close

नेपालमा माइक्रोसफ्टका सेवा एनसेलले दिने

टेकपाना टेकपाना

माघ २९, २०७६ ११:२२

नेपालमा माइक्रोसफ्टका सेवा एनसेलले दिने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स अन्तर्गतको क्लाउड सर्भिस, अनलाइन मिटिङ टूल लगायतका सेवा उपलब्ध गराउने भएको छ । नेपाली कम्पनीहरुलाई त्यस किसिमको सेवा दिन कम्पनीले माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको हो ।

गत हप्तामात्रै टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि एनसेल र माइक्रोसफ्ट बीच सम्झौता भएको थियो । सम्झौता अनुसार एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टि फाइभ, एजुर र टिम्स उपलब्ध गराउने छ ।

अफिस थ्रिसिक्स्टि फाइभ क्लाउडमा आधारित एक किसिमको सेवा हो, जसको प्रयोगबाट काममा प्रभावकारीता थप्नुका साथै र कार्यालयको उत्पादकत्व अभिबृद्धिका लागि प्रभावकारी रहने कम्पनीले जनाएको छ ।

त्यतिमात्रै नभएर त्यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजना बनाई प्रशासनिक कामहरुमा लाग्ने सयम घटा चुस्त रुपमा कार्य सम्पन्न गर्न मद्धत समेत गर्छ ।

त्यसैगरी माइक्रोसफ्ट एजुर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरमार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, परीक्षण गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफूलाई मनपर्ने उपकरण र फ्रेमवर्क प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्नेछन् ।

त्यस्तै कार्यालयभित्र एकीकृत सञ्चार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नवीन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यालयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एप्लिकेसन इन्टिग्रेसन जस्ता विशेषता माइक्रोसफ्ट टिममा रहेको छ । यसले कार्यालयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ ।

सम्झौताको क्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले सहकार्य गर्ने प्रद्धति व्यापकरुपमा परिवर्तन भईरहेको बताए । ‘आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यालय भवनमा मात्र सिमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ,’ उनले भने, ‘एनसेल र माइक्रोसफ्टले तीब्र रुपमा विकास भइरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरुका लागि एक रणनीतिक बजार हो ।’

नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवा प्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको दक्षिण एसियाका लागि माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्ह फामको भनाई छ । ‘शुरुवातको चरणमा क्लाउड सेवा साना तथा मझौला उद्यम, व्यवसाय लगायतका क्लाइन्टहाई दिने छौं,’ उनले भने, ‘यो सहकार्यले नेपालको डिजिटल ईकोसिस्टम विकासमा योगदान पुर्‍याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमा पाउँनेछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१