close

मोबाइल सेवाको गुणस्तरमा टेलिकम आंशिक सफल, एनसेल र स्मार्ट असफल

टेकपाना टेकपाना

फागुन २, २०७६ १८:५४

मोबाइल सेवाको गुणस्तरमा टेलिकम आंशिक सफल, एनसेल र स्मार्ट असफल

काठमाडौं । मोबाइल सेवाको गुणस्तर मापदण्ड पुरा गर्न सबै टेलिकम कम्पनी असफल भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षणमा टेलिफोन सेवा प्रदायक कम्पनीहरू असफल देखिएका हुन् ।

प्राधिकरणले झापाको दमक नगरपालिका र इलामको इलाम नगरपालिकामा विभिन्न सेवाप्रदायकको मोबाइल कलको गुणस्तर परीक्षण गरेको थियो । दुई स्थानमा गरिएको गुणस्तर परीक्षणमा सबै कम्पनी तोकिएको मापदण्ड पूरा गर्न असफल भएको हुन् ।

प्राधिकरणका अनुसार गत पुस महिनाको अन्तिम साता पूर्वी क्षेत्रमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नेटवर्कको गुणस्तर परीक्षण गरिएको थियो । ड्राइभ टेस्टमार्फत गरिएको उक्त परीक्षणमा गुणस्तरीय सेवा प्रदान गर्न सबै कम्पनी अफल भएका छन् ।

यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तर मापन एकै साथ गरिन्छ । हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध गराएको नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिने प्राधिकरणका इन्जिनियर बिनोदच्रन्द श्रेष्ठ बताउँछन् । ड्राइभ टेस्टअनुसार सबैभन्दा खराब मोबाइल फोन सेवा स्मार्ट र एनसेलको देखिएको छ ।


कल स्थापना हुन लाग्ने समय र सफलताको दर दुबैमा तीनै कम्पनी मापदण्ड पुरा गर्न असफल देखिएका छन् । तर, आफै फोनकल विच्छेद हुने दरमा भने स्मार्ट र एनसेल असफल भएका छन् । यसमा नेपाल टेलिकमले मापदण्ड पुरा गरेको छ ।

निर्धारित मापदण्ड अनुसार कल स्थापना हुन लाग्ने समय ५ सेकेण्ड वा त्यो भन्दा कम हुनुपर्छ । तर स्मार्टको ८.०२ सेकेन्ड र एनसेलको ६.४५ सेकेन्ड देखिएको छ भने टेलिकमको ९.३६ सेकेण्ड रहेको छ ।


त्यस्तै फोनकल स्थापना हुने दर ९९ प्रतिशत वा त्योभन्दा बढी हुने पर्नेमा स्मार्टको ९४ प्रतिशत, एनसेलको ९६.९७ प्रतिशत र टेलिकमको ९७ प्रतिशत छ । आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने नेपाल टेलिकम सफल भएको छ । झापामा भएको परीक्षणमा आफै फोनकल बिच्छेद हुने दरमा एनसेलको २.०८ र स्मार्टको २.१३ अंक रहेको छ भने नेपाल टेलिकमको १.०३ छ । यसका लागि २ प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड छ।

त्यस्तै इलाममा भएको परीक्षणमा पनि त्यस्तै नतिजा दोहोरिएको छ । माघको पहिलो साता इलाममा भएको परीक्षणमा एनसेल र नेपाल टेलिकमको नेटवर्कमात्रै समेटिएको थियो । यसमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा दुबै कम्पनी असफल भएका छन् । तर, आफै फोनकल विच्छेद हुने दरमा नेपाल टेलिकमले मापदण्ड पुरा गरेको छ ।

कल स्थापना हुन लाग्ने समय एनसेलको ७.५८ र नेपाल टेलिकमको ९.५७ सेकेण्ड रहेको छ । त्यस्तै फोनकल स्थापना हुने दर ९९ प्रतिशत वा त्योभन्दा बढी हुने पर्नेमा एनसेलको ८१.२५ प्रतिशत र नेपाल टेलिकमको ९८.९४ प्रतिशत रहेको छ ।

आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा इलाममा पनि नेपाल टेलिकम सफल भएको छ । त्यसमा एनसेलको ८.९७ रहेको छ भने नेपाल टेलिकमको १.०८ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१