close

विनिता श्रेष्ठः प्रविधिकी महिला सारथी

युजु खालिङ युजु खालिङ

फागुन २५, २०७६ १६:२१

विनिता श्रेष्ठः प्रविधिकी महिला सारथी

काठमाडौं । विनिता श्रेष्ठ । भक्तपुरको रैथाने नेवार परिवारमा जन्मिएकी । स्कुल तहसम्मको पढाईमा अब्बल नै थिइन् । तर प्लस टु भने सोचेजस्तो भएन । फिजिक्स ग्रुपमा उनी एक्ली छात्रा थिइन् । अरु सबै छात्रहरु थिए ।

त्यसै बेला हो उनले प्रविधिगत विषयमा महिलाहरुको सहभागी एकदमै कम रहेको महसुस गरेको । कक्षाकोठा मात्र होइन परिवेश पनि नयाँ थियो । कक्षाकी एक्ली छात्रा हुँदा केटाहरुले जिस्काइरहन्थे । जसले उनको मानसिकतामा ठूलै असर पर्‍यो । त्यस समय अरुसँग कुरा गर्न पनि डराउन थालिन् ।

उनले बायोलोजीमा रहेका आफ्ना छात्रा साथीहरुलाई आफ्नो समस्या सुनाउँदा प्रविधि, म्याथमेटिक्स, फिजिक्स इत्यादी महिलाहरुले पढ्ने विषय नभएको जवाफ पाउँथिन् । यहाँसम्म कि कलेजका प्रिन्सिपलले समेत उनलाई फिजिक्स छात्राको विषय नभएको भन्दै बायोलोजीमा जान सुझाव दिइरहेका थिए । 

तर उनले यस्ता कुनै पनि सुझावमा चित्त बुझाउन सकिनन् । त्यो दुई वर्ष उनले जसोतसो पुरुष विद्यार्थीहरुको माझमा प्लस टु उतीर्ण गरिन् । स्कूले दिनमा सधै प्रथम हुने विनिताले असहज वातावरणकै कारण प्लस टुमा राम्रो अंक ल्याउन सकिनन् ।

एनसीआईटी इन्जिनियरिङको पढाई सुरु गर्दै गर्दा भर्ना आवेदन फाराम भर्नु अघि आवेदक विद्यार्थीहरुको सूचीमा उनको आखाँले महिला विद्यार्थीलाई नै खोजिरहेको थियो । इन्जिनियरिङ कलेजमा आइपुग्दा न्यून संख्यामा भएपनि उनले साथीको रुपमा महिला विद्यार्थी फेला पारिन् ।

त्यहाँ पुगेपछि ती सबै महिला विद्यार्थीहरुले अध्ययनको क्रममा आफ्नै जस्तो कुनै न कुनै किसिमको समस्याबाट गुज्रिएर आएको थाहा पाइन् । 

सबैको अनुभव सुनेपछि उनमा एक किसिमको जाँगर अनि आत्मविश्वास भरिएर आयो । इन्जिनियरिङ कलेज पुगेपछि उनले विभिन्न इभेन्टहरुमा निरन्तर भाग लिन थालिन् । त्यसले छुट्टै किसिमको ऊर्जा भर्दै लग्यो । प्लस टुमा पढ्दा ताका हराएको स्कूले दिनको जोशजाँगर पुनः फर्किन थाल्यो । 

इन्जिनिरिङ कलेजमा पढ्दा शैक्षिक क्षेत्रमा हावी परम्परागत लैंगिक मानसिकतादेखि सांस्कृति विविधताको जटिल संरचनासँग पनि उनी भिज्न थालिसकेकी थिइन् । उनले आफ्नो भोगाई एकल नभएर स्थापित परम्परा नै भएको थाहा पाइन् । कलेजमा आईडिया इन्कुबेसन, लिडरशिप, स्टार्टअप विकेण्डजस्ता विभिन्न कार्यत्रमहरु सञ्चालन हुन्थे । 

‘कलेज तहको पढाईको दौरान मैले कोर्षबाहेक बाहिरी कुरामा पनि ध्यान दिन थालेँ । यसले मलाईं अर्कै तरिकाले विकास गर्न थालेको थियो ।’ विनिता भन्छिन् । 

त्यसताका साथीहरुबीच आईटी तथा इन्जिनियरिङको क्षेत्रमा महिलाको सहभागिताको विषयमा चर्चा परिचर्चा पनि चल्ने गर्थ्यो । अरु महिलालाई पनि यो क्षेत्रमा आउन प्रेरित गर्नुपर्छ भन्ने सल्लाह हुन्थ्यो ।

‘यति धेरै स्कोप भएको आईटी तथा इन्जिनियरिङ क्षेत्रमा महिलाहरुको ठाउँ विशेष छ । तर हामीले त्यसलाई पहिचान तथा उजागर गर्न पनि सकिरहेका छैनौं भन्ने आभाष हुन्थ्यो,’ विनिता भन्छिन् । 

परम्परागत सोचका कारण पनि छात्राहरुले शिक्षकहरुबाट समेत सोचे र चाहेजस्तो व्यवहार पाउन सकिरहेका हुँदैनन् । त्यसैले आफूहरुबीच नै सहयोग आदानप्रदान गरेर सशक्त बन्न विनिता जस्ता प्रविधि क्षेत्रका महिलाहरु संगठित हुँदै गएका छन् । 

विस्तारै यस्तो समूह शसक्त बन्दै गएकाे छ । पढाई, सिकाई र छलफलका लागि बनाइएको समूहले आफ्नै अग्रसरतामा कलेज स्तरमा समेत ससाना क्रियाकलाप आयोजना गर्दै आएको छ । यसै दौरान विनिताले आफूले पढेकै कलेजमा समूहमार्फत ‘एक आवर अफ कोर्ट’ को आयोजना गरिन् । पहिलो पटकको कार्यक्रममा दुईजना छात्राहरुले मात्रै सहभागिता जनाए । 

नियमित सेसनको रुपमा अरु कलेजमा पनि उनको समूहले कार्यक्रम विस्तार गर्दै लग्यो । उनीहरुको कामले सराहना पाउँदै गयो । तेस्रो सेसनमा पुग्दा विद्यार्थीहरुले अनलाइनबाट नै फर्म भर्न सुरु गरे । कलेजहरुले पनि सहकार्यको रुपमा श्रोत उपलब्ध गराउने थाले ।

समूहमार्फत कार्यक्रम सञ्चालन गर्दैगर्दा उनी थप निखारिदैँ गइन् । व्यक्तित्व विकास हुँदै गयो । अर्कोतिर यो क्षेत्रका महिलालाई जोडेर उनले समस्याका थप आयामहरु खोतल्दै गइन् । उत्साह र प्रेरणा भर्न सके प्रविधिमा महिलाहरुले धेरै गर्नसक्छन् भन्ने कुराहरु उनलाई आभाष हुँदै गयो ।  

यसैबीच २०१५ मा उनी इम्पावर्ड लिडरसीप कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । त्यहाँ उनले एक लाख रुपैयाँ राशीको बिऊ पूँजी प्राप्त गरिन् र आफ्नो कार्यक्रमलाई अघि बढाउँदै गइन् । फण्ड थियो, कामको लोकप्रियता आफ्नै ठाउँमा छँदै थियो । अब कलेज आफै उनीहरुसँग जोडिन आफैआउन थालेका छन् ।

तेस्रो सेसनमा आईपुग्दासम्म उनीहरुले बजारसँग समेत टाइअप गर्न थाले । बजारमा रहेका सफ्टवेयर कम्पनीहरुका लागि आवश्यक संसाधान केही हदसम्म भए पनि उपलब्ध गराउन थाले ।  यसरी नै संस्थाले एउटा मोड कायम गर्‍यो । 

समुदायमा मात्र रहेर काम अघि बढाउन गाह्रो हुने देखेपछि उक्त समूहले २०१६ मा वुमन ईन स्टिम अर्थात् साइन्स, टेक्नोलोजी, इंजिनियरिङ र म्याथमेटिक्समा महिलाको सहभागिता भनेर संस्था दर्ता नै गरायो ।  

हाल स्थापनाको चार वर्ष पुरा गरेको यो संस्थाले अहिले सामाजिक उद्योग अर्थात् सोसल इन्टरप्राइजको रुप लिइसकेको छ । विनिता हाल यसको अध्यक्ष तथा प्रबन्ध निर्देशक छिन् । 

संस्थाले अन्डरग्य्राजुएट छात्राहरुलाई प्रशिक्षण दिन थाल्यो । आवर अफ कोड पनि सञ्चालनमा आयो ।  तर संस्थाका सदस्यहरुलाई भने आफूहरुले काम गरिरहेको समुदाय र शैलीले मात्रै वास्तविक समस्यालाई सम्बोधन गर्न नसक्ने महशुस हुन थाल्यो । 

‘हामी जुन अन्डरग्राजुएट लक्षित गरेर काम गर्दै थियौं, त्यो त समस्याको सतह मात्रै थियो,’ उनी भन्छिन्, ‘म टेकमा महिला उद्यामी, मेन्टर र रोल मोडलहरु खोजिरहेकी थिएँ । वास्तवमा त्यो समस्या होइन रहेछ, समस्या त एकदमै तल्लो तहमा रहेछ ।’

विभिन्न प्रविधि सम्बन्धि कार्यक्रम तथा सेसनमा जाँदा आफूले काम गरिरहेको समस्याबारे शेयर गर्दा वर्चस्वाशाली व्यक्ति तथा मेन्टरहरुले त्यो समस्या नभएको बताउन थाले । यसरी उनले आफ्नो अध्ययनलाई त्यसतर्फ थप केन्द्रीत गर्दै लगिन् । 

विभिन्न विकसित मुलुकहरुको उदाहरण नियाल्न थालिन् । बालिकाहरुलाई प्रविधिसँग साक्षात्कार गराउँदा स्टिम केही खुल्ला हुने कुरा थाहा पाइन् । 

‘चार पाँच कक्षामा पढ्ने नानीहरु साइन्स म्याथमा एकदमै राम्रो हुन्छन् । तर जसै उनीहरु किशोरी अवस्थामा प्रवेश गर्छन्, विभिन्न शारिरीक तथा मानसिक परिवर्तनका आउँछन्, त्यो समय हामी उनीहरुलाई राम्ररी परामर्श दिन सक्दैनौं । यही बेलादेखि नै वास्तविक समस्या सुरु हुन थाल्छ र महिला र पुरुषबीच खाडल बढ्दै जान्छ,’ विनिता भन्छिन् । 

अहिले स्टिम विद्यालय तहमा जान थालेको छ । विद्यालय तहमा स्टिम जानसक्यो भने भोली त्यही मानसिकता विकास गरेर छोरीहरुले यस क्षेत्रमा सहभागिता बढाउन सकिने विश्वासका साथ विस्टिम अघि बढिरहेको छ । 

अहिले स्टिमले सामाजिक उद्योगको रुपमा विद्यालय स्तरमा  छात्राहरुलाई स्टिमको ज्ञान दिइरहेको छ । छुट्टै क्लास लिएर होस् वा पाठ्यक्रयमा मिलाएर होस्, ६०ः ४० को अनुपातमा ससाना बालबालिकाहरुलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितका विषयमा आधारभूत ज्ञान सिकाउने परामर्श गर्ने, पढेको कुरालाई प्रयोगमा ल्याउन सिकाउने, ह्याण्ड सोन एक्सपिरियन्सहरु दिने काम गरिरहेको छ । 

महिला आन्टप्रेनरको रुपमा समस्या 

परिवारको खुल्ला सोचकै कारण विनितालाई बाल्यकालदेखि नै आफूले रोजेको क्षेत्रमा काम गर्न छूट थियो । आफ्नै भोगाई र सिकाई अनि बलियो व्यक्तित्वको कारण आफ्नो क्षेत्रगत ज्ञान र अनुभवलाई सामाजिक उद्यमशिलतासँग जोडेर काम गर्न बाटो तयार हुँदै गयो । 

आफ्नो प्रयासले सामाजिक कल्याणको रुपमा काम गरेर पनि रोलमोडल बन्न सकिने र आम्दानीको श्रोत पनि बनाउन सकिने उनले बुझेकी छिन् । 

तर महिलाको रुपमा नितान्त नयाँ क्षेत्रमा उद्यमीको रुपमा काम गर्न सजिलो नभएको विनिताको अनुभव छ । यो क्षेत्रमा महिला उद्यमीको रुपमा काम गर्न नीतिगत तहबाटै सुधार आवश्यक रहेको उनी बताउँछिन् । ‘सरकारबाट सहयोग नपाउँदा बिचमै उद्यमशिलता छोड्ने प्रवृत्ति पनि देखिन थालेको छ,’ उनी भन्छिन्, ‘आईडियालाई कार्यान्वयनमा लैजना लगानी चाहिन्छ । सम्पत्ति आफ्नो नाममा हुँदैन । आयश्रोत छ भने पनि म गर्न सक्छु भने पनि श्रीमान नै साँक्षी चाहिन्छ ।’

यस्ता वित्तीय र आत्मविश्वासको कुराले पनि महिला उद्यमशिलतामा ठूलो असर पारिरहेको उनी बताउँछिन् । नेपालको स्टार्टअप तथा उद्यमशीलताको क्षेत्रमा काम गरिरहेका महिलाको यकीन तथ्याङ्क नै छैन ।  यसले गर्दा नीतिगत तहमा समेत कुनै काम हुन सकेकाे छैन । 

बैंकमा कम्पनीको खाता खोल्न जाँदा बैंकका कर्मचारीले आफूलाई कम्पनीको प्रमुख भन्दा विश्वास नै नगरको तितो अनुभव विनिताको छ । हाल काठमाडौंका १० विद्यालयहरुमा उनको यो संस्थाले शैक्षिक सेवा दिइरहेको छ ।

आगामी वर्षदेखि थप अर्को सेवा स्मार्ट चेली थप गरेर लैजाने संस्थाको योजना छ । स्मार्ट चेलीमा भने बालकलाई सलग्न नगराउने र बालिका मात्र सहभागि गराउने उनीहरुको योजना छ । सेवालाई काठमाडौं बाहिर अन्य जिल्ला र सामुदायिक विद्यालयमा लिएर जाने संस्थाको तयारी छ । र यसै अनुसार काम भइरहेको विनिता बताउँछिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१