close

‘क्यान’ नै डिजिटल नेपाल चाहँदैन : मन्त्री बास्कोटा

टेकपाना टेकपाना

फागुन २, २०७६ १७:३९

‘क्यान’ नै डिजिटल नेपाल चाहँदैन : मन्त्री बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले नै डिजिटल नेपाल नचाहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको क्यान इन्फोटक २०७६ को उद्घाटन गर्दै मन्त्री बास्कोटाले आयोजकलाई नै यस्तो झटारो हानेका हुन् ।

प्रविधिको पहुँच, प्रविधिको हस्तान्तरण र प्रविधिले असमानताको खाडल पुर्ने नारा दिए पनि क्यानले नै सूचना प्रविधि विधेयकमा असहयोग गरेको मन्त्री बास्कोटाको भनाई थियो । विधेयक हाल संसदमा छलफलको क्रममा रहेको छ । ‘डिजिटल अर्थतन्त्रको कुरा गर्ने अनि त्यसलाई नियमन गर्न विद्येयक चै आवश्यक नपर्ने ?,’ मेलाको आयोजक संस्था क्यान प्रति प्रश्न गर्दै उनले भने, ‘कस्तो हो यो अलि बुझिएन । यहाँ त कानून अधिनायकवादी भयो भन्ने गुनासो आएको छ । होला यसमा कतिपय दण्ड जरिवानाका विषय छन् । घेरै भएको खण्डमा त्यसलाई कम गरेर अघि बढ्न सकिन्थ्यो । तर, भएन व्यवसायीहरु नै यसको विरुद्धमा उत्रिएका छन् । क्यान आफै ज्ञापन पत्र लिएर आएको छ । यसरी डिजिटल नेपाल सम्भव छैन ।’

निजी क्षेत्रसँग सहकार्य नभएको आरोपको समेत मन्त्री बास्कोटाले जवाफ दिएका छन् । उनले भने, ‘केमा भएन सहकार्य ? हामीले देशभर फाइबर विस्तार गरिरहेका छौं । त्यसमा सरकारले नै पैसा लगानी गरेर निजी क्षेत्रलाई सहभागी गराएको छ । वर्ल्डलिंकले कर्णाली प्रदेशमा पुगेर सेवा विस्तार गर्‍यो । सुविसुले तराईमा काम सम्पन्न गरेको छ । भनेपछि निजि क्षेत्रसँगको सहकार्य नगरेको हो त ?’

नेशनल नलेज पार्कको लागि रेडियो नेपालको एक सय १८ रोपनी जग्गा दिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै मन्त्री बास्कोटाले अब त्यसमा निर्माण गर्नुपर्ने प्रदर्शनी स्थलदेखिका संरचनाको डिजाइन दिन निजी क्षेत्रलाई आग्रह गरे । ‘त्यसलाई कसरी इन्नोभेटीभ बनाउने, कसरी रोजगारीको अवसर सिर्जना गर्ने र त्यहाँ कस्ता कस्ता कम्पनी चलाउने भन्ने विषयमा लौ त निजि क्षेत्रबाट आओस् ।’

सरकारले ऋण लिएर भए पनि भवन बनाउने मन्त्री बास्कोटाको भनाई थियो । तर, त्यसलाई सञ्चालन गर्न सरकाले नसक्ने भन्दै उनले त्यसमा निजी क्षेत्रको योजनाको अपेक्षा व्यक्त गरे । ‘निजी क्षेत्रको पाइन हेर्नै पर्ने भएको छ । लु आउनुस्, हेर्छौं निजि क्षत्रेको पनि तुक कति रहेछ । लु सरकार र निजी क्षेत्रको लगानीमा काम गरौं । सक्नुहुन्छ ? आउनुस् । सञ्चालन तपाईंहरु नै गर्नुस् । सरकाले त्यसको निगरानी गर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१