close

टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

टेकपाना टेकपाना

चैत १२, २०७६ १४:२६

टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाको रिचार्जमा शत प्रतिशत बोनस दिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार कम्पनीले आफ्ना सेवाग्राहीलाई बोनस दिने भएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार मोबाइल प्रयोगकर्तालाई १० रुपैयाँमाथिको रिचार्जमा रिचार्ज रकम बराबरकै बोनस सेवा दिइनेछ । उनले भने, ‘हामीले हाम्रा ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने भनेर निर्णय गरिसकेका छौँ । सिस्टममा लोड गर्न केही समय लाग्ने भएकाले बुधबार रातीदेखि प्रयोगकर्ताले बोनस पाउनेछन् ।’

रिचार्जमा बोनसको योजना आगामी १८ चैतसम्म लागु हुने कम्पनीले जनाएको छ । बोनसको व्यवस्था अनुसार टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्जकार्ड वा एमपोसबाट रिचार्ज गर्दा त्यसको शतप्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ ।

यसरी प्राप्त गरेको बोनस रकम प्याकेज बाहेकको रुपमा नेपाल टेलिकमका नम्बरहरुमा कल गर्न, एसएमएस पठाउन तथा डेटा चलाउनमा प्रयोग गर्न सकिनेछ । तर यस्तो रकमबाट ब्यालेन्स ट्रान्सफर, प्याकेज खरीद तथा गिफ्ट पठाउन नसकिने कम्पनीले स्पष्ट पारेको छ।

टेलिकमका अनुसार रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम दुई दिनभीत्र खपत गरिसक्नुपर्नेछ भने २०० र ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम ५ दिनसम्म प्रयोग गर्न मिल्नेछ ।

यसैगरी १००० रुपैयाँको रिचार्जमा प्राप्त बोनस रकम ६ दिनसम्म मान्य हुनेछ । एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत १० रुपैयाँदेखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त बोनस रकम पनि दुई दिनभित्रै खपत गरिसक्नुपर्नेछ ।

१०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त बोनस ४ दिन तथा ५०० रुपैयाँदेखि ९९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त बोनस ८ दिन र त्यसभन्दा माथिको रिचार्जमा प्राप्त बोनस १० दिनसम्म मान्य हुनेछ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न उपभोक्ताहरु आआफ्नो घरमा बस्न थालेपछि राहतको रुपमा बोनस दिन नियामकले दूरसञ्चार सेवाप्रदायकलाई मंगलबार मात्र निर्देशन दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६