close

दिल्लीमा बन्द भए उबर र ओला, नेपालमा के होला ?

टेकपाना टेकपाना

चैत १०, २०७६ १८:४८

दिल्लीमा बन्द भए उबर र ओला, नेपालमा के होला ?

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) को प्रभाव राइड शेयरिङ सेवाहरुमा पनि देखिन थालेको छ । उबर र ओलाले दिल्लीमा आफ्नो सेवा ३१ मार्चसम्मका बन्द गरेका छन् । 

कोरोना भाइरसको संक्रमण फैलिएसँगै राइड शेयरिङ सेवा दिँदै आएका ती कम्पनीले पनि आफ्नो सेवालाई केही समयका लागि बन्द गरेका छन् ।

सोमबार भारत सरकारको निर्देशनमा लागु भएको लकडाउन अन्तर्गत ती कम्पनीहरुले राजधानी दिल्लीमा आफ्नो सेवा अस्थाई रुपमा स्थगित गरेका हुन् । 

भारतमा उबरको प्रतिस्पर्धी सेवा प्रदायक ओलाले पनि नयाँ दिल्लीमा आफ्नो सेवा बन्द गरेको छ । तर अत्यावश्यक यातायात सेवालाई सहयोग पुर्‍याउन न्यूनतम यातायात नेटवर्कलाई भने चालू राख्ने उसले बताएको छ । 

ओलाले विशेषगरी अत्यावश्यक यात्रा गर्नुपर्ने स्वास्थ्य सेवाकर्मीहरुलाई यो सेवा उपलब्ध गराउने जनाएको छ । राजधानी तथा आसपासका सहर गुडगाउँ र नोएडामा ओला र उबरका डेढ लाखभन्दा धेरै कारहरु सञ्चालनमा छन् । 

तर नेपालमा भने लक डाउनको अवस्थामा पनि राइड सेयरिङ सेवा यथावत रुपमा सञ्चालनमा छ । टूटल, पठाओ लगायतका राइड सेयरिङ तथा सारथी जस्ता अनलाइन ट्याक्सी सेवाहरु चालु छन् । 

लकडाउन भएपछि यातायात बन्द जस्तै अवस्था रहेको भन्दै सारथीका संस्थापक प्रकाश न्यौपाले ट्याक्सी एकदमै थोरै मात्रामा मात्रै चलिरहेको बताए ।

‘त्यसै पनि अहिले सेवाको प्रयोग एकदमै कम भइरहेको छ । ड्राइभरहरुले पनि ग्राहक नै नपाउने अवस्था छ,’ उनले भने, ‘अब कोरोना भाइरस देखिएको र फैलने जोखिम बढेपछि के गर्ने भन्ने चाहिँ भएको छ । तत्काल सेवा बन्द गर्दा समस्या पर्ला कि भन्ने पनि छ ।’ 

कोरोना संक्रमित हुनबाट जोगिनका लागि यात्रुलाई नछुन र सकेसम्म स्यानिटाइजर राख्न सचेत गराइएको न्यौपानेले बताए । तर सावधानीको रुपमा त्यसभन्दा बढी काम गर्न भने नसकिएको स्वीकार गरे ।

राइड सेयरिङ तथा ट्याक्सी बुकिङ सेवा दिँदै आएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले समेत राइड एकदमै घटेको बताइन् ।

‘अहिले धेरै मानिसहरु राजधानी बाहिर गइसकेको अवस्था छ । भाइरस संक्रमण हुन नदिन ड्राइभरहरुको तालिम बन्द गरेका छौँ । कुनै समस्या भए फोनबाटै समाधान गर्ने गरिएको छ,’ उनले भनिन्, ‘त्यससँगसँगै ट्याक्सी र बाइक दुबैलाई दिनमा ३ देखि ४ पटक कार्यालयमै डिसइन्फेक्ट (कीटाणू रहीत बनाउने कार्य) गर्ने व्यवस्था मिलाइएको छ । हरेक राइडरलाई निःशूल्क स्यानिटाइजर पनि दिइरहेका छौँ ।’

हमालका अनुसार पठाओले मास्क बिना यात्रु बोक्न छाडेको छ । तर, अत्यावश्यक भएकोले सेवा बन्द गर्न भने नसकिएको उनको भनाई छ । उनले हमालले भनिन्, ‘सरकारले बन्द गर्न निर्देशन दिए तत्काल सेवा स्थगित गर्न तयार छौँ ।’ 

अर्को राइड सेयरिङ सेवा टूटलका संस्थापक शिक्षित भट्टले अत्यावश्यक अवस्थामा मात्रै सेवा प्रयोग गर्न आग्रह गरिएको बताए । उनले भने, ‘कोरोना भाइरस संक्रमण फैलिने अवस्थामा स्थगित गर्न हामी तयारै छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६