्रयोगमा ल्याएको छ । सबै वाणीज्य बैंकहरुबाट ग्राहकको पहिचान लगायतका विवरण नियमित रुपमा प्राप्त हुने गरी ‘गोएएमएल प्रडक्सन इन्भाइरोमेन्ट’ प्रणाली लागु गरेको हो ।

माघ १ देखि यो सफ्टवेयर प्रणालीमार्फत वाणीज्य बैंकहरुले अनिवार्य रुपमा नियमित प्रतिवेदन बुझाउनुपर्नेछ । यसको माध्यमबाट बैंकहरुबाट सीमा र संकास्पद कारोबारको विवरण राष्ट्र बैंकको वित्तीय इकाइमा पुग्नेछ । यो प्रणालीको कार्यान्वयनबाट नियामक निकायका साथै बैंक तथा वित्तीय संस्था र ग्राहक लगायत सबै सरोकारवालालाई सहज हुने राष्ट्र बैंकको अपेक्षा छ ।

यसबाट शंकास्पद कारोबारको विश्लेषण थप प्रभावकारी हुने राष्ट्र बैंकको भनाई छ । लामो समयको प्रयास पछि यूएनओडीसीले विकास गरेको यो अन्तर्राष्ट्रिय स्तरको एकीकृत सूचना सञ्जाल सहितको सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याइएको हो । हाल यो प्रणाली विश्वका ५० मुलुकले प्रयोगमा ल्याइसकेका छन् भने अन्य ६० मुलुक कार्यान्वयनको चरणमा छन् ।

यस प्रणालीले नेपालको सम्पति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा हुन सक्ने वित्तीय लगानी नियन्त्रण गर्ने कार्य प्रभावकारी हुने र यसै वर्ष हुने पारस्पारिक मूल्याङ्कनमा समेत राम्रो नतिजा आउने राष्ट्र बैंकको विश्वास छ । विगतका दुई ओटा पारस्पारिक मूल्याङ्कनमा नेपालको पारस्पारिक मूल्याङ्कन कमजोर देखिएको थियो ।

गोएएमएल कार्यान्वयनले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकललापमा वित्तीय लगानी नियन्त्रणको प्रयासमा विषयमा अन्तरराष्ट्रिय स्तरमा सकारात्मक सन्देश जानेछ । यसबाट नेपालको जोखिम रेटिङमा समेत उल्लेखनीय प्रगति हुने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ ।

हालका लागि वाणीज्य बैंकहरुमा पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको यो प्रणाली आगामी आर्थिक वर्षदेखि अन्य वित्तीय संस्था र सूचक संस्थाहरुमा समेत क्रमिक विस्तार गर्दै लैजाने राष्ट्र बैंकको योजना छ । यसबाट नेपालको वित्तीय प्रणालीको विश्वसनीयता, पारदर्शिताका साथै सुशासनमा समेत सहयोग पुग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१