close

लाओससँगको विवाद सल्टियो, खुल्यो नेपालको आफ्नै स्याटेलाइटको बाटो

रन्जन कोइराला रन्जन कोइराला

माघ २२, २०७६ १५:५२

लाओससँगको विवाद सल्टियो, खुल्यो नेपालको आफ्नै स्याटेलाइटको बाटो

काठमाडौं । नेपालको आफ्नै स्याटालाइट राख्ने विषयमा लाओससँग देखिएको बिवाद टुङ्गिएको छ । लाओसले नेपालको स्याटालाइटलाई कुनै असर नपर्ने गरी प्रोटेक्सन लेवल तयार गर्न सहमत भएको नेपाल दूरसञ्चार प्राधिरकणले जनाएको छ ।

प्राधिकरणका निर्देशक विजयकुमार रोयले गत साउनमा लाओससँग भएको दुई पक्षीय छलफलको नतिजा अहिले आएको जानकारी दिए । यससँगै अब अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आईटीयू) नेपालका लागि छुट्याएको स्थानमा बिना कुनै रोकावट स्याटेलाइट राख्ने बाटो खुलेको हो ।

यसअघि स्याटेलाइट राख्ने स्थान (अर्बिटल स्लट) को विषयलाई लिएर नेपाल र लाओसबीच विवाद उत्पन्न भएको थियो । नेपालले आफ्नै स्याटेलाइट राख्ने भन्दै फ्रान्सको थालस एलेनिया स्पेस नामक कम्पनीसँग गत फागुनमै समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि स्याटेलाइट राख्न अन्तरिक्षमा नेपालले पाएको अर्बिटल स्लटमा दुई देशबीच विवाद देखिए पछि अन्यौलता उत्पन्न भएको थियो ।

लाओससँगको अर्बिटल स्लटको विवाद समाधान नहुँदा नेपालको आफ्नै स्याटेलाइट राख्ने योजना पर धकेलिँदै आएको थियो । लाओसको स्लट र नेपाललाई आईटीयुले उपलब्ध गराएको स्लट एकअर्कासँग निकै नजिक छन् । सन् १९८४ मै आईटीयूले नेपालका लागि पूर्वी देशान्तरमा दुईओटा पोजिसनका स्लट उपलब्ध गराएको थियो । जसमा १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्डअन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्ड उपलब्ध गराएको छ ।

अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डमा रहेको छ । त्यही स्लट नजिकै लाओसको समेत स्लट रहेको छ । यस्तो अवस्थामा केही प्राविधिक विषय तथा प्यारामिटर मिलाउनुपर्ने हुन्छ । त्यसआधारमा स्याटेलाइटले समेट्ने क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ ।

अन्यथा नेपालले राख्न लागेको स्याटेलाइटमा असर पर्ने बताइँदै आएको थियो । त्यसका लागि लाओससँगको समन्वय आवश्यक थियो । त्यसैले प्राधिकरणको टोली गत साउनमा लाओस छलफलका लागि गएको थियो । सोही छलफलको नतिजा अहिले प्राप्त भएको प्राधिकरणले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०