close

ल्याण्डलाइन नम्बर १० अंकको बनाउने योजना यसकारण रोकिएको थियो

टेकपाना टेकपाना

फागुन ३, २०७६ १५:२१

ल्याण्डलाइन नम्बर १० अंकको बनाउने योजना यसकारण रोकिएको थियो

काठमाडौं । कुनै समय नेपाल दूरसञ्चार प्राधिकरण सबै टेलिफोन सेवालाई १० अंकको बनाउने तयारिमा थियो । मोबाइलको नम्बर १० अंककै थियो । नेपाल टेलिकमको ल्याण्डलाइन, यूटीएल, भिस्याट लगायतको नम्बर पनि १० अंककै बनाउने योजना प्राधिकरणले अघि सारेको थियो । यो सन् २०१३ काे कुरा हाे ।

अन्तर्राष्ट्रिय दूूरसञ्चार यूनियन (आईटीयू)को स्ट्याण्डर्ड अनुसार सेलुलर सिम तथा फिक्स्डलाइनको पनि अंकको संख्या एउटै बनाउने प्राधिकरणले योजना थियो । अहिले काठमाडौंको ल्याण्डलाइन नम्बर ‘०१’ बाट सुरुहुन्छ । तर, प्राधिकरणले ल्याण्ड लाइनको नम्बर ‘२०’ बाट सुरु गर्ने योजनामा थियो ।

‘२०’ सिस्टम कोड अनी त्यसपछिको दुई वटा अकं ‘एरिया कोड’ र बाँकी ६ वटा नम्बर (काठमाडौं भन्दा बाहिर एरिया कोड तीन अंकको र पाँच अंकको अन्य नम्बर) गरी कुल १० अकंकको ल्याण्ड लाइन नम्बर बनाउने योजना थियो ।

तर, परियोजना अघि बढ्न सकेन । प्रयोगकर्ताको संख्या निरन्तर ओर्‍हालो लाग्नु नै त्यसको मूख्य कारण थियो। ‘मोबाइल सिमको तुलनामा फिक्स्ड ल्याण्डलाइन प्रयोगकर्ताको संख्या निरन्तर घटिरहेका थियो’, प्राधिकरणको राष्ट्रिय नम्बरिङ शाखाका इन्जिनियर विनोदचन्द्र श्रेष्ठ भन्छन्, ‘फिक्स्डलाइनको आठ ओटा नम्बरमा डिजिट बढाउँदा सेवाप्रदायकमाथि अनावश्यक भार पर्ने भएपछि परियोजना नै रोकियो ।’

हाल रहेको ८ अंकलाई बढाएर १० अंकको बनाउँदा सिस्टममा सुधार गर्नुपर्छ । त्यसो गर्दा मेमोरीको आकार बढाउनुपर्ने र लगानी समेत थपिने भयो । ‘त्यसैले सेवाप्रदायक त्यसमा सहमत भएनन्, श्रेष्ठ भन्छन, ‘त्यसैले यो परियोजना हाललाई प्राधिकरणले रोकेको छ ।’

अर्कोतर्फ अहिले नै नम्बर संख्या बढाउँदा प्रयोगकर्तामा झन्झट हुने तथा बढेको संख्याको प्रयोग हुने ठाउँ समेत भएन। त्यसैले अपरेटर लिड नम्बर व्यवस्थापन गरि अपरेटर कोड थपेर नम्बरको संख्या बढाउने काम मात्रै भएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१