close

सीजी टेलिकमको लाइसेन्स खारेज

टेकपाना टेकपाना

माघ २१, २०७६ १६:१

सीजी टेलिकमको लाइसेन्स खारेज

चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेशनको लिमिटेड मोबिलिटी सेवाको अनुमतिपत्र खारेज भएको छ । कम्पनीले नवीकरण नगराएको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आइतबारदेखि नै लागु हुने गरी लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सीजीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले उल्लेख गरेको छ । ‘२०७६ को माघ १९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

कम्पनीको बागलुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लाका लागि छुट्टा छुट्टै रुपमा प्राप्त लाइसेन्स खारेज भएको छ । ती जिल्लाहरुमा लिमिटेड मोबिलिटी सेवा सञ्चालनका लागि कम्पनीले २०६६ मा प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेको थियो ।

तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालीले अनुदान परियोजनाको रुपमा दूरसञ्चार सेवा सञ्चालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पछि सीजीले खरीद गरेको थियो । कम्पनीको उक्त लाइसेन्स भने कायमै रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । लाइसेन्स कायम रहेको भए पनि कम्पनीसँग त्यसको सेवा र ग्राहक भने छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०