close

चीनमा बन्यो कोरोनाको उपचार गर्ने स्वचालित रोबोट

टेकपाना टेकपाना

फागुन २३, २०७६ ९:२८

चीनमा बन्यो कोरोनाको उपचार गर्ने स्वचालित रोबोट

एजेन्सी । चीनको एक प्रमुख विश्वविद्यालयका अनुसन्धानकर्ताले कोरोना भाइरसको उपचारमा खट्न सक्ने र बिरामीको जीवन जोगाउन सक्ने रोबोटको डिजाइन गरेका छन् । पाङ्ग्रासँगै रोबोटिक पाखुरा समेत राखिएको यो मेसिनले अल्ट्रासाउण्ड गर्नसक्ने, मुखको र्‍याल लिन सक्ने, सामान्यतया स्टेथेस्कोप प्रयोग जस्तै बिरामीका अङ्गले निकाल्ने आवाज सुन्ने लगायतका काम गर्न सक्छ । 

यस किसिमका कार्यहरु सामान्यतया डाक्टरले नै गर्दछन् । तर यो रोबोटमा क्यामेरा जडित भएका कारण स्वस्थ्य कर्मचारी त्यही कोठामा भइरहन जरुरी हुँदैन । बरु अर्को शहरमा रहन सक्छन् । 

‘सबै डाक्टरहरु एकदमै शाहसी हुनुहुन्छ, रोबोटका प्रमुख डिजाइनर सिन्ह्वा युनिभर्सिटिका प्रोफेसर जेङ ग्यान्टेइ भन्छन्, ‘तर यो भाइरस एकदमै संक्रामक छ । त्यसैले एकदमै खतरनाक कामका लागि हामी रोबोटको प्रयोग गर्न सक्छौँ ।’

यो सोच जेङमा चिनियाँ नयाँ वर्ष लुनार सुरु हुँदाको वरपरको समयमा पलाएको थियो । वुहान भर्खरै ‘लकडाउन’ गरिएको थियो । र भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन तीब्र रुपमा बढिरहेकाे थियो । 

इन्जिनियरको रुपमा जेङ राहतका लागि केही यस्तो गर्न चाहन्थे, जसबाट राहत स्वरुप केही योगदान दिन सकियोस् । लुनार नयाँ वर्षको पहिलो दिन उनले आफ्ना साथी बेइजिङको सिन्ह्वा चाङ्गुङ अस्पतालका कार्यकारी अध्यक्ष डोङ्ग जियाहोङ्गबाट अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुमा भाइरस संक्रमणको ठूलो समस्या रहेको थाहा पाए । 

लगत्तै जेङ एक टिम तयार गरी अन्तरीक्ष तथा चन्द्रमामा अन्वेषण कार्यका लागि प्रयोग हुने प्रविधि प्रयोग गरी दुई वटा रोबोटिक पाखुरा भएको मेसिन बनाउने प्रयासमा जुटे । रोबोट करीब पूर्णतयाः स्वचालित छ र सम्पर्कमा रहेर काम गर्दा यसले आफैलाई कीटाणुरहीत बनाउन समेत सक्ने जेङ बताउँछन् । 

‘तर डाक्टरहरुले यो अलि कम स्वचालित भएको खण्डमा उपयुक्त हुने प्रतिक्रिया दिइरहेका छन् । ता कि कुनै व्यक्तिको उपस्थितिले बिरामीलाई शान्त र सहज बनाउन सकोस्,’ उनी भन्छन् । 

अहिले टिमसँग दुईओटा रोबोट छन् । जुन बेइजिङका अस्पतालका डाक्टरहरुले परीक्षण गरिरहेका छन् । एउटा भने अहिले पनि विश्वविद्यालयमा अवस्थित टिमको ल्याबमै छ । अर्को भने वुहान युनियन हस्पिटलमा छ, जहाँ डाक्टरहरुले यसको प्रयोगका लागि बिहीबारदेखि नै तालिम सुरु गरिसकेका छन् । 

‘यदी योजना मुताविक भएको खण्डमा यो रोबोट आइतबारदेखि वुहानमा कोरोना भइरसका बिरामीको उपचारमा प्रयोग हुनेछ, जेङले भने, ‘यो नर्स तथा अन्य स्टाफसँगै वार्डमा आवद्ध हुनसक्नेछ ।’

जेङ यस किसिमका थप रोबोट बनाउने योजनामा छन् । तर विश्वविद्यालयको फण्डिङ रित्तिकएको छ । यो रोबोट बनाउन प्रति गोटा ७२००० अमेरिकी डलर (करीब ८४ लाख नेपाली रुपैयाँ) खर्च भएको रोयटर्समा उल्लेख छ । 

यो रोबोट डिजाइनलाई व्यवसायिक रुप दिने योजना भने नरहेको जेङ बताउँछन् । तर कुनै कम्पनीले यसलाई अगाडि बढाउन सक्नेछ । 

पछिल्लो एक महिनामा चीनमा ३,००० स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । जसमध्ये एकजनाको त मृत्यु समेत भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०