close

वर्ल्डलिंकका संस्थापक दिलिप अग्रवाललाई पितृ शोक

टेकपाना टेकपाना

चैत १, २०७६ १६:३७

वर्ल्डलिंकका संस्थापक दिलिप अग्रवाललाई पितृ शोक

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका संस्थापक तथा अध्यक्ष दिलिप अग्रवाललाई पितृ शोक परेको छ। अग्रवालका पिता तथा पूर्व सभासद प्रा.डा. विश्वनाथ अग्रवालको गए राति सवा ११ बजे निधन भएको हो ।

५-६ वर्ष यता बिरामी उनी केही दिन यता निमोनियाबाट संक्रमित थिए । निमोनियाकै कारण सानेपा स्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा.डा. अग्रवाल पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । 

रौतहट स्थायी घर भई हाल काठमाडौं सानेपामा बस्दै आएका डा. अग्रवालका छोरा दिलिप नेपालमा इन्टरनेट सेवा विस्तारमा अग्रणी मध्येका एक हुन् । 

शनिबार दिउँसो प्रा. डा. अग्रवालको पार्थीव शरीरलाई छोरा दिलिपले दागबत्ती दिएका थिए । अग्रवालका दुई छोरा, एक छोरी र श्रीमती छन् । अमेरिकामा रहेका जेठा छोरा मनोज भने कोरोना भाइरसको महामारीका कारण बुवालाई दागबत्ती दिन नेपाल आउन पाएनन्।

बायोकेमेस्ट्रिका प्रशिद्ध प्रोफेस डा. अग्रवालले वासिङ्टन स्टेट अफ युनिर्भसिटीबाट पीएचडी गरेका थिए । विक्रम संवत् २००१ जेठ ३१ गते गौरमा जन्मिएका उनले निजी स्तरबाट नेपालमै पहिलो बायोकेमेस्ट्री ल्याब सञ्चालनमा ल्याएका थिए ।

बाल्यकालमा घरमै राखिएका शिक्षकमार्फत शिक्षा प्राप्त गरेका उनले एसएलसी पछि बिहारको लङ्गात सिंह कलेजजबाट एमएससी पुरा गरे । सन् १९७२ मा उनले अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीबाट शैद्धान्तिक रशायनशास्त्रमा पीएचडी अध्ययनका लागि फुलब्राइट स्कलरशिप पाए । हम्बोल्ट फेलोशिपको रुपमा छानिएपछि अग्रवालले जर्मनीमा रिसर्चरको रुपमा समेत काम गरे । 

सन् १९९४ सम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको रुपमा अध्यापन गराएका डा. अग्रवालले सिताराम गोमती एजुकेशन ट्रस्ट, विभिन्न क्याम्पस तथा स्कूलहरुमा संलग्न रहेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । 

वैज्ञानिक प्रोफेसरको रुपमा उनले सन् १९८६ मा स्थापना गरेको विश्वस्तरीय बायोकेमेस्ट्री रिसर्च ल्याब नेपालको अनुसन्धानको क्षेत्रमा क्रान्तिकारी परिघटनाको रुपमा लिइन्छ । 

‘निष्काम कर्मयोग’ अर्थात अपेक्षा रहित रुपमा गरिने विशुद्ध कार्यमा गहीरो विश्वास राख्ने उनको भूमिका एउटा देशभक्तको रुपमा स्थापित छ । डा. अग्रवाल आफूसँग भेट हुने हरेकलाई दयालु र सहयोगी बन्न प्रेरणा दिने गर्दथे ।

नाष्टका एकेडेमिसियन समेत रहिसकेका प्रा.डा. अग्रवालकै प्रेरणाका कारण दिलिपले अमेरिका छाेडेर नेपालमा इन्टरनेट सेवाको थालनी गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१