close

नुबियाले ल्यायो सर्वोच्च रिफ्रेस रेट र कुलिङ फ्यान भएको नयाँ गेमिङ फोन

टेकपाना टेकपाना

चैत ८, २०७६ १०:४६

नुबियाले ल्यायो सर्वोच्च रिफ्रेस रेट र कुलिङ फ्यान भएको नयाँ गेमिङ फोन

एजेन्सी । चीनको स्मार्टफोन निर्माता कम्पनी नुबियाले आफ्नो नयाँ गेमिङ फोन नुबिया रेड म्याजिक फाइभजी सार्वजनिक गरेको छ । नुबिया जेडटीईको एसोसिएट कम्पनी हो ।

बजारमा अहिले धेरै राम्रा विश्वसनीय ब्राण्डहरु छन्, जसले एन्ड्रोइड गेमिङ फोन निर्माण गरिरहेका छन् । तर नुबियाको यो रेड म्याजिक सिरिजको फोन भने गेमकै लागि निर्माण गरिएको जस्तो देखिन्छ । 

यसको राम्रो फिचर भनेको यसमा इन्टरनल कुलिङ फ्यान रहेको छ । जुन ल्यापटपमा जस्तै छ । यसले फोनभीत्रको सीपीयूलाई शितल पार्ने काम गर्छ । फोनको पावर र भोल्युम बटनमाथि दायाँ तिर रहेको प्वालहरुबाट तातो हावा निस्कन्छ भने बायाँतिर रहेको प्वालबाट ताजा हावा भीत्र छिर्ने गर्छ । 

फोनको भिन्न संरचनाका कारण यो फोन अन्य साधारण फोन जस्तो छिटो तात्दैन र गेम खेल्नका लागि एकदमै उपयुक्त छ । यो फोनको डिस्प्ले ६.६५ इञ्चको रहेको छ ।

जसमा २३४०X१०८० रेजोलुसन र १४४ हर्ज रिफ्रेस रेट सहितको ओएलईडी डिस्प्ले रहेको छ । अहिलेको समयमा धेरैजसो पीसी गेमिङ मोनिटरहरुको रिफ्रेस रेट पनि १४४ हर्जको हाराहारीमा हुन्छ । 

अहिलेसम्म स्मार्टफोनहरुमा भने १२० हर्जसम्मको मात्र रिफ्रेस रेट हुने भएकोले यसलाई अहिलेसम्मकै सबैभन्दा फास्ट स्मार्टफोन डिस्प्ले मान्न सकिन्छ । 

 यो फोनमा स्न्यापड्रागन ८६५ प्रोसेसर छ भने यो ८, १२ र १६ जीबी र्‍यामको अनि १२८ जीबीको स्टोरेज र २५६ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । 

४५०० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा यूएसबी टाइप सी चार्जर प्रयोग हुन्छ । जसमा ५५ वाटको तीब्र गतिको चार्जर पाइन्छ ।

यो फोनमा स्क्रिनभीत्रै फिंगरप्रिन्ट रिडर रहेको छ । यस्तै ३.५ एमएमको हेडफोन ज्याक रहेको छ । 

यो फोनमा ६४ मेगापिक्सेलको मेन क्यामेरा राखिएको छ भने ८ मेगापिक्सेलको वाइड एंगल क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । 

यसका साइडमा धेरै चिजहरु राखिएका छन् । हावा निष्कासन हुने प्वालहरु बाहेक दायाँ पट्टि गेम खेल्नका लागि क्याप्टिभ सोल्जर बटनहरु रहेका छन् ।

यस्तै बायाँ पट्टि हावा छिर्ने प्वालहरुसँगै स्लाइडिङ टु पोजिसन स्वीच रहेको छ । जसले गेम मोडमा प्रवेश गराउँछ ।

यसको अर्को पट्टि डक कनेक्टर जस्तो देखिने रेड म्याजिक ईस्पोर्ट म्याजिक बक्स पनि छ । यसबाट फोन चार्ज गर्नुका साथै, हेडसेट कनेक्ट गराउने तथा तारयुक्त नेटवर्क केबल पनि जोड्न सकिन्छ । 

यो फोन वाइल्ड कलरमा पनि उपलब्ध छ । हालै चीनमा सार्वजनिक भएको यो फोन अप्रिलदेखि विश्वभर नै रोलआउट हुँदैछ । चीनमा यसको मूल्य ५४२ डलर (५२ हजार रुपैयाँ)देखि ७१२ डलर (८२ हजार रुपैयाँ) सम्म रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६