close

अब खल्ती एपबाटै मनी ट्रान्सफर

टेकपाना टेकपाना

फागुन ५, २०७६ १७:५१

अब खल्ती एपबाटै मनी ट्रान्सफर

काठमाडौं । खल्ती डिजिटल वालेटले एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने भएका छ । भाटभटेनी ग्रुपद्धारा सञ्चालित भाटभटेनी मनी ट्रान्सफरसँगको सहकार्यमा खल्तीले मनी ट्रान्सफर सेवा दिने भएको हो ।

दुई कम्पनीबीच सहकार्यका लागि सम्झौता भएको छ । जसमा भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्की र खल्तीका निर्देशक अमीत अग्रवालले हस्ताक्षर गरका छन् ।

सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभर रहेका २५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिने छ । योसँगै खल्तीले एपमा ‘रेमिट्यान्स’ नामक नयाँ आइकन थप गरेको छ ।

उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई सजिलै रकम पठाउन सक्नेछन् । यसरी पैसा पठाइसकेपछि पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिनका आधारमा सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् । साथै खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभर रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न पनि सक्नेछन् ।

‘हामी भाटभटेनी ग्रुप जस्तो एक प्रतिष्ठित र सफल संस्थासँग सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा थालनी गर्न पाउँदा उत्साहित छौं’, खल्तीका निर्देशक अग्रवालले भने, ‘यो सहकार्यसँगै नेपालमा नवीनतम् डिजिटल फाइनान्सियल सेवा मार्फत मानिसको जीवन सहज बनाउने लक्ष्यमा एक कदम अगाडि बढेका छौँ ।’

त्यस्तै, भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक कार्कीले प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको खल्ती जस्तो एक फिन्टेक स्टार्टअपसँग सहकार्य गर्न पाउँदा कम्पनी खुसी भएको बताए । ‘वालेट एपबाटै पैसा पठाउने र भाटभटेनी सुपरमार्केट तथा हाम्रा एजेन्ट मार्फत पैसा निकाल्ने अप्रोच हामीलाई राम्रो लाग्यो’, उनले भने, ‘आन्तरिक मनी ट्रान्सफर सेवासँगै अतिरिक्त शूल्क बिना खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१