close

गेसपेपरबाट उदाएको निमा डिजिटल फर्ममा, प्रभुसँगको सहकार्यमा सेवा विस्तार गर्दै

टेकपाना टेकपाना

फागुन १७, २०७६ १८:१८

गेसपेपरबाट उदाएको निमा डिजिटल फर्ममा, प्रभुसँगको सहकार्यमा सेवा विस्तार गर्दै

हरेक वर्ष फेब्रुअरी २८ मा मनाइदै आएको डिजिटल लर्निङ दिवसको अवसरमा निमा एकेडेमी र प्रभु म्यानेजमेन्टबीच सहकार्य सुरु भएको छ । डिजिटल शिक्षालाई देशभर विस्तार गर्ने उद्देश्यका साथ प्रभु म्यानेजमेन्टको ई-शिक्षा र निमा एकेडेमीको निमा एकेडेमी लर्निङ प्लेटफर्मबिच सहकार्य थालिएको हो । 

शुक्रबार दरबारमार्ग स्थित एक होटेलमा आयोजित कार्यक्रममाझ प्रभुको तर्फबाट अध्यक्ष कुसुम लामा र निमाको तर्फबाट अध्यक्ष हरिमान प्रधानले सहकार्यको सम्झौतामा हस्ताक्षर गरे । ई-शिक्षा स्कूल म्यानेजमेन्ट सफ्टवेयर हो भने निमा एकेडेमी डिजिटल लर्निङ प्लाटफर्म हो । यी दुई उत्पादन तथा संस्थाबीचको सहकार्यले देशमा डिजिटल शिक्षाको विकास र विस्तारमा ठूलो परिवर्तन ल्याउने कुशुम लामाले बताइन् । 

यसैगरी कार्यक्रममा निमा एकेडेमीका अध्यक्ष हरिमान प्रधानले पुरानो निमा प्रकाशन डिजिटलमा रुपान्तरण भइरहेको र नेपालमा डिजिटल लर्निङ प्रवर्द्धन गर्न डिजिटल लर्निङ डे मनाउन थालिएको बताए ।

कार्यक्रममा निमा एकेडेमीको मोबाइल एप पनि सार्वजनिक गरिएको थियो । विद्यालयहरुलाई सेवा दिँदै आएको एकेडेमीले मोबाइलबाटै आवश्यक कन्टेन्ट अध्ययन गर्न सकिने बनाएको हो । 

एप्लिकेशन सार्वजनिक गर्दै कम्पनीका निर्देशक निश्चलमान प्रधानले अबको समय दर्जनौ किताब झोलामा बोकेर स्कूल धाउने नभई एउटा ट्याब्लेटको भरमा रमाइलोसँग अन्तरक्रिया गर्दै पढ्नुपर्ने भएको बताए । निमा एकेडेमीमा कक्षा १० सहित विभिन्न कक्षाका कोर्ष कन्टेन्टहरु टेक्स्ट, थ्रीडी र भिडियोको रुपमा प्रस्तुत गरिएको छ ।

पाँच हजारभन्दा बढी श्रोत सामग्री समावेश निमाको लर्निङ प्लेटफर्ममा एक हजारभन्दा बढी भिडियो कन्टेन्टहरु रहेका छन् । अभ्यासका लागि प्रश्न, क्विज, एनालाइटिक्स समेत समावेश गरिएको निमा एकेडेमी एक दर्जन बढी विद्यालयहरुमा प्रयोगमा आइसकेको छ ।

यसैगरी गत वर्षदेखि सुरु भएको ई-शिक्षा ५० भन्दा बढी विद्यालयहरुले प्रयोग गरिरहेका छन् । यो सफ्टवेयरले विद्यालय, अभिभावक र विद्यार्थीहरुलाई आपसमा आवद्ध गराउँछ । जसले विद्यालयको शूल्क समेत प्रभु पेमार्फत अनलाइनबाटै बुझाउन सकिने बनाएको छ । ई-शिक्षाको सफ्टवेयरमा विद्यार्थीहरुको विवरण व्यवस्थापन गरिन्छ । साथै  विद्यार्थी, उनीहरुका गतिविधि, हाजिरी, शूल्क, भर्ना, कक्षाको टाइम टेबल, परीक्षाको रुटिन, मार्कसिट लगायतका विवरण तथा जानकारी अभिभावकले मोबाइल एपमै हेर्न सक्छन् । 

उक्त एपले कर्मचारीको प्रोफाइलको समेत व्यवस्थापन गर्छ । जसमा बायोमेट्रिक फिंगरप्रिन्ट, एटेन्डेन्स सिस्टम जस्ता मानवीय श्रोत व्यवस्थापन गर्न सकिने सुविधा समेत रहेको छ । सफ्टवेयरमा परीक्षा प्रणाली, लाइब्रेरी व्यवस्थापन, होस्टेल व्यवस्थापन, यातायात व्यवस्थापन, अकाउन्ट सिस्टम व्यवस्थापन विद्यालयको नोटिस लगायतका फिचर समावेश रहेको प्रभुले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०