close

अब ग्लोबल आईएमई बैंकको पैसा सोझै खल्तीमा

टेकपाना टेकपाना

फागुन ८, २०७६ १६:२९

अब ग्लोबल आईएमई बैंकको पैसा सोझै खल्तीमा

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ । ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुवेदीे र खल्तीका डाइरेक्टर अमित अग्रवालले कमलादी स्थित बैंकको प्रधान कार्यालयमा सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुका लागि डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । खल्तीका डाइरेक्टर अमित अग्रवालले ग्लोबल आईएमई बैंकसँग यो सम्झौता गर्न पाउँदा आफूहरु निकै उत्साहित बनेको भन्दै अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्नुपर्ने झञ्जट अन्त्य भएको बताए ।

उनले भने, ‘बैंकका ग्राहकले सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यस सहकार्य सँगै हामीले नगद रहित नेपाल तर्फ एउटा अर्को पाइला अगाडि सारेका छौँ ।’

त्यसै गरी बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवेदीले आफूहरु प्रविधिको प्रयोग गरेर विभिन्न बैंकिङ्ग तथा वित्तीय समस्या समाधान गर्ने प्रयासमा रहेको बताए । ‘अब प्रविधिको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउने तर्फ थप अग्रसर भएको महसुस गरेका छौँ ।’

ग्लोबल आईएमई बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २४९ ओटा शाखारहित बैंकिङ, चार सय ३० एटीएम, एवम् ३७ ओटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान प्रदान गर्दै आएको छ । १८ लाखभन्दा बढी ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

सन् २०१७ को जनावरी २६ बाट सेवा सुरु गरेको खल्तीले छोटो समयमा धेरै प्रगति गर्ने डिजिटल वालेटको रुपमा रहेको छ । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१