close

आईटी ल्याब अनुगमनकै लागि निजी कम्पनीलाई ९ करोडको ठेक्का !

युजु खालिङ युजु खालिङ

फागुन ११, २०७६ १७:१८

आईटी ल्याब अनुगमनकै लागि निजी कम्पनीलाई ९ करोडको ठेक्का !

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका ९३० विद्यालयहरुमा आईटी ल्याब स्थापनाका लागि सुरु गरेको कार्यक्रम अनुगमनका लागि करीब ९ करोड रुपैयाँ खर्च गर्ने भएको छ । नियामकले अनुगमन तथा निरीक्षणका लागि पर्याप्त कर्मचारी अभाव रहेको भन्दै निजी कम्पनीलाई परामर्शदाताको रुपमा नियुक्त गर्ने भएको हो । 

प्राधिकरणले आईटी ल्याब स्थापना, सामानको आपूर्ति, सञ्चालनका लागि यस अघि नै करीब ३ अर्ब ५० करोड रुपैयाँमा म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपा हिमा ट्रेडलिङ्ककाे सयुक्त्त उपक्रमसँग ठेक्का सम्झौता गरिसकेको छ ।  सोही परियोजनाको निरीक्षण, मूल्या‌‌कन तथा प्रमाणीकरणका नाममा अर्को ठेक्का दिन आह्वान गरिएको टेण्डरमा निवेदन दिने परामर्शदाता कम्पनीहरुकाे छनौटको प्रक्रिया जारी छ ।

त्यसका लागि प्राधिकरणले ६ ओटा कम्पनीको सर्टलिस्ट तयार पारेको छ । प्राधिकरणले ती कम्पनीहरुसँग आर्थिक तथा प्राविधिक प्रस्तावकाे माग गरेर याेग्य कम्पनीसँग सम्झौता गर्नेछ । 

६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजनामा हालसम्म उपकरण तथा सामाग्रीकाे आपूर्ति समपन्न भइसकेको तर जडानको काम भने बाँकी रहेकाे प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् । 

यस्ता परियाेजनाकाे कार्यसम्पादनकाे मूल्या‌कन, निरीक्षण तथा प्रमाणीकरणकाे जिम्मेवारी प्राधिकरणकै भएको उनी स्वीकार गर्छन् । ‘तर विज्ञ र आवश्यक जनशक्तिकाे अभावमा यस्ता कामका लागि परामर्शदाता छनाैट गर्नु परेकाे हो,’ प्रवक्ता अर्यालले भने, ‘७५ ओटै जिल्लामा आईटी ल्याब स्थापनाको निरीक्षण गर्न हामीसँग पर्याप्त कर्मचारी छैनन् । हाम्राे जनशक्तिले पनि मूल्या‌ङ्कन गर्नसक्ने एउटा आधार त हुन्छ तर सबै ठाउँमा प्राधिकरणबाट कर्मचारी पठाउँदा दैनिक कामकाज नै ठप्प हुने अवस्था रहन्छ ।’ 

परियाेजना अन्तर्गत देशभरीका ९३० विद्यालयहरुमा कम्प्युटर, प्राेजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीच र साेलार सिस्टम सहितका ल्याब स्थापना गर्ने लक्ष छ । याे परियाेजनाका लागि प्राधिकरणले ३ अर्ब ४७ कराेड ६९ लाख ७७ हजार ७९५ रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । 

परियोजनाको अनुगमन र निरीक्षणका लागि प्राधिकरणको सर्टलिस्टमा पर्ने कम्पनीहरुमा सिभिल इन्फोमेटिक्स एण्ड सोल्युसन, टोटल म्यानेजमेन्ट सर्भिस र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम प्राइभेट लिमिटेडको उपक्रम रहेका छन् ।

यसैगरी एक्जिक्युटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर, महारुद्र ग्रुप र आईटीईसीओ नेपालको उपक्रम,जियोकम इन्टरनेश्नल, ड्राइस सोल्युसन्स, इन्भाइरोनमेन्ट एण्ड रिसोर्स म्यानेजमेनट कन्सल्ट्यान्टको उपक्रम, ट्रेनिङ सेन्टर नेपाल, एभरेस्ट टेलिकम एण्ड आईटी सोल्युसन र माइक्रोटेक इनर्जीको उपक्रम, महाकाली मेची टेक्नोलोजीज एण्ड सप्लायर्स र पवन ढुवानी सर्भिसको उपक्रम एमएच ग्रुप अफ टेक्नोलोजी एण्ड सप्लायर्स र कुमार श्रेष्ठ निर्मल सेवाको उपक्रमहरु रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०