close

गुगल बन्याे १० खर्ब डलरको चाैथो कम्पनी

टेकपाना टेकपाना

माघ ४, २०७६

गुगल बन्याे १० खर्ब डलरको चाैथो कम्पनी

गुगलको मातृ कम्पनी अल्फावेट १० खर्ब डलर (शनिबारको विनिमय दरअनुसार ११३४ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बजार मूल्यको कम्पनी बनेको छ । कम्पनीको सेयर मूल्य बढेसँगै कम्पनीले यो कोसेढुंगा पार गरेको हो ।

यससँगै अल्फावेट १० खर्ब डलर बजार मूल्यको कोसेढुंगा पार गर्ने चौथो अमेरिकी कम्पनी बन्न सफल भएको छ । यसअघि सन् २०१८ मा एप्पल १० खर्ब डलर बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो ।

यस्तै, सोही वर्ष अमेजनले पनि यो सफलता हात पारेको भए पनि केही समयमै सेयर मूल्य घटेर उसको स्थान तल झरिसकेको छ । सन् २०१९ को अप्रिलमा माइक्रोसफ्ट १० खर्ब डलर बजार मूल्य भएको तेस्रो अमेरिकी कम्पनी बनेको थियो ।

केही महिना अघि गुगलका सीईओ सुन्दर पिचाई मातृ कम्पनी अल्फावेटको सीईओमा नियुक्त भएपछि कम्पनीले केही सुधारको काम थालेको थियो । सोही सुधारको प्रभावस्वरुप अल्फावेटको सेयर मूल्यमा बृद्धि भइरहेको छ ।

१० खर्ब डलर बजार मूल्य भएको संसारकै पहिलो कम्पनी भने चीनको पेट्रो चाइना हो । उसले यो सफलता सन् २००७ मा हाँसिल गरेको थियो । चीन सरकारको स्वामित्व भएको यो कम्पनी अहिले भने पहिलेजस्तो अवस्थामा छैन ।

यस्तै, साउदी अरेबियाको साउदी अरामको नामक कम्पनी २० खर्ब डलर बजार मूल्य भएको संसारकै पहिलो कम्पनी हो । एक महिना अघि रियाद स्टक एक्सचेन्जमा दर्ता भई सेयर कारोबार हुन थालेपछि कम्पनीको बजार मूल्य बढेको हो ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९