close

आईफोन निर्माता एप्पलले नै टेलिकमसँग बार्गेनिङ गरेपछि…

टेकपाना टेकपाना

चैत ५, २०७६ १५:२८

आईफोन निर्माता एप्पलले नै टेलिकमसँग बार्गेनिङ गरेपछि…

काठमाडौं । नेपालमा फोरजी सेवाको सुरुवात भएको तीन वर्ष पुरा भएको छ । नेपाल टेलिकमले २०७३ पुस १७ मा नेपालमै पहिलो पटक फोरजी सेवाको सुरुवात गरेको थियो ।

त्यसताका परीक्षण सेवाको रुपमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु हुँदा आईफोनमा भने टेलिकमको फोरजी नचल्ने समस्या देखियो । र उक्त समस्या हल गर्नका लागि नेपाल टेलिकमले आईफोन निर्माता एप्पललाई पत्राचार गर्‍यो ।

टेलिकमको नेटवर्कलाई एप्पलले आफ्नो प्रणालीमा ‘ईनेबल’ नगर्दा त्यस्तो समस्या देखिएको थियो । उक्त समस्या हल गर्न टेलिकमले गरेको आग्रहमा एप्पलले ‘प्राइभेसी’ सम्झौता गरेपछि मात्र उसको नेटवर्कमा फोरजी चल्ने बनाइदिने जवाफ दियो । त्यतिमात्र होइन एप्पलले त्यसका लागि टेलिकमसँग बार्गेनिङ समेत गरेको खुल्न आएको छ ।

टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार त्यसबेला एप्पलले टेलिकमसँग फुल इन्टरनेशनल मोबिलिटी (रोमिङ ईनेबल) र अनलिमिटेड कल सहितको ५० वटा सिमकार्ड दिन आग्रह गरेको थियो ।

सुन्दा ५० वटा सिमकार्ड त हो नि भन्ने लाग्न सक्छ । तर, अनलिमिटेड अन्तर्राष्ट्रिय कल सहितको फुल इन्टरनेशनल रोमिङ ईनेबल गरेको ५० वटा सिमको खर्च धेरै हुन्छ । इन्टरनेसनल रोमिङमा जति प्रयोग गर्‍यो त्यसको आधारमा बिल आउने हुन्छ ।

त्यसमा पनि क्रेडिट लिमिट नराखि रोमिङ ईनेबल गरेर दिनुपर्ने प्रस्ताव आएको थियो । ‘तर, टेलिकमले भने त्यसमा निर्णय लिनै सकेन,’ भण्डारीले भने, ‘यसको लागत ठूलो पर्ने भएकाले हामीले उसको माग पुरा गर्न सकेनौँ । तर पनि एप्पलले त्यसताका टेलिकमको नेटवर्कबाट आईफोनमा फोरजी चल्ने गरी सिस्टम ईनेबल गरिदिएको थियो ।’

अब अहिले ८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले दिन थालेको फोरजीमा समेत त्यस्तै समस्या देखिएको छ । नेपाल टेलिकमले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज गरी दुबै ब्याण्डको रेडियो तरंग अर्थात फ्रिक्वेन्सीमा देशभर फोरजी सेवा विस्तार गरिरहेको छ ।

त्यसमध्ये ८०० मेगाहर्जमा कम्पनीले दिइरहेको फोरजी सेवा भने आईफोनमा नचल्ने समस्या देखिएको छ । यो समस्या समाधानको लागि पनि टेलिकमले एप्पललाई पत्राचार गर्दै आग्रह गरिसकेको छ ।

यस पटक भने एप्पलले केही सहजता दर्शाएको छ । कम्पनीले प्राविधिक सहयोग मात्रै माग गरेको खुल्न आएको छ । त्यसैले ८०० मेगाहर्जबाट पनि छिट्टै आईफोनमा टेलिकमको फोरजी चल्ने सहप्रवक्ता भण्डारीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१