close

ब्याण्डविथ खपत कम गरी इन्टरनेट सेवा सुचारु राख्ने कार्यमा सहयोग गर्न आइस्पानको आग्रह

टेकपाना टेकपाना

चैत ९, २०७६ १२:३२

ब्याण्डविथ खपत कम गरी इन्टरनेट सेवा सुचारु राख्ने कार्यमा सहयोग गर्न आइस्पानको आग्रह

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले अनाश्यक रुपमा ब्याण्डविथ खपत नगरिदिन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९)का कारण इन्टरनेट नेटवर्कमा अत्यधिक भार पर्न गएको भन्दै सेवा सुचारु राख्ने कार्यमा सहयोगका लागि यस्तो आग्रह गरिएको हो ।

कोरोना भाइरसको सन्त्रास तथा लकडाउनको अवस्थाले प्रायः जसो प्रयोगकर्ताहरु घरमै रहने र धेरैजसो कार्यालयहरुले घरबाटै काम गर्नु पर्ने व्यवस्था गरिरहेका छन् । यस्तो गम्भीर परिस्थितिमा पनि सकेसम्म सेवाको निरन्तरता र गुणस्तर कायम राख्नेमा आफूहरु प्रतिवद्ध रहेको भन्दै सेवाप्रदायकहरुले त्यसका लागि सेवाग्राहीको सहयोग समेत जरुरी भएको बताएका छन् ।

त्यसैले इन्टरनेट सेवाको प्रयोग मनोरञ्जनात्मक भन्दा सूचनामूलक कार्यका निम्ति प्रयोग गर्न आइस्पानले आग्रह गरेको छ । ‘इन्टरनेट सेवा सूचना प्रवाहको मूख्य माध्यमको रुपमा रहेको अवस्थामा सम्पूर्ण महत्वपूर्ण सूचनाहरु इन्टरनेटद्वारा नै प्रेसित भइरहेका छन्,’ उसले विज्ञप्तिमार्फत भनेको छ, ‘यसकारण अरु समयको भन्दा ब्यान्डविथको खपत पनि अत्यधिक मात्रामा बढ्न गएको छ, जसले गर्दा सेवा प्रदायकहरूको नेटवर्कमा अत्यधिक भार पर्न गएको छ |’

यस्तो अत्यधिक भारलाई कम गर्न र अत्यावश्यकीय सेवामा कुनै प्रकारको समस्या आउन नदिन इन्टरनेटको अत्यधिक खपत हुने खालका एप, अनलाइन गेम, भिडियो सामाग्री तथा अनावश्यक वेबसाइटहरुको प्रयोग नगर्न आइस्पानले आग्रह गरेको हो ।

सेवा प्रदायकहरूपले जडान गरेका उपकरणहरु स्थान परिवर्तन नगरी प्रयोग गर्न भन्दै सेवाप्रदायकहरुले अन्यथा उपकरणको सेटिङ बिग्रिन सक्ने तर्फ सचेत गराएका छन् । ‘अहिलेको गम्भीर परिस्थितिमा ग्राहकको घर तथा कार्यालयसम्म गएर मर्मत सम्भारको कार्य गर्न असमर्थ हुनेछौं,’ आइस्पानले भनेको छ, ‘यो समयावधिमा सेवाको अवधि सकिन गएको अवस्थामा अनलाईन तथा डिजिटल भुक्तानीका माध्यमबाट सुचारु गर्नु हुन अनुरोध गर्दछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६