close

नेपालमा माइक्रोसफ्टको क्लाउड सेवा दिँदै एनसेल

टेकपाना टेकपाना

माघ २५, २०७६ ११:२६

नेपालमा माइक्रोसफ्टको क्लाउड सेवा दिँदै एनसेल

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनीको रुपमा स्थापित माइक्रोसफ्टको क्लाउड सेवा उपलब्ध गराउने भएको छ । यस क्षेत्रका लागि आजियाटा माइक्रोसफ्टको क्षेत्रीय साझेदार भएकै कारण उसले नेपालमा एनसेल मार्फत आफ्नो क्लाउड सेवा बिक्री गर्ने भएको हो ।

नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवा प्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको माइक्रोसफ्टका दक्षीण एसियाका चिफ पार्टनर अफिसर आन्ह फामले जानकारी दिए । यसको अर्थ विश्वव्यापी रुपमा माइक्रोसफ्टले प्रदान गरिरहेका सञ्चार, सहकार्य, सुरक्षा, ईआरपी, एआई, डेटा आदि प्राविधिक सेवाहरु एनसेलले नेपालमा दिनसक्ने छ ।

‘हामी डिजिटल प्रविधिलाई यस धर्तीमा रहेका हरेक व्यक्तिहरु समक्ष कसरी पुर्‍याउन सकिन्छ भन्ने हिसावले काम गरिरहेका छौँ । यसको मतलव विकसित, विकासशील र अल्प विकसित सबै देशहरु, विद्यार्थी, साना उद्यमी, लगायत जो कसैले चाहेमा त्यो प्रविधि प्रयोग गर्न पाउनुपर्छ भन्ने हो,’ फाम भन्छन् ।

सबै कम्पनीहरु क्लाउडमा गइरहेको अवस्थामा एनसेलले सरकारी निकाय सहित, स्टार्टप र अन्य कम्पनीहरुका लागि आफ्नो क्लाउड सर्भिस उपलब्ध गराउनेछ । भ्वाइस र मोबाइल डेटा प्रयोग गरिरहेका ठूलो संख्यामा रहेका ग्राहकहरुमा पुग्न एनसेलको नेटवर्क प्रयोग गर्न लागिएको माइक्रोसफ्ट नेपालका दीपेन्द्र बज्राचार्य बताउँछन् । एनसेल माइक्रोसफ्टका लागि नेपालको टेलिकम क्षेत्रको पहिलो साझेदार कम्पनी बनेको छ । यद्यपी, नेपाल टेलिकमसँग समेत सहकार्यका लागि आफूहरु खुला रहेको बज्राचार्यको भनाई छ ।

तत्कालका लागि साना तथा मझौला उद्यम, व्यवसायहरुलाई क्लाउड सेवा दिने तयारी गरेको माइक्रोसफ्टले निकट भविष्यमा सर्वसाधारणका लागि समेत उक्त सेवा उपलब्ध गराउने योजना बनाएको छ ।
व्यापारिक तहका ग्राहकका लागि प्रयोगमा आउने क्लाउड सेवाका लागि भुक्तानीको समस्या नहुने फामको भनाई छ । तर, सर्वसाधारण ग्राहका लागि भने अनलाइनबाट सोझै माइक्रोसफ्ट लगायतका अन्तरराष्ट्रिय सफ्टवेयर कम्पनीलाई भुक्तानी गर्ने सहज विकल्प भने अझै तयार भइसकेको छैन ।

एनसेलले नेपालकै ठूलो डाटा सेन्टर निर्माण गरिरहेको छ । तर, माइक्रोसफ्टले आफ्ना सेवाका लागि उक्त डाटा सेन्टर भने प्रयोग नगरिने स्पष्ट पारेको छ । यद्यपी एनसेलको डाटा सेन्टरमा माइक्रोसफ्टको क्लाउड पावर, एआई, बीआई, मसिन लर्निङ, सेक्युरिटी लगायतका प्रविधि भने प्रयोग गर्न सकिनेछ ।

माइक्रोसफ्टले विश्वव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्न विभिन्न स्थानीय साझेदारहरु तयार गर्दै आइरहेको छ । सर्भिस, सोलुसन, टेलिकम, आईएसभी (इन्डिपेन्डेन्ट सफ्टवेयर भेण्डर अर्थात डेभलपर), समुदाय, सरकार र गैरसरकारी संस्था सबै माइक्रोसफ्टको साझेदार बन्न सक्छन् ।

१२ वर्षदेखि नेपालमा उपस्थिति जनाइरहेको माइक्रोसफ्टका हाल पाँच दर्जनभन्दा बढी स्थानीय साझेदारहरु रहेका छन् । यद्यपी आफूहरु साझेदारको संख्यामा भन्दा गुणस्तरमा जोड दिइरहेको फामको भनाई छ । ‘ता कि उनीहरुले ईको-सिस्टम विकासका लागि काम गर्न सकून र हाम्रा सेवाहरुलाई भ्याल्यु एड गरेर दिऊन् भन्ने हाम्रो मनसाय हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०