close

पठन संस्कृति विस्तारको यात्रा

गोपाल साउद गोपाल साउद

फागुन १८, २०७६ १८:२०

पठन संस्कृति विस्तारको यात्रा

सर्लाहीका ऋषिराम अधिकारीले एसएलसीसम्मको शिक्षा गाउँमै पुरा गरे । बुबा समाज सेवी । हरेकले पढ्न पाउनुपर्छ भन्ने धारणा राख्थे । त्यसका लागि हरेक गाउँमा स्कुल बनाउपर्नेमा उनको सधैं जोड रहने गर्दथ्यो । 

जीवनको नियति नै भन्नुपर्छ ऋषिराम १४ वर्षको छँदा बुबालाई गुमाए । जिम्मेवारी उनकै काँधमा सर्‍यो । सर्लाही छोडेर काठमाडौं आए । फराकिला सडक, व्यस्त जीवनशैली उनका लागि नयाँ थियो ।  परिवेशसँगै आत्मनिर्भर हुन सिक्दै गए ।  

ऋषिराम आफूलाई असन्तुष्ट प्राणी ठान्छन् । प्लस टु पास गरिसकेपछि चार्टर्ड अकाउण्टेन्ट पढ्न भारतको राजधानी नयाँ दिल्ली गए । काठमाडौंभन्दा झनै ठूलो शहर । अझ  धेरै कुरा सिक्ने र भोग्ने मौका पाए । बुबाको प्रभाव नै हुनुपर्छ, समाजसँग जोडिएका कुराहरु उनको मनमा अमीट छाप बनेर बस्थे ।

किताब यात्राका सहसंस्थापक ऋषिराम अधिकारी

दिल्लीमा बस्दा बिहान क्लास अनि दिउँसो इन्टर्नशीप भ्याउँथे । पढाई एकातिर थियो । तर उनको ध्यान भने अर्कै तिर । अमेजन, फ्लिप कार्ट जस्ता कम्पनीहरुको व्यवसायले उनलाई मोहित बनाउँदै लगिरहेको थियो । उनले त्यही प्रविधिलाई नेपालमा पठन संस्कृति विकास गर्ने कार्यमा प्रयोग गर्ने सोँच बनाए । 

नेपालको सन्दर्भमा भन्दा एकदमै धेरै संभावना भएको देश भनिए पनि काम गर्न सहज नभएको गुनासो अधिकारीले सानै छँदादेखि नै सुनिरहेको कुरा थियो । तर उनी  निराशा होइन, आशा र संभावना देखेर पढाई पुरा भएलगत्तै नेपाल फर्किए । 

दिल्लीबाट फर्किँदा साथमा ४ बोरामा किताब समेत बोकेर ल्याएका थिए । चार्टर्ड अकाउण्टेन्ट पढेर आएको छोरो, घर परिवारको आशा बेग्लै थियो । तर ऋषिराम भने चार्टर्ड अकाउण्टेन्टको पेशाभन्दा बाहिर गएर इन्टरनेट प्रविधिको प्रयोग गरेर पठन संस्कृतिको विकासमा होमिने सोचका साथ फर्किएका थिए । 

दिल्लीको चार तला माथीको एउटा सानो कोठामै उनले किताब यात्राको सपना सजाएका थिए । नेपाल फर्किनु अघि नै उनले आफ्नो सपना साकार पार्न अनुसन्धान थालिसकेका थिए । नेपालमा कस्ता पुस्तक बिक्री भइरहेका छन् ? नेपालमा पाइने अन्त नपाईने अनि अन्त पाइने तर नेपालमा पाउन मुस्किल पुस्तक के हुन् ? कुन उमेर समूहले कस्ता पुस्तक पढ्न रुचाउँछन् ? लगायतका जिज्ञासा उनले त्यतिखेरै शान्त पारिसकेका थिए ।

अन्ततः फर्के लगत्तै अनलाइनबाट अर्डर लिएर घर-घरमा पुस्तकको डेलिभरी दिने गरी अधिकारी सहित कृपेशकिशोर घिमिरे र विकेश भट्टराईको सहकार्यमा अढाई वर्ष अघि किताब यात्रा  सुरु भयो ।

अढाई वर्ष अघि किताब यात्रा सार्वजनिक गर्न आयोजित कार्यक्रम । तस्विर श्रोतः ऋषिराम अधिकारी

सहजै हरेक ठाउँका व्यक्तिले पुस्तक पाउनुपर्छ भन्ने धारणा उनको मनमा सुरुदेखि नै थियो ।  फोन कल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका माध्यमबाट अर्डर लिन थाले । एउटा मात्रै किताबको अर्डर आउँदा तीनै जना संस्थापक आफै डेलिभरीका लागि निस्किन्थे । यतिसम्म कि सुरुमा डेलिभरीका लागि उनीहरुसँग आफ्नो बाइक पनि थिएन । अरुकै मागेर भए पनि काम चलाउँथे । व्यस्त जीवनशैलीबीच घरमै किताब पुर्‍याइदिने माध्यम छोटो समयमा निकै रुचाइन थाल्यो ।  

टिममा कोही पनि प्राविधिक पृष्ठभूमीका छैनन् । जसले गर्दा उनीहरुलाई स्टार्टअप व्यवसाय अगाडि बढाउन त्यति सहज भने भएन । आईटी नपढेर पनि स्टार्टअप व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण किताब यात्राले स्थापित गरिरहेको छ । ‘अब आउने कुनै पनि बिलगेट्सले अपरेटिङ सिस्टम बनाउनु हुँदैन । अब आउने अर्को जुकरबर्गले फेसबुक बनाउनु हुँदैन । तर त्यहाँबाट केही अनुभव र ज्ञान भने सिक्न सकिन्छ ।’ यो पाठ ऋषिले राम्रैसँग सिकेका छन् । 

त्यसैले उनीहरु अरुको नक्कलमा होइन, मौलिक तरिका अपनाएर स्टार्टअपलाई अगाडि बढाइरहेका छन् । आएका समस्या र सुझावअनुसार सेवा सुधार गर्दै लगेका छन् । मानिसहरुले पुस्तक उपहार दिन चाहे, त्यसको थालनी गरे । लाइब्रेरी व्यवस्थापन प्रणाली आवश्यक थियो । यसको समाधान पनि किताब यात्राले दिन सुरु गर्‍यो ।   

‘किताब यात्राको काम गर्दै जाँदा हामी धेरै महत्वाकांक्षी भएको पनि होइन । मनमा इच्छा शक्ती छ भने नेपालमै धेरै काम गर्न सकिन्छ भन्ने बुझाईकै आधारमा अगाडि बढिरहेका छौँ,’ ऋषिराम भन्छन् । 

किताब यात्राले अहिले अनलाइन भुक्तानीका लागि विभिन्न डिजिटल वालेटहरुसँग सहकार्य गरिरहेको छ । सामानहरु ट्र्याकिङ गर्ने प्रविधि अपनाएको छ । जसबाट सेवाग्राहीले आफूले अर्डर गरेको पुस्तक कहाँ आइपुग्यो, अनलाइनबाटै थाहा पाउन सक्छन् । कहिले हात पर्ला भन्ने कुराको चिन्ता पनि गरिरहनु नपर्ने गरी डेलिभरीको सुनिश्चितता किताबयात्राले दिएको छ । 

सँगसँगै किताबयात्रा विभिन्न क्षेत्रका लेखक, पाठक, प्रकाशन गृह, उद्यमी लगायतलाई एकै ठाउँमा ल्याएर पठन संस्कृतिको विकासमा पनि जुटेको छ । ‘बालबालिकालाई शान्त पार्न मोबाइल दिने गरेका छौँ, अब किताब दिएर भुलाउने संस्कृति चाहिएको छ,’ ऋषिराम भन्छन् । 

भर्खरै राजधानीमा किताब जात्राको दोश्रो संस्करण सम्पन्न गरेको किताब यात्राले अब प्रदेश स्तरमा पनि त्यसलाई विस्तार गर्दैछ । अधिकारीका अनुसार नयाँ वर्ष २०७७ को सुरुवातसँगै कम्तिमा देशका सात देखि ११ ओटा मूख्य सहरमा किताब जात्राको आयोजना हुँदैछ । त्यसक्रममा स्थानीय लेखक, साहित्यकार, उद्यमी, व्यवसायी, पाठक लगायतका बीचमा अन्तरक्रिया गराउने किताब यात्राको उद्देश्य छ । 

नेपाल बाहिर बस्ने नेपाली भाषीहरुका लागि पनि नेपाली पुस्तक पुर्‍याउने माध्यमको रुपमा किताब यात्रा विकास भइरहेको छ । अडियो बुकहरुमा पनि काम भइरहेको अधिकारी बताउँछन् । सात दिन लाग्ने ठाउँमा थप छिटो कसरी पुर्‍याउन सकिन्छ भन्नेमा कम्पनी लागि परेको छ ।  

नेपालका हरेक घरमा किताबलाई यात्रा गराउन पाइयोस् भन्ने चाहतले नै किताब यात्राको नाम जुरेको हो । यसमा किताब यात्राका चालकहरुको नेपाली भाषा प्रतिको मोह पनि झल्किन्छ । ‘अब यात्रा गर्नेछ किताब, तपाईंको दैलोसम्म’ स्लोगन नै बनाएको छ, किताब यात्राले । 

अहिले किताब यात्रामा हजारभन्दा बढी शिर्षकका पुस्तक उपलब्ध छन् । कोर्षका पुस्तक पनि समावेश गर्ने योजना कम्पनीले बनाएको छ । पछिल्लो समय बालबालिकाका लागि आवश्यक पुस्तकदेखि कलम, मसी, डायरी लगायतका स्टेशनरीको सामग्री पनि किताबयात्राबाटै अर्डर गर्न सकिने भएको छ । 

‘प्राप्त सुझावअनुसार क्रमशः आवश्यक सुधार गर्दै गइरहेका छौँ । संसारमै मुस्किलले पाउने किताब दिन नसकेपनि कम्तिमा दूरदराजका पाठकले पुस्तक पढ्नै नपाउने अवस्थाको अन्त्य गर्न सकियोस् भन्ने चाहना हो,’ अधिकारी भन्छन् । 

युट्युव भिडियो

किताबयात्रा एउटा कोठाबाट सुरु भयो । छोटो समयमै प्रकाशन गृह र लेखकहरुको राम्रै साथ पाएर लोकप्रिय बनेको छ । सुरुवाती दिनमा एउटा किताबको अनलाइन अर्डर आउँदा तीनै जना सहसंस्थापक खुशीले उफ्रिँदै नाच्थे । 

देश विदेशबाट अहिले दैनिक सय देखि डेढ सय पुस्तकको अर्डर आउने गरेको अधिकारी सुनाउँछन् । ‘कुनै पनि व्यक्तिले अर्डर गरेर पुस्तक नपाउने अवस्था छ भने त्यहाँ हामीले अझै काम गर्नु छ भन्ने अनुभुति हुन्छ,’ उनी भन्छन् ।  

इन्टरनेट प्रविधिलाई प्रयोग गरेरै किताब यात्राले विभिन्न ठाउँमा लाइब्रेरी बनाउने काम पनि सुरु गरेको छ । कारागारमा लाइब्रेरी बनाउने योजना पनि कम्पनीले बनाइरहेको छ । त्यसका लागि सरकारको साथ आवश्यक रहेको अधिकारी बताउँछन् । 

‘विभिन्न जिल्लाहरुमा बुक हब खोल्ने सपना पनि छ । त्यहीँबाट तत्काल डेलिभरी पनि दिन सकियोस् भन्ने हो,’ उनी भन्छन्,’ अर्को कुरा मलाई क्याप्टेन विजय लामासँग भेट्न मन छ । नेपाली आकाशमा उड्ने हरेक हवाईजहाजमा फ्लाइङ लाइब्रेरी बनाउने सोँचमा उहाँसँग सल्लाह गर्न चाहिरहेको छु । ठूला ठूला र्‍याक राखेर होइन, विशेष किसिमको व्यवस्थापनमा नेपाल चिनाउने पुस्तक राख्न सकिन्छ । बरु त्यसको सम्पुर्ण व्यवस्थापनको जिम्मा हामी लिन तयार छौँ ।’ 

कमसे कम नेपालमा भएका एयरलाइन्सबाट भए पनि यसको सुरुवात गर्न सकिने अधिकारीको बुझाई छ । ‘हामीलाई एयरलाइन्समा मौका दिनुहोस् भनिरहेका छौँ । ता कि नेपाली आकाशमा उड्दा नेपालको बारेमा विदेशीहरु जानकार हुन सकून,’ उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०