close

टेलिकमले शतप्रतिशत बोनस दिँदा एनसेलमा आधा मात्रै, नियामककै निर्देशन उल्लंघन

टेकपाना टेकपाना

चैत १२, २०७६ १८:२३

टेलिकमले शतप्रतिशत बोनस दिँदा एनसेलमा आधा मात्रै, नियामककै निर्देशन उल्लंघन

काठमाण्डौं । एनसेलले कोरोना भाइरसकौ विश्वमहामारीका कारण नेपाल समेत लकडाउनको अवस्थाबाट गुज्रिरहेको समयमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । तर, रिचार्जमा शतप्रतिशत बोनस रकम उपलब्ध गराउन नियामकले दिएको निर्देशन भने कम्पनीले उलंघन गरेको छ ।

टेलिकमले बुधबार रातीदेखि १८ चैतसम्म लागु हुने गरी रिचार्जमा शतप्रतिशत बोनस योजना सार्वजनिक गरिसकेको छ । तर निजी मोबाइल सेवाप्रदायक कम्पनीले एनसेलले भने नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनका बावुजत ५० प्रतिशत मात्रै बोनस दिने गरी योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ग्राहकले ५० देखि १००० रुपैयाँसम्मको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । जब कि नियामकले १० रुपैयाँ माथिको रिचार्जमा बोनसको व्यवस्था गर्न भनेको थियो ।

कम्पनीले ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम ट्रान्सफर सेवा गर्न सक्ने जनाएको छ ।

हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सीमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्‍याएको छ ।

त्यस्तै एनसेलले ४० रुपैयाँदेखि २०० रुपैयाँसम्म सापटी लिन मिल्ने बनाएको छ । तर, नियामकले निःशूल्क रुपमा सापटी सेवा उपलब्ध गराउन भनेकोमा उसले २ रुपैयाँ सेवा शूल्क लाग्ने गरी अफर ल्याएको छ ।

एनसेलका ग्राहकले *9988# डायल गरी सापटी लिन सक्नेछन् । बोनस रकमबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने बताइएको छ । बोनस रकम सोही दिनको मध्य राती सम्म मात्र्र मान्य हुने कम्पनीले जनाएको छ ।

एनसेलले १५ जीबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ । जसअनुसार २३० रुपैयाँमा एक हप्तासम्म प्रयोग गर्न मिल्ने गरी १५ जीबी डेटा पाइनेछ ।

प्याकेजको १० जीबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्नेछ । मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा मात्र यो प्याकेजको डेटा प्रयोग गर्न पाउनेछन् ।

एनसेलका ग्राहकले *17123# डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । कोरोना भाइरसको महामारीको सन्दर्भ पारेर ल्याइएका एनसेलका सबै योजना ३० दिनका लागि संचालनमा रहने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६