close

एप्पल वाचले बताउनेछ रगतमा अक्सिजनको मात्रा

टेकपाना टेकपाना

फागुन २७, २०७६ ११:४८

एप्पल वाचले बताउनेछ रगतमा अक्सिजनको मात्रा

एप्पल पछिल्लो समय आफ्ना उत्पादनमा स्वास्थ्यसँग सम्बन्धित नयाँ फिचर थप गर्न केन्द्रीत देखिन्छ । यसकै निरन्तरताको रुपमा आईओएस १४ को कोड सार्वजनिक भएसँगै एप्पल वाचमा रगतमा रहेको अक्सिजनको मात्रासमेत देखाउने फिचर थप हुनेछ ।

नाईटुफाईभ म्याकका अनुसार यो फिचर अहिलेसम्मकै पहिलो हुनेछ । प्रतिवेदन अनुसार एप्पल वाचले प्रयोगकर्ताको रगतमा रहेको अक्सिजनको तह निरीक्षण गर्नेछ र यसको तह घटेमा त्यसको जानकारी उपलब्ध गराउनेछ ।

सामान्यतया रगतमा ९५ प्रतिशतभन्दा बढी रगतको मात्रा हुनुपर्छ । यसको मात्रा ८० प्रतिशत तल झरेमा जटिल मानिन्छ । एप्पल वाचको यो सारा प्रक्रिया मुटुको धड्कन नाप्नका लागि प्रयोग भएजस्तै किसिमको हुनेछ ।

एप्पल वाचमा यसबाहेक यसअघिको ईसीजी परीक्षणको प्रणालीमा थप सुधार हुनेछ । मुटुको धड्कनको नाप थप प्रष्ट हुने अपेक्षा पनि गरिएको छ । एप्पल वाचले यसबाहेक अन्य धेरै ब्यान्डमा प्रयोग भइसकेको स्लिप ट्रयाकिङको सुविधा पनि थप गर्ने जनाइएको छ ।

एप्पल वाचमा थपिने सुविधाको विषयमा अझै पनि अन्योल कायमै छ । एप्पलको आउँदै गरेको वाच अथवा त्यसपछिका उत्पादनमा यस किसिमको स्वास्थ्य सुविधा रहनेछ भन्ने विषयमा चाहिँ प्रतिवेदनले यकीन साथ खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१