close

लैंगिक असमानता हटाउन प्रदेश २ मा ‘गर्ल्स इन टेक’

टेकपाना टेकपाना

माघ २३, २०७६ १४:३४

लैंगिक असमानता हटाउन प्रदेश २ मा ‘गर्ल्स इन टेक’

काठमाडौं । प्रविधि क्षेत्रमा रहेको लैंगिक असमानतालाई हटाउन प्रदेश नं २ मा गर्ल्स इन टेक (प्रविधिमा किशोरी) परियोजना सुरु भइको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादव, र डीएफआईडी नेपालकी प्रमुख लिजा होनानले जनकपुरमा आयोजित कार्यक्रमका बिच युक्त रूपमा उक्त परियोजनाको सुरुवात गरेका छन् ।

युकेएडको रोजगारीका लागि सीप कार्यक्रम अन्तर्गत जेनेस क्लाउड एकेडेमी, फ्युजमेसिन्स नेपाल र गर्ल्स इन टेक–नेपालको संयुक्त सहकार्यमा परियोजनाको थालनी भएको हो । प्रविधि क्षेत्रमा रहेको लैंगिक भेदभाव अन्त्य गर्ने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु परियोजनाको उद्देश्य रहेको उल्लेख गरिएको छ ।

परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीमका साथ साधन तथा प्रमाणीकरण उपलब्ध गराउने छ । त्यसका अतिरिक्त उनिहरुलाई व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रमशक्तिमा पहुँच हुने सुनिश्चित वातावरण निर्माण गर्ने जनाइएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरुप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले त्यसमा मद्धत पुर्‍याउने बताए ।

उक्त अवसरमा युकेएड सीपका टिम लिडर बलजीत बोहराले आर्थिक तथा सामाजिक रूपमा कमजोर पृष्ठभूमिका १० जना किशोरीलाई क्लाउड कम्प्युटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स प्रशिक्षणका लागि छात्रवृत्तिको घोषणा गरेका छन् ।

साथै, उक्त कार्यक्रममा जनकपुरमा अवस्थित जानकि बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत तथा नेपालकै सबैभन्दा कान्छि सफ्टवेयर प्रोग्रामर मध्येकी एक ज्योती सिंहलाई पहिलो छात्रवृत्ति प्रदान गरिएको छ । भने, अन्य नौ सीटका लागि आवेदन खुला गरिएको छ ।

‘गर्ल्स इन टेक’ संसारभर फैलिएको एक गैर नाफामूलक संस्था हो । संस्थामा ३६ देशमा एक लाखभन्दा बढी सदस्य रहेका छन् । यसको नेपाल शाखा सन् २०१९ नोभेम्बरदेखि शुरू भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०