close

कोरोनाभाइरस रोकथामका लागि सरकारलाई एनसेलको १० करोड सहयोग

टेकपाना टेकपाना

चैत ११, २०७६ २०:१०

कोरोनाभाइरस रोकथामका लागि सरकारलाई एनसेलको १० करोड सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि एनसेलले सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट खरीद तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रीत गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । प्राप्त सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ” प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने ।

एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको भन्दै प्रमुख कार्यकारी अधिकृत चोङ्गले सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड रुपैयाँ सहयोग गरिएको बताए । ‘यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एकतावद्ध रुपमा कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेमा हामी विश्वस्त छौं । यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिवद्ध छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ तथा स्वस्थ रहन र भौतिक दुरी कायम राख्न आग्रह गर्दछौं,’ उनले भने ।

यस चुनौतीपूर्ण घडीमा आफ्ना सेवाग्राहीले देखाएको धैर्यताको प्रशंशा गर्दै कम्पनीले अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्‍याउँदै हालसम्म ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्‍याउँदै आएको छ । मुलुककै ठूलो करदाताको रुपमा रहेको एनसेलले नेपालको सामाजिक, आर्थिक विकासमा अनुकरणीय योगदान पुर्‍यायाएको तथ्यबीच दिगो व्यवसाय विस्तार र देश विकासको काममा सधैं प्रतिवद्ध रहेको दोहोर्‍याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६