close

यसरी भयो इन्टरनेटको विकास

टेकपाना टेकपाना

माघ ४, २०७६ १६:८

यसरी भयो इन्टरनेटको विकास

इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ । सारा विश्व इन्टरनेटको माध्यमबाट एक आपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न गर्न सम्भव बनाएको छ ।

सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । इन्टरनेट अवरोध (इन्टरनेट आउटेज) ले ठूला–ठूला व्यवसायिक कार्य ठप्प भइदिन्छन् । त्यस हिसावले मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । 

आज हामी जता हेर्छौं, उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पनि घरायसी प्रयोजनमा बढी भएको देखिन्छ । रोजगार तथा अध्ययनको शिशिलामा देश बाहिर रहेकाहरुलाई यसको महत्व बढी छ । 

वैदेशिक रोजगारमा जानेहरुको परिवारको लागि यो प्रविधि वरदान नै सावित भएको छ । भिडियोमा प्र्रत्यक्ष देखेर आफ्ना भावनाहरु साटासाट गर्न सकिने हुँदा यसै प्रविधिमा व्यवसाय गर्ने तथा करियर बनाउनेहरु उल्लेख्य रुपमा बढिरहेका छन् । 

अमेरिकी रक्षा विभागले सूचना आदान प्रदान गर्ने सन्दर्भबाट इन्टरनेटको विकास सुरु भएको मान्न सकिन्छ । यो सूचना प्रणालीको विकास शीतयुद्धको दौरान भएको हो । तत्कालीन सोभियत संघ अर्थात रुसले सन १९५७ मा अन्तरिक्षमा स्पुतनिक नामक स्याटेलाइट स्थापित गरेको थियो । यसरी रुसले कुनैपनि बेला अमेरिकाको तार तथा टेलिफोन प्रणाली (टेलिग्राफ तथा टेलिफोन प्रणाली) ध्वस्त पार्नसक्ने संभावित चुनौतिलाई देखेर त्यहाँको रक्षा विभागले डीएआरपीए नामक परियोजना खडा गर्‍यो ।

पछि यसैलाई अझ परिष्कृत तथा व्यवस्थित बनाउनका लागि अर्पानेट (एड्भान्स रिसर्च प्रोजेक्ट अजेन्डा) नामक एउटा नेटवर्क स्थापित गर्यो । यसको निर्देशन रोर्बट टेलर तथा व्यवस्थापन लारेन्स रोर्बटले गरेका थिए । यी दुबै जनाले अमेरिका, बेलायत तथा फ्रान्समा भएका सूचना प्रयोजनका निम्ति राखिएका कम्प्युटरहरुलाई एउटै सञ्जाल (नेटवर्क) मा ल्याएर आफनो सुरक्षित  सूचना संयत्र बनाउन सफल भएका थिए । पछि यो परियोजना विस्तारै संचार माध्यममा परिवर्तित भयो । 

इन्टरनेटको प्रथम शुरुवात सन् १९७० मा रोबर्ट इलियल कान्ह र भिन्ट कार्फबाट भएको हो । त्यसैले यिनीहरुलाई नै इन्टरनेटका पिता समेत भन्ने गरिएको छ । १९६० देखि ७० सम्मको दशकमा धेरै शोधकार्य भए । यसमा मुख्य योगदान एपीएल नेटवर्क, अर्पानेट, मेरिट नेटवर्क, साइक्लेड्स र टेलिनेटहरुकोे छ । १९७६ मा इथरनेटको विकास भयो, यसरी प्याकेट स्विचिङ लगायत थुप्रै किसिमका कम्युनिकेसन प्रोटोकलहरुसँगै विकसित इन्टरनेटको आधारशिला खडा भएको हो । 

१९८० मा नेसनल साइन्स फाउन्डेसनले केही उच्च गतिका कम्प्युटरहरुलाई जोडेर एउटा नेटवर्क एनएसएफनेट तयार पार्‍यो । यसैले इन्टरनेटको विकासका लागि मजबूत आधारशीला तैयारा पारेको हो । १९८० को फेब्रुअरी १ मा तत्कालीन इलेक्ट्रिक तथा इलेट्रोनिक्स इन्जिनियरहरुको संस्था आईईईले पोर्ट बेस नेटवर्क एक्सेस कन्ट्रोल (पीएनएसी) बनाएर इन्टरनेटको आयामलाई झनै फराकिलो बनाएको थियो । यही वर्ष बिल गेट्सले आफनो अपरेटिङ सिस्टम आईबीएम कम्प्युटरको शुरुवात गरे । 

१९८४ मा यस नेटवर्कमा हजार भन्दा बढी निजी कम्प्युटर जोडिए पछि यसको सञ्जाल द्रुत गतिमा बढ्यो । आज यसमा अनगिन्ती कम्प्युटरहरु जोडिएका छन् । १९८९ मा इन्टरनेट सार्वजनिक प्रयोजनका लागि खुला गरिएपछि यसको प्रयोग वृहत स्तरमा सञ्चार तथा अनुसन्धानको रुपमा उपयोग हुन थाल्यो । 

१९९० मा वल्र्ड वाईड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू० को खोजले यसमा नयाँ क्रान्ति र दिशा प्रदान गर्ने काम गर्‍यो । स्विजरल्यान्डमा अनुसन्धान गरिरहेका टिम बर्नर लीले एउटै सञ्जालमा रहेका सामग्रीहरुलाई विशिष्ट लिंक मार्फत जोडने महत्वपूर्ण काम गरे । 

यसप्रकारको शोध तथा अन्वेषणलाइ ठूलो फड्को मान्न सकिन्छ । अझ १९९० मा अर्पानेट र १९९५ मा एनएसएफनेटको विगठनले व्यवसायिक इन्टरनेट प्रयोगको लागि मार्ग प्रशस्त गरेको बुझिन्छ । ९० को दशकको मध्यसम्म आईपुग्दा सामाजिक, सांस्कृतिक तथा प्रविधिको क्षेत्रमा इन्टरनेटको विकासले ठूलो क्रान्तिकारी परिवर्तन ल्यायो । र दोस्रो शताब्दीको प्रारम्भिक वर्षहरुमै अकल्पनीय परिवर्तनहरु देखा परे । 

त्यसपश्चात ई–मेल, इन्स्ट्यान्ट म्यासेज, भीओआईपी, टेलिफोन कल, भिडियो कल, तथा डब्ल्यूडब्ल्यूडल्यूको माध्यमबाट सामाजिक सञ्जाल, अनलाइन खरिद बिक्रि, विभिन्न किसिमका ब्लग र शिक्षा शोध कार्यदेखि राजनीतिक बहसको रुपमा विश्व समुदायलाई एकै ठाउमा ल्याइदिएको छ । जसलाई हामि सञ्चार भूमण्डलीकरण पनि भन्न सक्छौं ।

सन् २००४ मा फेसबुक एप्लिकेसनले इन्टरनेटको आवश्यकता र महत्व सर्वसाधारणलाई अनुभुत समेत गरायो । युटुबको विकासले मनोरञ्जनको नयाँ आयाम विकसित गर्‍यो । गुगल, याहू जस्ता सर्च इञ्जिनले शिक्षा तथा अनुसन्धान  कार्र्यलाई सजिलो बनाइदिए । फेसबुक, इन्स्टाग्राम, ईमो, भाइबर, टिकटक, युटुब लगायत सामाजिक महत्वका एप्लिकेसनहरुको विकासले इन्टरनेटको पहुँच सर्वसाधारणसम्म पुर्‍याउन सहज बनायो ।

इन्टरनेटले कयौं अवस्थामा सामाजिक तथा राजनीतिक परिर्वतनमा समेतमा भूमिका खेलेको पाइन्छ । लण्डनको वाल स्ट्रीट आन्दोलन तथा त्यसको अन्तर्राष्ट्रियकरण हुनुमा सामाजिक सञ्जालको ठूलो भूमिका थियो । हाम्रो देशको सन्र्दभमा निर्मला हत्याकाण्डका विरुद्ध फेसबुक, ट्वीटर र युटुबले बृहत क्याम्पियन गरेर जनचेतना फैलाउने काम गरेको छ । जनतामाझ आफ्नो सम्बन्ध सुदृढ राखिरहन कैयौं नेताहरुले आधिकारिक वेब पेज बनाएर भावना तथा विचार व्यक्त गरिरहेको पनि देख्न सक्छौं । 

नेपालमा इन्टरनेट भित्र्याउने श्रेय मर्कन्टायल अफिस सिस्टमसलाई जान्छ । जसले मर्कन्टायल कम्यूनिकेसन प्रालि को नामबाट शुरु गरयो । १९९३ मा पहिलो पटक निःशूल्क सेवा दिएर यसको प्रयोग गरिएको थियो । सर्वसाधारणलाई इन्टरनेटको महत्वबोध गराउनु त्यसको उद्देश्य थियो । त्यतिबेला घरमा इन्टरनेट चलाउनु ठूलै प्रतिष्ठाको विषय हुन्थ्यो । किनभने यसमा सबैको पहुंच थिएन । शुरुवाती चरणमा अहिलेको जस्तो डीएसएल, एडीएसएल, एफटीटीएच र मोबाइल इन्टरनेट भन्ने नै थिएन । मात्र डायलअप सेवा थियो । जुन एकदमै सुस्त गतिको थियो । 

नेपालमा डायलअप सेवामार्फत ९.६ केबीपीएस गतिको इन्टरनेटको सेवा शुरु भएको हो । जुन ई–मेल आदान प्रदानको लागि मात्र हुन्थ्यो । शुरुमा एमओएसले नयां दिल्लीमा एउटा ई–मेल सर्भर होस्ट गरेको थियो । जहां सबै इमेलहरु जम्मा हुने गर्दथे र दिनमा दुई पटक आईएसडी कलको माध्यमबाट डायलअपको प्रयोग गरेर डाउनलोड गरी नेपाल भित्र्याउंथ्यो ।

पछि सिंगापुरको सिंगटेलबाट ४.८ केबीपीएसको लिज लाइन लिएपछि इन्टरनेटकोे सञ्जालससंग हामीहरु परिचित हुन पुग्यौं । लगत्तै अर्को भएसएनएलको लाईन मुम्बईबाट प्राप्त भयो । जुन ६४ केबीपीएसमा विस्तार भयो । त्यसपश्चात इन्टरनेटको विकासक्रमले नेपालमा तीव्र गति लिन शुरु गर्यो । 

आजको दिनसम्म आईपुग्दा नेपाल दूरसञ्चार प्राधिकरणमा ११७ ओटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु दर्ता भएका छन् । जसमा दुई ओटा जीएसएम सेलुलर, दुई ओटा आधारभूत दूरसञ्चार सेवाको नाममा छन् भने एउटा ग्रामीण दुरसञ्चार सेवाको नाममा दर्ता भएको छ । 

यसरी इन्टरनेटको सहज पहुंच आम मानिसमा विस्तार हुँदै गएको छ । यसको प्रभाव समाजका विभिन्न पहलुहरुमा बढ्दै गएको छ । जसका कारण इन्टरनेटको आवश्यकता अझै बढ्दै जाने निश्चित छ । यस हिसावले समय परिवर्तन संगै उच्च प्रविधिको प्रयोग मात्रै यस क्षेत्रमा सफल हुने निश्चित देखिन्छ । 

लेखक नेपालको इन्टरनेट सेवाको क्षेत्रमा कार्यरत छन्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१