close

कल्पनादेखि यथार्थसम्मको ‘अपार’ यात्रा

युजु खालिङ युजु खालिङ

माघ १९, २०७६ १६:१९

कल्पनादेखि यथार्थसम्मको ‘अपार’ यात्रा

तपाईं घर बनाउँदै हुुनुहुन्छ भने घर कस्तो बन्छ भन्ने कुराका लागि इन्जिनियरले बनाएको नक्सा हेरेर पक्कै पनि आफ्नो मस्तिष्कमा त्यसको आकार प्रकारको चित्र कोर्न थाल्नुहुन्छ । तपाईंसँग त्यसको अरु विकल्प पनि हुँदैन । जब घर बनिसक्छ, त्यसपछि मात्रै आफूले चाहे अनुसारको घर तयार भयो वा भएन भनेर गम खानुहुन्छ । आखिर जस्तो बनेको छ, त्यसैमा  चित्त बुझाउनुको विकल्प तपाईंसँग बाँकी रहँदैन । 

तर भीआर तथा एआर प्रविधिको सहयोगमा तपाईंले आफ्नो घर तयार हुँदा कस्तो देखिन्छ भन्ने कौतुहलता मेट्न पाउनुहुन्छ । आफ्नो जग्गामा भर्चुअल घर, जुन इन्जिनियरको नक्साको आधारमा थ्रिडी डिजाइनमा बनेको हुन्छ । त्यसलाई भीआर ग्लास लगाएर आफ्नै आखाँ अगाडि हरेक कोणबाट नियाल्न सक्नुहुन्छ । कोठा चोटा पस्न सक्नुहुन्छ । चित्त नबुझेको ठाउँमा सुधार गर्न सक्नुहुन्छ । यसरी घर नै नबनी थोरै खर्चमा निकट भविष्यमा बन्ने आफ्नो घर देख्न सक्नुहुन्छ । 

हो यस्तै सुविधाका लागि अपारको जन्म भएको हो । यस किसिमको सुवधा नेपालमै पहिलोपटक अपारले दिन थालेको छ । यस अलावा अपारले ठूला सरकारी भवन परियोजनामा पनि आफ्नो नवीन प्रविधिको प्रयोग गरिसकेको छ । काठमाडौं महानगरपालिकाले निर्माण गर्ने मेगा बिल्डिङको पनि थ्रीडी मोडल तयार गरिसकेको अपारका सीईओ धिरेन कार्की बताउँछन् ।  

घर-जग्गा क्षेत्रमा अपारले नयाँ एआर तथा भीआर प्रविधिको प्रयोग सुरु गर्नुको पछाडि एउटा रोचक प्रशंग छ । एक दिन धिरेन साथीहरुसँग बसन्तपुर दरबार स्क्वायर घुम्न निस्किएका थिए । धरहराको भग्नावशेषलाई नियाल्दै एक पर्यटकले धरहरा हेर्न नपाएकोमा दुखेसो पोखिरहेको उनले सुने । कम्प्युटर इन्जिनियरिङको विद्यार्थी भएकोले ती पर्यटकलाई ‘टाइम ट्राभल’ गराइदिन पाए हुने सोच उनको मनमा त्यतिखेरै पैदा भयो । 

त्यही सोचले अपारको रुपमा मूर्त रुप ग्रहण गरेको हो । अगमेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीको माध्यमबाट आज धिरेनले टाइम ट्राभल गराउने सपनालाई पुरा गरिरहेका छन् । उनीहरुको कम्पनी अपारले पर्यटकहरुलाई भत्किसकेको संरचनाको थ्रिडी मोडल तयार पारेर भीआर ग्लासको माध्यमबाट स्थलगत संरचनाको भर्चुअल भ्रमण गराउँछ । तीन महिना अघि अपारमा रुपान्तरण भएको उनको कम्पनी त्यस अघि ‘नेपएआर’ अर्थात् ‘नेपाल एआर’को नाममा थियो । 

धिरेन इन्जिनियरिङ अड्डा नामको आफ्नै ब्याजीहरुले स्थापना गरेको संस्थामा अनुसन्धान र विकासको काम गरिरहेका थिए । ‘त्यहाँ म लगायत साथीहरु रोबोटिक्स, एआर, भीआर र फ्रन्टियर प्रविधिमा काम गर्थ्यौँ,’ धिरेन सुनाउँछन् ।

भीआर र एआरमा भविष्य देखेपछि धिरेनले दर्पण पुडासैनी र दिवेशराज भट्टराईसँग मिलेर नेपएआरको स्थापना गरे । त्यसको एक वर्षपछि उनीहरुले एउटा भवन निर्माण सम्बन्धि एक्स्पोमा सहभागी हुने मौका पाए । त्यहाँ आफूले बनाएको नमूना पनि प्रदर्शनीमा राखे । केही आर्किटेक्टहरुसँग आफ्नो साेच सेयर गरे । त्यही एक्स्पोबाट सुरु भएको आर्किटेक्टहरुको संस्था क्रिएटिभ सर्कससँगको सहकार्य जारी छ । 

एआर तथा भीआर मनोरञ्जनको क्षेत्रमा मात्र प्रयोग गर्न सकिन्छ भन्ने साँघुरो सोच अझै व्याप्त छ । तर अपारले त्यसलाई चिरेर उत्पादनको क्षेत्रमा पनि यसको प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गरिरहेको छ । ड्रोन नेपालले अपारको सोचलाई साथ दिँदै आफ्नो भाडाको भवनमा छुट्टै स्थान उपलब्ध गरायो । अहिले पनि अपार त्यहीँबाट सञ्चालन भइरहेको छ । 

अपारमा हाल १० जना युवा जनशक्ति कार्यरत छन् । जसमा ६ जना प्राविधिक र ४ जना आर्किटेक्ट छन् ।अपारले अहिले भीआर तथा एआर प्रविधिलाई विशेषगरी आर्किटेक्ट, स्वास्थ्य सेवा, शिक्षा, पर्यटनको क्षेत्रमा प्रयोग गरेर सेवा दिइरहेको छ । 

‘तपाईं हाम्रो प्रविधिबाट जतासुकै घुम्न सक्नुहुन्छ । कुनै एउटा प्राकृतिक परिदृश्यको चारै तर्फको तस्विर हाम्रो पोर्टलमा लोड गरी भीआरको प्रविधिबाट घुमेर त्यहाँ पुगे जसरी तपाई हेर्न सक्नुहुन्छ,’ २४ वर्षीया धिरेन आफ्नो प्रविधि चिनाउँदै भन्छन् ।  

अहिले अपारले साधारण किसिमका एपमा समेत भीआर प्रविधि समावेश गर्नका लागि अपारको एन्ड्रोइड टिमले काम गरिरहेको छ । भविष्यमा आफ्नै भीआर ग्लास निर्माण गर्ने कम्पनीको योजना छ । 

अपारले अन्तराष्ट्र्रिय इकमर्श बजारसँग पनि सहकार्य थालेको छ । ईकमर्शमा लुगा कपडामा हुने ठगीलाई निरुपण गर्न अपारले एउटा व्याक्तिको शरिर अनुसारको थ्रीडी मोडल तयार गरी त्यसलाई कपडा लगाएर विभिन्न कोणबाट जाँचेर कपडा खरिद गर्न सकिने सुविधा दिन्छ । धिरेन भन्छन्, ‘हामीले काम गर्ने प्रविधि नै नयाँ छ । त्यसैले हाल हामी व्यवसायिक रुपमा जानु अघि तत्काल  बजारलाई यो प्रविधि चिनाउन र सचेतना अभिवृद्धि गराउने काममा लागिरहेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०