close

दूरसञ्चार प्राधिकरण बन्यो नेपालकै पहिलो अटोमेसनयुक्त सरकारी कार्यालय

टेकपाना टेकपाना

फागुन १९, २०७६ १५:४

दूरसञ्चार प्राधिकरण बन्यो नेपालकै पहिलो अटोमेसनयुक्त सरकारी कार्यालय

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरण सरकारी संस्थाहरुमा पहिलो अटोमेशन (स्वचालित) युक्त संस्था बनेको छ । आन्तरिक रुपमा कागजरहित बनेको प्राधिकरणले डिजिटल हस्ताक्षर समेत प्रचलनमा ल्याएसँगै पुर्ण रुपमा अटोमेसनमा जाने पहिलो सरकारी कार्यालय बनेको हाे ।

प्राधिकरणका अनुसार गत हप्तादेखि डिजिटल हस्ताक्षर प्रयोगमा ल्याइएको छ । तर, प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारीक घोषणा हुनेछ । ‘भोलिदेखि डिजिटल हस्ताक्षरलाई अनिवार्य गर्दैछौँ,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘प्राधिकरणका कामकाजलाई पारदर्शी बनाउने उद्देश्यका साथ यसको थालनी गर्न लागेका हौँ ।’

खनालका अनुसार अटोमेशनको सुरुवात गत महिनाबाटै भएको थियो । पहिलो चरणमा अनलाइन प्रणालीबाटै टिप्पणी उठाउने, सिफारिस गर्ने र निर्णय गर्ने कार्यको सुरुवात भएको थियो । ‘अब चाहिँ कार्यालयका गतिविधि तथा काम कार्बाहीको आधिकारिकता पुष्टी गर्न सकिने गरी डिजिटल हस्ताक्षर समेत कार्यान्वयनमा ल्याएका छौँ,’ उनले भने ।

हाललाई प्राधिकरणको आन्तरिक कार्य अटोमेटेड भएको छ । ग्राहकले दिने निवेदनदेखि त्यसको आन्तरिक प्रक्रिया र निर्णय गर्ने सबै कार्य अनलाइनमै लैजान आवश्यक सिस्टम निर्माणको काम पनि अन्तीम चरणमा पुगेको नियामकले जनाएको छ ।

अफिस अटोमेसन कार्यका लागि प्राधिकरणले ११ मोडेलमा काम गरिरहेको छ । जसमा सेवाग्राहीले लिने टाइप अप्रुभल, सेवाप्रदायकको लाइसेन्स, फ्रिक्वन्सीका साथै गुणस्तर सम्बन्धि गुनासो सबै कार्य अनलाइनबाटै प्रदान गर्ने प्राधिकरणको तयारी छ ।

त्यतिमात्रै नभएर सेवाग्राहीले तिर्नुपर्ने दस्तुर पनि बैंकसँगको सहकार्यमा अनलाइन प्रणालीमा लगिने प्राधिकरण अध्यक्ष खनाल बताउँछन् । यसरी प्राधिकरण पूर्णरुपमा पेपरलेस अर्थात कागज रहीत बन्ने छ । यसका लागि आवश्यक कार्यविधि प्राधिकरण बोर्डले यस अघि नै पारित गरिसकेको छ ।

सोही कार्यविधिकै आधारमा प्राधिकरण अटोमेसनको कार्य अघि बढेको हो । जुन अब अन्तीम चरणमा रहेको अध्यक्ष खनालले जनाकारी दिए । यसका लागि ७० लाख रुपैयाँ खर्च हुने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०