close

नोटबाटै फैलिन सक्छ कोरोना भाइरस, डिजिटल भुक्तानी प्रयोग गर्न सुझाव

टेकपाना टेकपाना

फागुन २८, २०७६ १४:५३

नोटबाटै फैलिन सक्छ कोरोना भाइरस, डिजिटल भुक्तानी प्रयोग गर्न सुझाव

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको संकट छाएको समयमा सकेसम्म डिजिटल भुक्तानीको विकल्प सल्लाह दिएको छ । उसले बैंक नोट नोटबाट कोरोना भाइरस फैलिन सक्ने भन्दै सकेसम्म सम्पर्कमा रहनुनपर्ने भुक्तानीका माध्यम प्रयोग गर्न सचेत गराएको हो ।

नगद फोहोर हुन्छ भन्ने कुरा यस अघि नै ज्ञात भइसकेको विषय हो । नोटको सतहमा कस्ता किसिमका कीटाणूहरु टाँसिएर बसेका छन् भन्ने कुरा तपाईंलाई थाहा पनि हुँदैन । त्यसैले पछिल्लो समय महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्न ईसेवा, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस, प्रभु पे, मोबाइल बैंकिङ, क्रेडिट तथा डेबिट कार्ड जस्ता माध्यम प्रयोग गर्न जरुरी छ ।

डब्ल्यूएचओले नोट प्रयोग गरिसकेपछि हात राम्रोसँग धुन समेत भनेको छ । कोरोना भाइरस सर्ने पहिलो माध्यम खोकी र हाछ्यूँ भए पनि सिक्का तथा नोट जस्ता ठोस सतहमा भाइरस धेरै दिन सम्म जीवित रहन सक्छ । ‘बैंक नोट कोभिड-१९ लाई कयौं दिनसम्म बोकेको हुनसक्ने भएकाले नोट छोइसकेपछि ग्राहकले आफ्नो हात धुन जरुरी छ,’ संयुक्त राष्ट्र संघको एजेन्सीले भनेको छ । 

द टेलिग्राफका अनुसार डब्ल्यूएचओका प्रवक्ताले कोरोना भाइरस फैलिन नदिन मानिसहरुले सोझै सम्पर्कमा नआउने प्रविधि प्रयोग गर्नुपर्ने बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१