close

सूचना प्रविधिमा महिला सहभागिता थोरै किन ?

रन्जन कोइराला रन्जन कोइराला

फागुन २५, २०७६ १२:३४

सूचना प्रविधिमा महिला सहभागिता थोरै किन ?

महिलाको संघर्ष पक्कै पनि छ । पुरुषले गरेको संघर्ष सार्थक हुँदा महिलाले गरेका संघर्षको मोल नहुने भन्ने होइन । तर, त्यो बाटोमा निस्किएर हिड्न सक्ने आँट भएका महिलाको खड्को भने अझै टरेको छैन । अझ कलेजमा सूचना प्रविधि विषय लिएर पढ्ने महिलाको संख्या पुरुषको तुलनामा थोरै छ ।

त्यसमाथि कलेजबाट निस्किएर फिल्डमा उत्रिनेको महिलाको संख्या झन् नगन्य प्रायः छ । त्यसैले त बिनिता श्रेष्ठले आईटीमा उद्यमी बन्छु भन्दा रोल मोडल पाइनन् । र आफै आउँने पुस्ताका लागि रोल मोडल बन्ने बाटोमा अग्रसर भएर लागेकी छन् ।

प्लस टु सेकेर आस्था शर्मा काठमाडौं इन्जिनियरिङ कलेजमा ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ’ अध्ययनका लागि भर्ना हुँदा कक्षामा ४५ जनाको समुह थियो । तर, त्यसमा महिला विद्यार्थीको संख्या भने जम्मा पाँच जना मात्रै । यो मात्र सात वर्ष अघिको कुरा हो ।

यो वर्षमा पक्कै पनि केही न केही परिवर्तन त भएको छ । तर, अझै पनि स्टिम अर्थात साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्समा महिला विद्यार्थीको उपस्थिति थोरै रहेको आस्था बताउँछिन् ।

यहाँ उल्लेख गरिएका दुबै पात्र आज नेपालको आईटी अद्योगमा महिलाको पहुँच र सहभागिता विस्तारका लागि काम गरिरहेका छन् । आस्था ‘गर्ल्स ईन टेक्नोलोजी नेपाल’ की टेक्निकल लिडर हुन् भने, बिनिता ओमन ईन स्टिम नेपालकी अध्यक्ष । कलेज पढ्दा केटी साथी संख्या थोरै भएतापनि आजको दिनमा प्रविधिको क्षेत्रमा यी दुबैले सयौं महिलाको साथ पाएका छन् । उनीहरुले चालेको कदममा साथ दिने महिलाहरुको संख्या ठूलो जमात तयार भएको छ । तर, आधा आकाश ढाक्न भने अझ धेरै समय लाग्नेछ ।

‘हामी भगवान राम र सितालाई सम्झिएर एक रथका दुई पांग्राका कुरा गर्छौं । धर्तीलाई माता भन्छौं र आधा आकाश – आधा धर्ती महिलाकै हो भन्छौं । तर, व्यवहारले हामीलाई कहिल्यै माथि उठ्न दिएन’, श्रेष्ठको अनुभव छ, ‘हामी सधैं त्यहि संघार भित्रको झाडु, कुचो, चुलो चौका, अनी त्यही जुठा भाँडामा रुमल्लिएका छौं ।’

बिनिता भन्छिन्, ‘यहाँ त भएका पनि हराउने खालको प्रवृत्ति छ । आज भन्दा ६ वर्ष अघि नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको एउटा बुकलेटलाई आधार मान्ने हो भने नेपालको आईटी क्षेत्रमा १४ प्रतिशत महिलाको उपस्थिती रहेको थियो । त्यस यताको ६ वर्षमा २० प्रतिशत पनि पुगनपुगको अवस्था छ।’

नेपालमा मात्रै नभएर विश्वभर नै प्रविधि क्षेत्रमा महिलाहरुको अवस्था करीब उस्तै रहेको आस्था बताउँछिन् । भन्छिन्, ‘जब गर्ल्स ईन टेक्नोलोजी नेपालमा जोडिएँ, तब मलाई महिलाको मनस्थिति बुझ्ने अबसर जुर्‍यो । कतिपयमा आफू यो क्षेत्रमा प्रवेश गर्दा हराउने हो की ? पुरुष सरह प्राविधिक मान्छे होइन की ? टेक्नीकल फिल्डमा खटिएर काम गर्न सक्दिनँ की ? भन्ने प्रश्नभित्रै रुमलिएका छन् ।’

त्यसैले नै बिनिता र आस्थाहरु विस्तारै प्रविधि क्षेत्र मिहलाका लागि सहज हुने गरी बाटो बनाउन जुटेका छन्। ‘विभिन्न फरक फिल्डमा काम गरिरहेका महिलाबीच अनेक छलफल कार्यक्रमहरु आयोजना गर्न थालेका छौं,’ आस्था सुनाउँछिन्, ‘कार्यक्रममा वक्ताको रुपमा महिलालाई नै बोलाएर उनीहरुको कथा सुनाउन थाल्यौं । हो, यो टेक्नीकल फिल्ड हो । सुरुका दुई वर्ष ठूलो लगाव चाहिन्छ नै । यी दुई वर्ष धैर्य गर्न सकेको खण्डमा मात्रै हामीले सफलता हात पार्न सक्छौं भन्दै यस क्षेत्रमा लाग्न चाहने महिलाहरुलाई परामर्श गरिरहेका छौं । यसले केही हदसम्म परिवर्तन त ल्याएको छ । तर, पुर्णता पाउन भने अझ धेरै बाँकी नै छ।’

सामाजिकरुपमै परिवर्तन आवश्यक रहेको गर्ल्स ईन टेक्नोलोजी नेपालकी अर्की लिडर रोजिना बज्रचार्य बताउँछिन् । ‘महिलाको सबैभन्दा ठूलो सफलता भनेको विवाह हो भन्ने सामाजिक सोँच छ । छोरीले राजेको विषय उनिहरुको भविष्य हो भनेर सोच्ने परिवारको संख्या एकदमै थोरै छ ।,’ उनी भन्छिन्, ‘त्यसैले स्नातक गर्दागर्दै छोरीको बिहे गरिदिन्छन् । विहेपछि सन्तान, परिवार भन्दैमा महिलाको जिन्दगी वितिरहेको हुन्छ । जसले यो क्षेत्रमा केही गरिरहेका छन्, उनीहरुलाई पनि महिला भएकै कारण यहाँ पुगेकी हो भन्ने किसिमको नकारात्मक नजरले हेरिन्छ । यस्तो सोचबाट समाज पनि बाहिर निस्किन जरुरी छ ।’

प्रविधि क्षेत्रमा आफ्ना छोरीहरुको भविष्य छ भन्ने सामाजिक चेतना आवश्यक छ । महिलाहरुलाई अवसर नभएको होइन । अहिले आईटी कम्पनीहरु महिला सहकर्मी खोजिरहेका छन् । किन कि पुरुषहरुको बिचमा महिलाको उपस्थितिले ठूलो परिवर्तन ल्याउने कुरा विभिन्न अध्यनहरुले देखाइरहेका छन् ।

‘महिलाले फरक राय दिनसक्छिन् भन्ने कम्पनीले बुझेका छन्,’ बिनिता सुनाउँछिन्, ‘आईटी कम्पनीहरु व्यक्तिगत रुपमै फोन गरेर रोजगारीको अफर गरिरहेका छन् । कतिपय कम्पनीका प्रमुखहरु सुनाउँछन्, रोजगारीको लागि भ्याकेन्सी खोल्दा महिलाको आवेदन शून्य हुन्छ । पुरुषहरु हामी महिलाहरुसँग सहकार्य गर्न खोजिरहेका छन् । यो आफैमा ठूलो परिवर्तन हो ।’

तर, सँगसँगै महिलाहरु लामो समय टिकेर कम्पनीमा काम नगर्ने गरेको गुनोसो पनि सुनिने गरेको छ । महिलाहरु धेरै समय काम नगर्ने, कोर टेक्निकल रुपमा काम गर्न डराउने प्रवृत्ति महिलामा रहेको आईटी कम्पनीहरु नै सुनाउँछन् । ‘मलाई लाग्छ यो कम्पनीहरुकै कमजोरी हो,’ बिनिता भन्छिन् ।

महिलामैत्री कार्यकक्ष हुने हो र महिलालाई सुहाउने वातावरण सिर्जना हुन सक्छ । अबका दिनमा महिनावारी हुँदा उनीहरुलाई सहज परिस्थती सिर्जना गर्ने र काम गर्ने ठाउँमा पनि महिलालाई प्रोत्साहन गर्ने हो भने कम्पनीहरुले भोगेको समस्या पनि हल हुने प्रविधि क्षेत्रका महिला अभियान्ताको विश्वास छ ।

अर्कोतर्फ सरकारले पनि यो क्षेत्रमा महिला सहभागिताका लागि प्रोत्साहन गर्नुपर्ने बिनिता बताउँछीन् । उनका अनुसार अहिलेसम्म सरकारले गरेको भनेको पुल्चोक इन्जिनियरिङ कलेजमा महिलाका लागी छुट्याएको कोटामात्रै हो । अर्कोतर्फ नेपाल दूरसञ्चार प्राधिकरणले ‘वुमन ईन आईसीटी नाममा’ सानो कदम भने चालेको छ ।

विगत ८ वर्षदेखि प्राधिकरणले प्रविधि क्षेत्रमा महिला सहभागितालाई अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । प्राधिकरणकी उपनिर्देशक रोजाकिरण वाशुकला भन्छिन्, ‘यसले केही मात्रामा भए पनि परिवर्तन ल्याएको छ । सुरुमा हामीले कार्यक्रम गर्दा सामान्य रुपमा सुरु गरेका थियौं । त्यसै आधारमा आज ह्याकाथन जस्तो महत्वपुर्ण कार्यक्रम सम्भव भएको छ । तर पर्याप्त छ भन्ने अवस्थामा चाहिँ पुगिसकेको छैन ।’

उनका अनुसार सरकार प्रविधि क्षेत्रमा महिलालाई प्रोत्साहन गर्न नीतिगत तहबाट तयार छ । संविधानले पनि महिला सहभागितालाई सुनिश्चित गरेको छ । तर, पनि शिक्षा क्षेत्रमा काम गर्न भने बाँकी रहेको देखिन्छ । स्कूल देखि नै महिलाहरुलाई यो क्षेत्रको विषयमा जानकार बनाउने हो भने पक्कै पनि परिवर्तन हुनेछ ।

तर विडम्बना त्यसो हुन सकेको छैन । महिला उद्यमीको उत्थानलाई पनि प्राथामिकतामा राख्नुपर्नेमा वाशुकला जोड दिन्छिन् । ‘त्यसैले नै प्राधिकरणले अबका दिनमा उद्ययमीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउने योजना पनि बनाएको छ । यस्ता कार्यक्रमबाट हामीले गर्ने भनेको झकझकाउने मात्रै हो । तर काम गर्ने भनेको यस क्षेत्रमा लाग्न चाहने महिलाहरुले नै हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१