close

विद्यालयको ‘डिजिटल’ क्रान्ति

युजु खालिङ युजु खालिङ

फागुन २४, २०७६ १४:१९

विद्यालयको ‘डिजिटल’ क्रान्ति

काठमाडौं । घरबाट हिडेँका छोरीछोरी विद्यालय पुग्ने वित्तिकै हाजिरीको नोटिफिकेसन अभिभावक मोबाइलमा आउँछ । छुट्टी भएर घर फर्कदाँ कुन रुटको कुन गल्लीमा आइपुगे भन्ने ट्रयाक गरेर हेर्नसकिने । हराएका शैक्षिक कागजातहरु आफ्नै ह्याण्डसेटमा सुरक्षित हुने । 

विद्यार्थीको सम्पूर्ण शैक्षिक विवरण तथा प्रमाणपत्रमा विद्यालय प्रशासन सरह नै विद्यार्थीको पनि पहुँच हुन्छ । बुवा आमालाई छोराछोरीको हरेक क्रियाकलापको पूर्ण जानकारी हुने । विद्यालयलाई पनि विद्यार्थी, व्यवस्थापन र शिक्षक कर्मचारीको पूर्ण जानकारी रहने ।

सोच्नुहोस् त, यस्तो प्रणालीले हाम्रो परम्परागत शैक्षिक वातावरणमा कस्तो क्रान्ति ल्याउला ?

शिक्षा क्षेत्रमा यस्तै परिवर्तन ल्याउन इन्जिनियर आदित्य राज र उनको टोलीले विगत पाँच वर्षदेखि शैक्षिक व्यवस्थापन प्रविधिमा निरन्तर काम गर्दै आइरहेको छ । आदित्यको यो टोलीले डिजिटल नेपाल नामक संस्थाबाट शैक्षिक व्यवस्थापन प्रणालीलाई डिजिटलाइज गर्नुका साथै खोज तथा अन्वेषण गरिरहेको छ ।  

२०१४ मा इन्जिनियर कोर्ष पुरा गरिसकेपछि सबइन्जिनियरको रुपमा दर्ता हुन नेपाल इन्जिनियरिङ परीषद् पुग्दा आदित्यलाई संकट आइलाग्यो । उनलाई विद्यालय तहदेखिका प्रमाणपत्रहरु मागिएको थियो । तर उनीसँग थिएन ।

पाँच सात वर्षको अन्तरालमा जब उनी आफू पढेको विद्यालय पुगे, विद्यालय व्यवस्थापन परिवर्तन हुँदा उनका सबै शैक्षिक विवरण नामेट भइसकेका रहेछन् । फसाद त त्यतिखेर पर्‍यो, जब उनलाई नयाँ विद्यालय व्यवस्थापनले त्यस विद्यालयको भूतपूर्व विद्यार्थी भनेर चिन्ने कुनै आधार समेत बाँकी थिएन । 

त्यतिखेरै हो उनको मनमा प्रश्न उब्जिकएको, यस्ता समस्या दैनिक कति विद्यार्थीले भोग्नुपर्दो हो । त्यसो त बैंकिङ, स्वास्थ्य, यातायात लगायतका क्षेत्रहरु प्रविधिमैत्री भइरहेका छन् । तर सबै क्षेत्रका लागि जनशक्ति तयार पार्ने शिक्षा क्षेत्र नै प्रविधिको मूलधारबाट अलग्गिएको उनलाई चित्त बुझेन । 

आदित्य राज

यी र यस्तै भोगाई र सोचाईले उनी शैक्षिक क्षेत्रको यो समस्यालाई समाधान गर्न कस्सिए र एक्लो प्रयासमा सुरु गरे डिजिटल नेपालको यात्रा । यात्रा सुरु गरेको दुई वर्षसम्म कम्पनीको अस्तित्व धरमर अवस्थाबाटै गुज्रियो ।  २०१८ मा डिजिटल नेपाल कम्पनीको अवधारणा र भिजन थप स्पष्ट र बलियो बनाउन, उनी लगायत पाँच जनाको कोर टिम थप गृहकार्यमा जुट्यो ।

अहिले कम्पनीमा २५ जनाको टिम तयार भएको छ । सेवा काठमाडौं लगायत सातै प्रदेशका ५ सयभन्दा धेरै विद्यालयहरुमा प्रयोगमा छ । पाँचथर जस्तो पहाडी जिल्लादेखि तराईका एकदमै अकल्पनीय रुपमा पछाडि रहेका विद्यालयमा पनि पुगेको आदित्य सुनाउँछन् ।  

आदित्य र उनको टिमले सुरु गरेको यो सफ्टवेयर सोलुसनले विद्यार्थी, विद्यालय, व्यवस्थापन, शिक्षक र अभिभावकबीचकाे सूचनाको अभावलाई मेट्दै गएको छ भने विद्यालय व्यवस्थापन, दैनिक प्रशासनिक तथा विद्यार्थी अभिभावकको कामलाई पनि सहज बनाइिदएको छ ।

अब डिजिटल नेपालको सेवा प्रयोग गरिरहेका विद्यालयका विद्यार्थीहरुले प्रमाणपत्र हराएको खण्डमा वा विद्यालयमा डेटा नपाएर आफ्नो शैक्षिक योग्यताको आधिकारिकता गुमाउनु पर्ने डरमा बाँच्नु नपर्ने सुनिश्चित रहेको आदित्यको दाबी छ ।

डिजिटल नेपाल मिदास वा स्मार्टर जस्तो अनलाइन कोर्ष वा पाठ्यक्रम उपलब्ध गराउने सोलुसन भने होइन । यो एउटा प्रविधिमा आधारित व्यवस्थापन प्रणाली हो ।

शिक्षा तथा विज्ञान मन्त्री गिरीराजमणि पोखरेलबाट आईसीटी अवार्ड थाप्दै

विद्यालय प्रशासनलाई आवश्यक कर्मचारीको हाजिरी, कर्मचारीको पेरोल, ट्याक्स, डक्युमेन्टेसन, कर्मचारीको प्रोफाइलिङ, अकाउन्टिङ, इन्भेन्ट्रिहरु यही प्रणालीमा अटाएका छन् । होस्टेल, क्यान्टिन, यातायात, लाइब्रेरी, स्कूल बिलिङ, विभिन्न विभागका सबैका कामकाजलाई यो सफ्टवेयर तथा एपले अटोमेसन गराएको छ । 

कागजरहीत रुपमा सबै काम सम्पन्न हुन्छन् । पहिला जस्तो फाइल बोकेर कुद्न पियन चाहिँदैन । परीक्षा व्यवस्थापनदेखि प्राप्ताङ्क लेजरमा चढाएर विद्यार्थी तथा अभिभावकको पहुँचसम्म एपबाटै अनलाइन पठाइन्छ । अभिभावक र विद्यालय व्यवस्थापनबीच आर्थिक लेनदेन गर्न अनलाइन पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।  

‘शैक्षिक प्रणाली व्यवस्थापनका लागि हाम्रो जस्ता अरु कम्पनीहरु पनि बजारमा छन्,’ आदित्य भन्छन्, ‘तर हाम्रो सेवा आपूर्तिको तीब्रता, बजारको मागअनुसार सेवामा ल्याइरहेको सुधार र खोज तथा अन्वेषणले हाम्रो सेवा विशेष किसिमको छ ।’

यसका लागि डिजिटल नेपालले चार किसिमका एपहरु तयार गरेको छ । जसमा विद्यालय व्यवथापन, शिक्षक, विद्यार्थी र अभिभावकका लागि छुट्टा छुट्टै एप बनाइएको छ । सबै किसिमका प्रयोगकर्तालाई युजरनेम र पासवर्ड दिइन्छ । जसबाट उनीहरुले आफ्नो सरोकारको विषयमा पकड राख्न सक्छन् ।

कम्पनीको सेवाले विद्यालयहरुलाई कागजरहीत बनाउन मात्रै होइन काममा समेत तीब्रता ल्याएको छ । यस्ता प्रणाली इन्स्टल गर्ने विद्यालयहरुको खर्च दश प्रतिशतले घटाएको छ । 

यो एप अफलाइन र अनलाई दुबै किसिमले प्रयोग गर्न मिल्छ । जसले गर्दा देशको जुनसकुै कुनामा पनि यो प्रणाली उपयोगी हुने कम्पनीको दाबी छ । 

कम्पनीको मूख्य आम्दानीको स्रोत नै यही सफ्टवेयर बनेको छ । अहिले कम्पनीले सबै स्कूलमा प्रति विद्यार्थी  सय रुपैयाको दरले शूल्क लिइरहेको छ । विभिन्न कस्टमाइज प्याकेजका लागि थप शूल्क लाग्छ ।

हाल कम्पनीको वार्षिक आम्दानी एककरोड रुपैयाँ रहेको आदित्य बताउँछन् । तर खर्च पनि त्यसै अनुसार हुने भएकाले कम्पनी नाफामा गइ नसकेको उनको भनाई छ ।

कम्पनीले कूल आयको ठूलो हिस्सा अझै पनि सेवालाई थप गुणस्तरिय बनाउन अध्ययन तथा अन्वेषणमा नै लगानी गरिरहेको छ । आगामी दिनमा सेवालाई सेवाग्राहीको रुची र आवश्यकता अनुसार सुधार तथा परिस्कृत गर्दै लैजाने योजनामा कम्पनी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१