close

यस्ता छन् क्यान इन्फोटेकका अफर

टेकपाना टेकपाना

फागुन ४, २०७६ १७:४१

यस्ता छन् क्यान इन्फोटेकका अफर

काठमाडौं । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेकमा अवलोकनकर्ताहरुको मुख्य आकर्षणमा अफरसहितका स्टलहरु देखिएको छ । मेलाको अवसरमा विभिन्न प्रविधिमुलक कम्पनी, संघसंस्थाहरुले सेवा लिन चाहनेहरुका लागि विशेष छूट र अफर ल्याएका छन् ।

अवलोकनकर्ताहरु पनि अफर र छूट भएका स्टलहरुमा झुम्मिएको देखिन्थ्यो । शुक्रबारदेखि सुरु भएको उक्त मेलामा विभिन्न इन्टरनेट सेवाप्रदायक, एसेसरिज, सफ्टवेयर निर्माता लगायतका कम्पनीहरुले ग्राहकहरुका लागि छूट तथा अफरहरु दिइरहेका छन् ।

मेलामा स्टल राखेको एनसेलले १ रुपैयाँमै सिम उपलब्ध हुने अफर उपलब्ध गराएको छ । उक्त अफरसहितको सिममा ग्राहककले १० मिनेको निःशुल्क टक टाइम र १० वटा एसएमएस निःशुल्क प्राप्त गर्नुका साथै ३ दिनको लागि २ जीबी डाटा निःशुल्क पाउँछन् ।

एनसेलले आफ्नो स्टलबाट रिजार्च कार्ड खरिद गर्ने ग्राहकहरुका लागि समेत सोही अनुसारको छूट सेवा उपलब्ध गराएको छ । यस्तै मेलामा इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुबिसु, भायनेट लगायतका कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन । छूट सुविधा सहितका ती प्याकेजहरुमा ग्राहकहरुले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्छन् ।

छुट्टै पेभेलियनमा राखिएका मोबाईल, एसेसरिज लगायतका स्टलमा समेत अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छूट तथा अफरहरु उपलब्ध गराइएको छ । विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छूटसमेत दिइरहेका छन् । छूट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एसेसरिजमा अवलोकनकर्ताको बढी भिड लाग्ने गरेको आयोजक क्यान एशोसिएसनका केन्द्रीय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए ।

यस्तै मेलामा आउने अवलोकनकर्ताहरु साईबर सेक्युरिटीको बारेमा जानकार भए नभएको अनुसन्धान गर्ने उद्देश्यले सर्भे गर्न थालिएको छ । आइतबार दिउँसोसम्म उक्त सर्भेका लागि करिब १ हजाभन्दा बढी अवलोकनकर्ताहरुले फारम भरेका छन् ।

बुधबारसम्म चल्ने मेलामा नेपालको नवीनतम सोच (ईन्नोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको छ । ईन्नोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ । मेलामा १ सय ७४ ओटा स्टल रहेका छन् ।

मेलामा ईन्नोभेसन र स्टार्टअप क्षेत्रका स्टलमा विभिन्न एप्स, सफ्टवेयर, स्कुल म्यानेजिङ एप्स तथा सफ्टवेयरहरु प्रदर्शनीमा राखिएको छ । यस्तै मेलामा राखिएका राबोट सो, गेमिङ जोन लगायतले मेला थप आकर्षक बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१