close

सम्पर्क नम्बर सहित सबै आपतकालिन सेवा आफू मातहत ल्याउँँदै नेपाल प्रहरी

युजु खालिङ युजु खालिङ

माघ २६, २०७६ १०:१९

सम्पर्क नम्बर सहित सबै आपतकालिन सेवा आफू मातहत ल्याउँँदै नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरी, दमकल र एम्बुलेन्स जस्ता आपतकालिन सेवा एकै छानामुनी ल्याइने भएको छ । नेपाल प्रहरीको अग्रसरतामा तीन छुट्टा छुट्टै सर्ट कोड नम्बर मार्फत फरक फरक स्थानबाट दिइँदै आएको आपतकालिन सेवा एकीकृत गरिने भएको हो । 

इन्टरनशनल टेलिकम्युनिकेसन युनियन आईटीयुले यस्ता सेवाका लागि एउटै नम्बरको व्यवस्था गरेको छ । सोही अनुरुप सेवा एकीकृत गर्ने उसले नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत बारम्बार निर्देशन जारी गर्दै आएको छ । 

आईटीयूको निर्देशनकै आधारमा प्राधिकरणले यी सेवाहरुका लागि एउटै नम्बरको व्यवस्था गर्ने तयारी भने अगाडि बढाइसकेको छ । प्राधिकरणले यसलाई अघि बढाउन नेपाल प्रहरीसँग सहकार्य गरिरहेको छ ।  

नेपाल प्रहरीले एकीकृत नम्बर योजनालाई बहुवर्षिय परियोजनाको रुपमा अगाडि बढाउने योजना बनाएको छ । यसका लागि ६ महिना अघि प्राधिकरण र प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयसँग सम्झौता भइसकेको छ । निर्देशनालयले उक्त सम्झौतापत्रमा केही सुधार गर्दै सहमतिका लागि पुनः प्राधिकरणमा अर्को पत्र पठाएको छ । तर प्राधिकरणले भने त्यस विषयमा निर्णय गर्न भने बाँकी छ ।

प्राधिकरणको सहमतिसँगै आगामी वर्षदेखि यो योजनालाई कार्यन्वयनमा लैजाने नेपाल प्रहरीको योजना छ । एकीकृत नम्बरमा हाल प्रहरीका लागि प्रयोग हुँदै आएको १०० नम्बर नै प्रयोग गर्नुपर्ने प्रस्ताव प्राधिकरण समक्ष राखिएको सञ्चार निर्देशनालयका प्रमुख डीआईजी डा. राजिव सुब्बा बताउँछन् । 

उनका अनुसार तीनओटा आपतलिन सेवाका लागि नम्बरमात्र होइन सेवा एकै ठाउँमा ल्याउने योजना प्रहरीले बनाएको छ । ‘पाकिस्तानमा आपतकालिन सेवाका तिनै ओटा संस्थालाई एउटै भवनमा राखेर सञ्चालन गर्ने गरिएको छ । भारतको उत्तर प्रदेशमा पनि आपतकालिन सेवा प्रहरीको मातहतमा छ,’ उनी भन्छन्, ‘यस किसिमको व्यवस्थापनले आपतकालिन सेवाबीच समन्वय हुने र प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने देखिन्छ ।’

नेपालमा समेत त्यस्तै किसिमले आपतकालिन सेवा एकीकृत गराउने प्रस्ताव नेपाल प्रहरीले प्राधिकरणमा पठाएको छ । हाल यी सेवा विभिन्न संस्थाबाट बिकेन्द्रीत रुपमा सञ्चालन भइरहेकाले एकैपटक एकीकृत गर्न चुनौतिपुर्ण हुने सुब्बा बताउँछन् । 

‘प्राधिकरणसँग एमओयू भएर बजेटको व्यवस्था भएमा तीन चरणमा आपतकालिन सेवालाई एकीकृत गरेर लैजाने हाम्रो योजना छ,’ उनी भन्छन्, ‘यो परियोजना परीक्षणको पोखराबाट सुरु गर्ने कुरा छ ।’

पहिलो चरणमा सबै सेवाको नम्बरलाई एउटै बनाइँदैछ । यस अन्तर्गत एउटा आईभीआर सफ्टवेयर प्रविधि प्रयोग हुनेछ, जसको व्यवस्था प्राधिकरणले नै गर्नेछ । उक्त सफ्टवेयरले विभिन्न सेवाको एक्टेन्सन उपलब्ध गराउँछ र एक्टेन्सन मार्फत ती सेवाका लागि सम्पर्क गर्न सकिनेछ । 

अर्को चरणमा भने सबै सेवालाई नै एउटै छानामूनी एकिकृत गरिनेछ । फरक सेवाहरु एउटै छाना मुनी आउँदा समन्वय गरी प्रहरीले नै प्रभावकारीरुपमा परिचालन गर्नेछ । हाल एम्बुलेन्स सेवा लिएवापत सर्वसाधारणले तिर्दै आएको दुई हजार रुपैयाँ पनि एकीकृत प्रणालीमा गईसकेपछि तिर्नु नपर्ने डीआईजी सुब्बा बताउँछन् । 

अहिले प्रहरी र एम्बुलेन्सबीच कुराकानी गर्नुपरेमा फोनसम्पर्कबाटै हुने गरेको छ । सेवा एकीकृत भएको अवस्थामा रेडियो प्रविधि मार्फत नै समन्वय गर्ने प्रहरीको योजना छ ।  ‘यसमा ट्राफिक प्रहरीलाई पनि जोड्ने योजना छ । जस्तै कुनै एम्बुलेन्स नयाँ बानेश्वरदेखि महाराजगञ्ज जाँदै छ भने ट्राफिकलाई त्यो एम्बुलेन्स आउँदैछ भनेर पूर्व जानकारी हन्छ । प्रविधिका आधारमा बाटो खुलाएर सेवा व्यवस्थापन गर्न सकिने हुँदा अहिलेभन्दा निकै सहज र प्रभावकारी हुनेछ,’ सुब्बा भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०