close

एनसेलको फ्रिक्वेन्सी होल्ड गर्दा राज्यलाई वार्षिक १ अर्ब नोक्सान

टेकपाना टेकपाना

माघ १९, २०७६ १४:१६

एनसेलको फ्रिक्वेन्सी होल्ड गर्दा राज्यलाई वार्षिक १ अर्ब नोक्सान

एनसेलले बोलकबोल मार्फत प्राप्त गरेको फ्रिक्वेन्सी होल्ड हुँदा सरकारलाई वार्षिक रुपमा एक अर्ब रुपैयाँ नोक्सान हुने देखिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले आइतबार संसदको सार्वजनिक लेखा समितिलाई राज्यलाई हुने नोक्सानीको विषय जानकारी गराएका हुन् ।

पूँजीगत लाभकर नतिरेको कारण देखाउँदै प्राधिकरणले बोलकबोल मार्फत पाएको फ्रिक्वेन्सी एनसेललाई प्रयोग गर्न दिएको छैन । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लाभकरको अन्यौलका कारण एनसेललाई फ्रिक्वेन्सी प्रयोग गर्न दिन नसकिएको बताए । 

अर्को तर्फ सरकार एनसेललाई लाभकर चुक्ता गर्न किस्ता सहुलियत दिन तयार देखिएको छ । आइतबार सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुंगानाले किस्ताको सुविधा दिन सकिने बताए । सचिव ढूंगानाका अनुसार एनसेलले तिर्नु पर्ने लाभकर चालू आर्थिक वर्षभित्र उठाइसक्नुपर्ने हुन्छ । 

एनसेललाई सरकारले ब्याजसहितको किस्ता सुविधा दिन तयार रहेको तर केही कानूनी विषयमा छलफल बाँकी रहेको उनको भनाई थियो । उक्त विषयमा दूरसञ्चार प्राधिकरणसँग छलफल गरी आवश्यक निर्णय लिइने सचिव ढुंगानाले बताए । सिमितका अधिकांश सांसदहरुले एनसेललाई जरिवाना सहित किस्ता सुविधा दिनुपर्ने मत व्यक्त गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०