close

बजार विस्तारमा आक्रामक टेलिकम, एकै वर्षमा २८ लाख नयाँ ग्राहक

टेकपाना टेकपाना

माघ १३, २०७६ १४:५२

बजार विस्तारमा आक्रामक टेलिकम, एकै वर्षमा २८ लाख नयाँ ग्राहक

पछिल्लो समय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम बजार विस्तारमा आक्रामक देखिएको छ । कम्पनीले पछिल्लो एक वर्षमा भ्वाइस तर्फ २७ लाख ६५ हजार तथा डेटा तर्फ २८ लाख ४० हजार पाँच सय ग्राहक बढाएको हो ।

जब कि निजी क्षेत्रको प्रतिस्प्रर्धी कम्पनी एनसेलले यस अवधिमा भ्वाइसतर्फ चार लाख ६७ हजार तथा डेटा तर्फ ६ लाख २९ हजार पाँच सय ग्राहक मात्र थप्न सकेको छ । गत वर्षको कात्तिक देखि यताको एक वर्षमा एनसेलले भ्वाइस सेवाको कूल बजार हिस्सामा १.५ प्रतिशत गुमाएको छ भने टेलिकमले ३.६ प्रतिशत बजार विस्तार गर्दै आफ्नो उपस्थिति ५५.६ प्रतिशत कायम गरेको छ ।

यस्तै डेटा तर्फ पनि एनसेल टेलिकमको तुलनामा पछाडि परेको छ । नेपाल टेलिकमको ग्राहकसंख्या पछिल्लो एक वर्षमा २८ लाख ४० हजार ५ सय ७४ ले बढेर ९० लाख ४६ हजार ९ सय १८ पुगेको छ । तर एनसेलले भने ६ लाख ६८ हजार ४ सय ८२ जना मात्र ग्राहक मात्रै बढाउन सकेको देखिन्छ ।

यद्यपी चौथो पुस्ताको फोरजी प्रविधिमा भने टेलिकम एनसेलभन्दा निकै पछाडि देखिएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार टेलिकमले फोरजी सेवामा भने अपेक्षित रुपमा ग्राहक बढाउन सकेको छैन । एनसेलले फोरजी सेवामा ३७ लाख १३ हजार ४३१ ग्राहक पुर्‍याउँदा टेलिकमले भने जम्मा ८ लाख ३९ हजार ५८० जना ग्राहक मात्रै बनाउन सकेको छ ।

दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार पछिल्ला केही वर्ष यता एनसेलको भ्वाइस टेलिफोन तथा डेटा दुबै तर्फको वृद्धि सुस्ताएको छ । कम्पनी बिक्रीसँगै सिर्जना भएको लाभकर विवाद र त्यससँगै भएका एनसेल सिम बहिस्कार अभियानले समेत एनसेलको बजारमा प्रभाव पारेको हुन सक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१