close

गंगालाल अस्पतालको ओपीडी टिकट प्रभु पेमा

टेकपाना टेकपाना

माघ १५, २०७६ १९:४७

गंगालाल अस्पतालको ओपीडी टिकट प्रभु पेमा

काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले झट्ट लामो लाइन बसेर टिकट काट्नुपर्ने झञ्जटलाई सम्झन्छन् । पछिल्लो समय सरकारी अस्पतालले त्यही झञ्जटबाट मुक्ति दिलाउन अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाइरहेका छन् ।

सिभिल अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर यस अघि नै अनलाइनमा गइसकेका छन् । अब गंगालला अस्पताल पनि त्यसमा जोडिएको छ ।

यससँगै गंगालल अस्पतालको ओपीडी टिकट लिन बिरामी तथा बिरामीका आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब बिरामी तथा बिरामीका आफन्तले घरमै बसेर अस्पतालको ओपीडी टिकट काट्न सक्नेछन् ।

प्रभु पेसँगको सहकार्यमा अस्पतालले अनलाइनबाटै ओपीडी टिकट काट्ने व्यवस्था गरेको हो । त्यसका लागि मेडिफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत आवश्यक प्रविधि तयार पारेको छ । मेडिफ्लोका सिओओ सुरेन्द्र न्यौपानेका अनुसार मेडिफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा सुरु गरेको छ ।

बिरामीको सहजताका लागि प्रविधिको प्रयोग मार्फत अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । ‘अस्पतालमा ओपीडीको टिकट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता कम हुदै जाने तथा मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने भएपछि बिरामीलाई सुविधा हुने आशा लिएका छौँ,’ उनले भने ।

अनलाइनबाट यसरी काट्नुहोस गंगालालको टिकट

गंगालाल अस्पतालको ओपीडी टिकट काट्नका लागि सेवाग्राहीले आफ्नो मोबाइलमा प्रभु पे मोबाइल वालेटको एप डाउनलोड गर्नुपर्ने हुन्छ । रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकमा रहेको रकम वालेटमा जम्मा गरी खर्च गर्न सकिन्छ । रकम लोड गरिसकेपछि एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुहोस्।

अब त्यहाँ तपाईंले शहिद गंगालाल अस्पताल (Sahid Gangalal Hospital) फेला पार्नुहुनेछ । त्यसमा क्लिक गरेपछि नयाँ वा पुरानो ओपीडी भन्ने विकल्प आउने छ र यसरी आफूले चाहेको टिकट छनौट गर्नुपर्ने हुन्छ ।

त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति समेत उल्लेख गर्नुहोस् । सँगसँगै बिरामीको विवरण समेत खुलाउनुहोस् । सबै विवरण भरिसकेपछि टिकट रकम तपाईंको प्रभु पे वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

अस्पतालले हाललाई जनरल ओपीडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको छ । यसका साथै अस्पतालले अस्पताल हातामा एटिएम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था मिलाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०